
विश्वकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगितामध्येको एक युरोपीयन च्याम्पियन्स लिगको जारी सिजनमा दुई चरणको खेल सकिँदासम्म ६ वटा टोलीले मात्र शतप्रतिशत नतिजा निकाल्क सकेका छन् । रमाइलो संयोग, यी ६ वटै क्लब फरक राष्ट्रका छन् ।
जर्मनीको बायर्न म्युनिख, स्पेनको रियल म्याड्रिड, फ्रान्सको पेरिस सेन्ट जर्मन (पीएसजी), इटालीको इन्टर मिलान, इङ्ल्यान्डको आर्सनल र अजरबैजानको क्वाराबागले मात्र दुईवटै खेलमा जित निकाल्न सकेका हुन् ।
साविक विजेता पीएसजी र उपविजेता इन्टर मिलान यो सिजन पनि लयमा देखिएका छन् । अघिल्लो सिजनको फाइनलमा पीएसजीले इन्टर मिलानलाई ५–० गोलको फराकिलो अन्तरले हराएको थियो ।
यसैगरी, सहभागी ३६ क्लबले दुई–दुई खेल खेलिसक्दा १२ क्लब अपराजित रहेका छन् । माथिल्ला ६ क्लबका अतिरिक्त, जर्मनीको बोरुसिया डर्टमन्ड, इङ्ल्यान्डको म्यानचेस्टर सिटी, इङ्ल्यान्डकै टोट्टनहाम, इटालीको युभेन्ट्स, नर्वेको बोडो ग्लिम्ट र जर्मनीको बायर लेभरकुजेनले पनि खेल पनि हारेका छैनन् ।
तालिकाको पहिलो स्थानमा आसीन बायर्न म्युनिखले आफ्नो पहिलो खेलमा चेल्सीलाई ३–१ गोलले र दोस्रो खेलमा पाफोसलाई ५–१ गोलले हराएको थियो । बायर्न म्युनिखले तेस्रो चरणको खेल अक्टोबर २२ तारिखमा बेल्जियमको क्लब ब्रुगसँग खेल्नेछ । बायर्न म्युनिख ६ पटकको च्याम्पियन हो । बायर्न म्युनिखले पछिल्लो पटक सन् २०२० मा उपाधि जितेको थियो ।
यसैगरी, तालिकाको दोस्रो स्थानमा आसीन रियल म्याड्रिडले पहिलो खेलमा फ्रान्सेली क्लब मार्सेलीलाई २–१ र दोस्रो खेलमा कजाकस्तानको काइरतलाई ५–० गोलले हराएको थियो । रियल म्याड्रिडले तेस्रो चरणको खेल अक्टोबर २२ तारिखमा इटालियन प्रतिद्वन्द्वी युभेन्ट्ससँग खेल्नेछ । रियल सर्वाधिक १५ पटकको च्याम्पियन्स लिग विजेता हो । रियलले पछिल्लो पटक सन् २०२४ मा उपाधि जितेको थियो ।
यसैगरी, तालिकाको तेस्रो स्थानमा आसीन पीएसजीले आफ्नो पहिलो खेलमा एटलान्टालाई ४–० गोलले र दोस्रो खेलमा बार्सिलोनालाई २–१ गोलले हराएको थियो । पीएसजीले तेस्रो चरणको खेल अक्टोबर २१ तरिखमा जर्मन प्रतिद्वन्द्वी बायर लेभरकुजेनसँग खेल्नेछ । पीएसजी च्याम्पियन्स लिगको साविक विजेता हो र हालसम्म एकपटकमात्र उपाधि जित्न सकेको छ ।
यसैगरी, तालिकाको चौथो स्थानमा आसीन इन्टर मिलानले आफ्नो पहिलो खेलमा डच क्लब आयाक्सलाई २–० गोलले र दोस्रो खेलमा चेक गणतन्त्रको साल्भिया प्राग्वेलाई ३–० गोलले हराएको थियो । इन्टरले तेस्रो खेल अक्टोबर २१ तरिखमा बेल्जियमको युनियन सेन्ट गिलोइससँग खेल्नेछ । इन्टर मिलानले हालसम्म तीनपटक च्याम्पियन्स लिग जितेको छ । पछिल्लो पटक इन्टरले सन् २०१० मा उपाधि चुमेको थियो ।
यसैगरी, तालिकाको पाँचौं स्थानमा आसीन आर्सनलले पहिलो खेलमा स्पेनको एथलेटिक बिल्बाओलाई २–० गोलले र दोस्रो खेलमा ग्रिसको ओलम्पियाकसलाई २–० गोलले हराएको थियो । आर्सनलले तेस्रो खेल अक्टोबर २१ तरिखमा स्पेनको एट्लेटिको म्याड्रिडसँग खेल्नेछ । आर्सनलले हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । सन् २००६ मा एकपटक उपविजेता बनेको थियो ।
यसैगरी, तालिकाको छैटौँ स्थानमा आसीन क्वाराबागले पहिलो खेलमा पोर्चुगलको बेनफिकालाई ३–२ र दोस्रो खेलमा डेनमार्ककको कोपनहेगनलाई २–० गोलले हराएको थियो । क्वाराबागले आफ्नो तेस्रो खेल अक्टोबर २२ तारिखमा एथलेटिक बिल्बाओसँग खेल्नेछ । क्वाराबाग हालसम्म च्याम्पियन्स लिगको फाइनलमा पनि पुग्न सकेको छैन ।
यसका अतिरिक्त, जारी सिजनको च्याम्पियन्स लिगमा पूर्वविजेताहरू स्पेनको बार्सिलोना, इङ्ल्यान्डको लिभरपुल, इङ्ल्यान्डकै चेल्सी, पोर्चुगलको बेनफिकाजस्ता बलिया क्लबले पराजयको स्वाद चाखिसकेका छन् । दुईपटकको च्याम्पियन बेनफिका त दुबै खेलमा पराजित भएको छ ।
लिग चरणमा प्रत्येक टोलीले आठ–आठ खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने आठ टोली सिधै प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । नवौँदेखि २४औँ स्थानमा आउने टोलीले भने प्रि–क्वार्टरफाइनल प्रवेशका लागि प्ले–अफ खेल्ने अवसर पाउनेछन् । २५औँदेखि ३६औँ स्थानमा रहने टोली भने उपाधि होडबाट बाहिरिने छन् ।