२७ असार २०८३, शनिबार
आन्दोलनपछिको राजनीति

जेनजी क्रान्ति, स्पार्टाकस र अबको बाटो

असोज १४, २०८२
काठमाडौं
जेनजी क्रान्ति, स्पार्टाकस र अबको बाटो

हुन त नेपालमा राम्रो कुरा, सल्लाह वा सुझावलाई सकारात्मक रूपमा लिन र अपनाउन कसैले पनि आवश्यक ठान्दैनन् । यस्तो कुरालाई हिम्मत नभएका लाचार व्यक्तिको बकवास ठान्छन् र यदि कसैले राम्रो टिप्पणी गरे भने बौद्धिक विलास भनिन्छ ।

यहाँ बिग्रिएको औंल्याउन मनाही छ । गलत भयो भन्न पाइँदैन । सत्य बोल्न वर्जित छ । कम्युनिस्ट पार्टीहरू त नेता प्रधान हुन् नै, प्रजातान्त्रिक भनिएको कांग्रेसले कतिपय सन्दर्भमा कम्युनिस्टलाई समेत उछिनेको छ । यो विनाश निम्त्याउने प्रवृत्ति थियो । आखिर निम्त्याएरै छाड्यो । सयौं नेपाली युवायुवती मारिए । खर्बौंको क्षति भयो । र, अब देश कता जाने हो भन्ने अन्योल बढ्यो । यतिबेला नेपाली समाज असाध्यै तनावग्रस्त, अशान्त र चिन्तित छ । देश चलाउने जिम्मा पाएका र बागडोर लिएका केही थान चरम स्वार्थी पात्रका कारण देशको बेहाल भयो ।

गैरराजनीतिक, गैरसंस्थागत एवं दलविशेषको प्रभावबाट मुक्त रहेर भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध अर्थात् कुण्ठित गरिएको अभिव्यक्ति स्वतन्त्रताका विरुद्ध गत भाद्र २३ गते नेपालमा भएको जेनजी (Gen-Z) आन्दोलनले नेपालको इतिहासलाई नयाँ शिराबाट पुनर्गठन गरेको छ । राजनीतिक वा सैद्धान्तिक वाद वा विचारधाराभन्दा अलग धरातलबाट पनि यति शक्तिशाली आन्दोलन हुनसक्छ भन्ने अनुमान कसैले गर्न सकेको थिएन ।

जनताबाट बारम्बार अवसर पाएका सर्वाधिक ठूला भनिएका कांग्रेस, एमाले लगायतका दलहरूलाई जेनजी आन्दोलनले ल्याउन सक्ने चक्रवातको कुनै अनुमान थिएन । हामी नै सर्वेसर्वा वा आन्दोलनका ठेकेदार हौं भनेर ढुक्कसँग बसेका दलहरूको नियमितता वा तथाकथित प्राधिकारलाई भताभुङ्ग पारेर घनघोर चक्रवात आयो र गयो । साथै, एक युगमा एक दिन अवश्य आउँछ भन्ने भनाइलाई सार्थक समेत बनायो । यसले परम्परागत शक्तिको भण्डाफोर गर्दै एउटा मात्र गहकिलो सन्देश दियो कि 'अति सर्वत्र वर्जयेत्' । यसले अग्रगमनका लागि विद्यमान सबै तगारो पन्छाएर अघि बढ्न सकिन्छ भन्ने अपरिमित साहस र आत्मविश्वास प्रदर्शन गर्दै आँटेको गर्न सकिन्छ भन्ने हिम्मत समेत देखाउन सफल भयो । वास्तवमा उमेरजन्य ऊर्जा, रचनात्मक सोच र सृजनात्मक क्रियाकलाप युवा पुस्ताको मौलिक पहिचान हो । यो स्तुत्य र अतुलनीय छ । प्रचलित राजनीतिक दलहरूले दलभित्रका नयाँ पुस्तालाई सिकाएको परतन्त्रता विरुद्धको आधुनिक विद्रोह हो यो । रोमन साम्राज्यको चरम निरङ्कुशताविरुद्धको दास विद्रोह र त्यसका महानायक स्पार्टाकसको पछिल्लो संस्करण हो, जसले बलिदानको ज्वालामा युग परिवर्तनको शङ्खघोष गरेको थियो ।

जेनजी (Gen-Z) भन्नाले सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएको पुस्तालाई जनाइन्छ । यो पुस्ता अहिले किशोरदेखि युवा उमेरसम्म पुगेको छ । नेपालमा पनि यो पुस्ता सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा महत्त्वपूर्ण शक्ति बन्दै गएको छ । जेनजीलाई डिजिटल पुस्ता पनि भनिन्छ । किनकि उनीहरूले बाल्यकालमै इन्टरनेट, मोबाइल, सामाजिक सञ्जाल, युट्युब, टिकटक लगायतका इनोभेटिभ प्रविधिहरूसँग जीवन बिताएका छन् । यही कारण उनीहरूको सोच, विचार र संघर्ष गर्ने शैली अघिल्ला पुस्ताभन्दा फरक छ, जसलाई अनुमान गर्न, बुझ्न र तदनुसार चल्न अघिल्लो पुस्ता असमर्थ देखिएको छ ।

नेपालमा जेनजी आन्दोलन भन्नाले परम्परागत राजनीतिक आन्दोलनभन्दा फरक खालको 'सामाजिक चेतना र डिजिटल सक्रियता' हो भन्ने बुझिन्छ । यो आन्दोलन सडकभन्दा बढी अनलाइन प्लेटफर्ममार्फत चलेको छ । अघिल्ला पुस्ता जस्तै केवल पार्टीकेन्द्रित राजनीतिमा सीमित नभई जेनजीले शिक्षा, रोजगार, वातावरण, लैङ्गिक समानता, सामाजिक न्याय, मानवअधिकार जस्ता विषयलाई आफ्नो प्राथमिक एजेन्डा बनाएका छन् ।

नेपालमा जेनजीले विशेष गरी सामाजिक सञ्जालमर्फत हुने आन्दोलनमा ठूलो भूमिका खेलेको छ । यसको उदाहरण #JusticeForNirmala, #EnoughIsEnough, #OccupyBaluwatar, #LetMeBreathe जस्ता अभियानमा जेनजीको सक्रियता र प्रभावशाली उपस्थिति हो । यसले अग्रगमन र चेतनाको नयाँ मानक खडा गरेको छ ।

यस्ता आन्दोलनले देखाएको मुख्य कुरा भनेको नयाँ पुस्ताले 'न्याय' र 'जवाफदेहिता' को प्रश्नमा अब चुप लाग्ने छैन भन्ने हो । उनीहरूले डिजिटल शक्ति प्रयोग गरेर सरकार, संस्था वा नेताहरूमाथि दबाब सिर्जना गर्ने क्षमता देखाएका छन् । जेनजीको अर्को विशेषता भनेको विश्वव्यापी आन्दोलनसँग छिट्टै जोडिन सक्ने गजबको क्षमता हो ।

जलवायु परिवर्तनबारे १५ वर्षीय (सन् २०१८ मा) ग्रेटा थनबर्गको प्रारम्भिक अभियान, ब्ल्याक लाइभ्स म्याटर वा महिला अधिकारसम्बन्धी डिजिटल अभियानहरू नेपालका युवाहरूले सजिलै अपनाउँछन् । कारण त्यसको आकर्षण अद्भुत एवं अनुकरणीय छ ।

शैक्षिक क्षेत्रमा हेर्दा, नेपालका जेनजीले अझ बढी आलोचनात्मक प्रश्न गर्न थालेका छन् । उनीहरू 'पाठ्यपुस्तकको ज्ञान'भन्दा पनि 'प्रयोगात्मक सीप' र 'नवाचार'मा जोड दिन्छन् । यही कारण धेरैले स्टार्टअप, इन्नोभेसन, तथा क्रिएटिभ काम रोजिरहेका छन् ।

यद्यपि, जेनजीलाई नेपालमा ठूला चुनौती पनि छन् । बेरोजगारी, गुणस्तरीय शिक्षाको अभाव, शारीरिक र बौद्धिक श्रम पलायन तथा राजनीतिक अस्थिरताले उनीहरूको भविष्यमा बाधा पुर्‍याइरहेको छ ।

अबको नेपाली समाजले फरिस्ता पर्खेर बस्न सक्तैन । आफैं फरिस्ता बन्छ र समाज हाँक्न अग्रसर बन्छ । यसैको प्रारम्भिक रिहर्सल हो, जेनजी आन्दोलन । यसका नयाँ संस्करणहरू आउन सक्छन् र थप उल्टोफेर ल्याउन सक्छन् । यसको पूर्वानुमान गर्न ढिला भयो भने नेपाल जस्ता देशमा गलत तत्त्वले खेल्न सक्छन् ।

विदेश पलायन जेनजीका लागि ठूलो विषय बनेको छ । नेपालका हजारौं जेनजी युवा उच्च शिक्षा र रोजगारका लागि विदेश गएका छन् । यसले नेपालभित्र उनीहरूको सक्रियता केही कमजोर हुने खतरा पनि देखिएको छ । तर, विदेश पुगेका जेनजीहरूले पनि अनलाइनमार्फत नेपालका सामाजिक मुद्दामा आवाज उठाइरहेका छन् । यसले उनीहरूलाई 'वैश्विक सोच, स्थानीय संघर्ष'मा जोडेको छ ।

अर्को कुरा, हरेक घरका जेनजीले पारिवारिक रूपमा रहेको परम्परागत सोचलाई जरैदेखि उखेलेर फ्याँक्ने अद्भुत क्षमता राख्छन् । राजनीतिक दृष्टिले जेनजीको सोच अघिल्ला पुस्ताभन्दा फरक छ । उनीहरू दलको अन्ध समर्थन गर्नुभन्दा मुद्दा–आधारित राजनीति रोज्छन् ।

पारदर्शिता, जवाफदेहिता र इमान्दारिता उनीहरूको प्रमुख माग हो । जेनजी आन्दोलनको अर्को विशेषता भनेको कला, संस्कृति र मिडियामार्फत सन्देश दिने प्रवृत्ति हो ।

संगीत, कविता, एकाङ्की, भिडियो, छोटो लेखाइमार्फत उनीहरूले आफ्ना विचार सार्वजनिक गर्छन् । यसले आन्दोलनलाई आकर्षक, छरितो र लोकप्रिय बनाएको छ ।

नेपालको वर्तमान अवस्थामा जेनजी आन्दोलन अझै अव्यवस्थित देखिन्छ । एउटै संरचना वा नेतृत्वमा सीमित नभई स्वतःस्फूर्त रूपमा विभिन्न सन्दर्भमा उठ्ने गरेको छ । यसलाई सकारात्मक रूपमा विकेन्द्रित आन्दोलन पनि भन्न सकिन्छ । तर, यसै कारण यस आन्दोलनलाई दीर्घकालीन राजनीतिक–सामाजिक रूपान्तरण गर्न कठिनाइ हुन्छ ।

संगठित र संस्थागत संरचना नभएसम्म यसले ठूला नीतिगत परिवर्तन गर्न सक्दैन । जेनजीको अर्को चुनौती भनेको सामाजिक विभाजन हो । सहरमा बस्ने डिजिटल पहुँच भएका युवाहरू आन्दोलनमा सक्रिय छन् तर ग्रामीण क्षेत्रमा त्यस्तो अवसर पाएका छैनन् । यसले 'डिजिटल ग्याप' सिर्जना गरेको छ ।

भविष्यतर्फ हेर्दा नेपालमा जेनजी आन्दोलनले लोकतन्त्रलाई अझ सबल बनाउन सक्छ । उनीहरूले पारदर्शिता, सुशासन र सामाजिक न्यायका लागि निरन्तर दबाब दिने सम्भावना छ । र, जेनजी आन्दोलनले लोकतन्त्रविपरीत सोच्न सक्तैन । नेपालका कम्युनिस्टहरूका लागि यो ठूलो चुनौती हो ।

त्यस्तै, जलवायु संकट, रोजगारी सिर्जना, लैङ्गिक समानता, प्रविधि विकासजस्ता क्षेत्रमा पनि जेनजी नै नेतृत्वकर्ताको भूमिकामा आउन सक्छन् । उनीहरूको अन्तर्राष्ट्रिय सोचले नेपाललाई विश्वसँग जोड्ने पुलको काम गर्नेछ । तर, यसका लागि नेपालले जेनजीलाई गुणस्तरीय शिक्षा, रोजगारी अवसर, राजनीतिक सहभागिता र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्नैपर्छ । नत्र उनीहरूको क्षमता खेर जानेछ । र, सपना तुषारपात हुनेछ । समग्रमा भन्नुपर्दा, जेनजी आन्दोलन नेपालमा नयाँ प्रकारको सामाजिक–राजनीतिक शक्ति हो । यसको स्वरूप अनलाइन केन्द्रित, विश्वव्यापी सोचयुक्त र न्याय–केन्द्रित छ । भविष्यमा यो आन्दोलन व्यवस्थित र संस्थागत हुन सके नेपालको लोकतन्त्र, सामाजिक न्याय र विकासमा क्रान्तिकारी योगदान गर्नेछ ।

कम्तीमा यति ठूलो धक्का खाएपछि त दलका नेताहरूमा होस आउनुपर्ने थियो, तर दलहरू अझैसम्म चीर निन्द्रामा मग्न देखिन्छन् । लोकतान्त्रिक शासन प्रणालीको सुरक्षित भविष्य चाहनेहरूका लागि यो निकै दुःखद पक्ष हो । जबकि जेनजीले लोकतन्त्रको निःशर्त पैरवी गर्दछ । हामी सबैले यसलाई सभ्य समाज र समृद्ध लोकतन्ततर्फको सुरक्षित यात्रा मान्नुपर्थ्यो ।

जेनजी आन्दोलन पुराना संस्थाहरूमाथिको निःशर्त आक्रमण होइन । यो त देशको भविष्यमाथि खेलबाड गर्ने निजी स्वार्थमा चुर्लुम्म डुबेको सानो समूह वा प्रवृत्तिविरुद्ध सशक्त प्रहार मात्र हो । किनभने यो आन्दोलन आफैंमा पारदर्शी र स्पष्ट छ ।

आन्दोलनको भोलिपल्ट अर्थात् भदौ २४ मा भएको विध्वंसले जेनजी भावनाको प्रतिनिधित्व गर्दैन । त्यस दिनका घटनालाई जोडेर जेनजी आन्दोलनलाई अपव्याख्या र बदनाम गर्नु हुँदैन । तोडफोड, आगजनी र ध्वंस निन्दनीय छ । यसमा भदौ २३ को नरसंहारबाट उत्पन्न समवेदना, आक्रोश जोडिएको छ र यो कतिपय स्वार्थी तत्त्वको खेल पनि हो ।

अबको नेपाली समाजले फरिस्ता पर्खेर बस्न सक्तैन । आफैं फरिस्ता बन्छ र समाज हाँक्न अग्रसर बन्छ । यसैको प्रारम्भिक रिहर्सल हो, जेनजी आन्दोलन । यसका नयाँ संस्करणहरू आउन सक्छन् र थप उल्टोफेर ल्याउन सक्छन् । यसको पूर्वानुमान गर्न ढिला भयो भने नेपाल जस्ता देशमा गलत तत्त्वले खेल्न सक्छन् । यसैपनि नेपाललाई माथि उठ्न नदिने शक्तिको क्रीडास्थल भएको हाम्रो समाजले थप मूल्य चुकाउनु पर्नेछ ।

दुनियाँ हामीलाई पर्खेर बस्दैन, आफूसँगसँगै डोहोर्‍याएर पनि हिँडाउँदैन । आफैंले कम्मर कस्नुपर्छ । आजसम्म त औंल्याएको कसैले देखेन, भनेको कसैले सुनेन । सरकार र दलमा एकछत्र हुकुम चलाउनेहरूको स्वेच्छाचारले सीमा नाघेपछि वर्तमान अवस्था आएको हो । के अब पनि बुद्धिको बिर्को नखुल्ने हो? लक्षण र छाँटकाँट त्यस्तै देखिन्छ । लाग्छ कि नेपालमा केही भएकै छैन । यो भन्दा उदेकलाग्दो के हुनसक्छ? त्यसैले अर्को चक्रवात आउनुअघि नै अग्रगामी सोचका साथ जेनजी भावनालाई कदर गर्दै अघि बढौं, अन्यथा देशको भविष्य नै भयावह हुनसक्छ ।

 

 

salt training

कमेन्ट गर्नुहोस्