(रासस/एएफपी) । इन्डोनेसियाको मुख्य टापु जाभामा रहेको सिडोआरजो शहरको एक इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जना बेपत्ता भएका छन् ।
अधिकारीहरूको अनुसार भग्नावशेषमुनि फसेको आशंका छ र उद्धार टोलीले बाँचेका व्यक्तिहरूको खोजीका लागि प्रयास गरिरहेको छ ।
स्थानीय प्रतिवेदनअनुसार सोमबार दिउँसो विद्यार्थीहरू प्रार्थनाका लागि भेला भएका बेला विद्यालयको भवन अचानक भत्किएको थियो ।
राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले विज्ञप्ति जारी गर्दै भने, 'विद्यार्थी उपस्थितिको विवरणअनुसार करिब ९१ जना अझै भग्नावशेषमुनि गाडिएको आशंका गरिएको छ ।'
यसअघि प्रारम्भिक विवरणमा तीन जनाको मृत्यु र ३८ जना बेपत्ता भएको पुष्टि भएको थियो । तर, पछिल्लो विवरणअनुसार बेपत्ता हुनेहरूको संख्या निकै बढेको हो ।
अधिकारीहरूले बुधबार पत्रकार सम्मेलनमार्फत बेपत्ता हुनेहरूको सही संख्या पुष्टि गर्ने प्रयास भइरहेको बताए । उद्धार टोलीले भग्नावशेषमुनि फसेकाहरूसम्म जीवनरक्षक आपूर्ति पुर्याउन विशेष ध्यान दिइरहेको छ ।
राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अपरेसन प्रमुख एमी फ्रिजरका अनुसार सात स्थानमा जीवनको संकेत पाइएको छ र त्यहाँ केन्द्रित भएर उद्धार भइरहेको छ । उनले भने, 'मुख्य संरचना पूर्ण रूपमा ध्वस्त भइसकेको छ । हामीले प्राथमिकता ती व्यक्तिलाई दिएका छौँ जो अझै पनि प्रतिक्रियाशील अवस्थामा छन् ।'
बुधबार बिहानदेखि दर्जनौं अभिभावकहरू ढलेको विद्यालयनजिकै आफ्ना छोराछोरीको सुरक्षाबारे चिन्तित मुद्रामा प्रतीक्षा गरिरहेका थिए । उद्धार टोलीले भारी मेसिनरी र हातैले भग्नावशेष हटाउँदै बाँचेका व्यक्तिहरूलाई जीवितै निकाल्ने प्रयासलाई निरन्तरता दिइरहेको छ ।