
दक्षिण-पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा मङ्गलबार अर्धसैनिक बलको मुख्यालयलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु भएको छ । साथै ३० जना घाइते भएका प्रान्तीय स्वास्थ्य मन्त्री बख्त मुहम्मद काकरले जानकारी दिएका छन् ।
आक्रमण राजधानी क्वेटामा स्थानीय समय अनुसार बिहान ११ः३० बजेको आसपासमा भएको उनको भनाइ छ ।
आतंककारीले विस्फोटक पदार्थले भरिएको गाडीलाई मुख्यालयको बाहिरी पर्खालमा ठोक्काए पछि विष्फोट भएको तथा चार आतङ्ककारीहरू भवनमै लडेको सुरक्षा स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ ।
आक्रमणपछि सुरक्षा बलको जवाफी कारबाहीमा गोली हानेर मारेको तथा उनीहरूको शव अनुसन्धानका लागि लिइएको स्रोतले जनाएको छ ।
क्वेट्टामा रहेको गैरसरकारी संस्था फाउन्डेसनका अपरेसन म्यानेजर मुहम्मद जिशानलाई उद्धृत गर्दै सिन्ह्वाले मृतकमा सात जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मी रहेको र घाइतेमा एक अधिकारीसहित नौ जना सुरक्षाकर्मी रहेको जनाएको छ ।
विस्फोट हुँदा बस र रिक्सा घटनास्थलमा रहेको तथा अधिकांश मृतक र घाइतेहरू गाडीमा सवार यात्रुहरू रहेका उनले बताए ।
घाइतेहरूलाई क्वेटा सिभिल अस्पतालमा सारिएको जनाउँदै उनले धेरैको अवस्था गम्भीर रहेको उल्लेख गरे ।
स्वास्थ्य विभागका प्रवक्ता वसीम बेगलाई उद्धृत गर्दै सिन्ह्वाले शहरका सबै प्रमुख अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको र मेडिकल स्टाफ चुनौतीको सामना गर्न उच्च सतर्कतासहित तयार रहेको जनाएको छ ।
अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणको निन्दा गर्दै निर्दोष नागरिकहरूलाई हानि पुर्याउने र देशको अखण्डतालाई कमजोर पार्ने प्रयास गर्ने आतङ्ककारीहरूलाई कानून बमोजिम कारबाही गरिने बताए ।