
आर्यहरू चान्द्रमाण र सौरमाण दुवै मान्दछन् । उनीहरूका सबै किसिमको तिथि, पर्व, व्रत, उत्सव चान्द्रमाणद्वारा सम्पन्न हुन्छन् भने त्यसबाहेकका अन्य गतिविधि सौरमाणअनुसार परिचालित हुन्छन् तर इस्लामहरू चान्द्रमाणलाई मात्र पछ्याउँछन् ।
भृगुका प्रपौत्र, शुक्रका पौत्र तथा अत्रिका पुत्र चन्द्रमा उनीहरूको विशेष उपाश्य इष्टदेवमा पर्दछन् । प्राय: इस्लामिकहरू रमजान पर्वमा चन्द्रमाको दर्शन नगरी पानीसम्म पनि खाँदैनन् । प्राचीन ईरानीहरू चन्द्रमालाई विशेष मान्दथे । आज पनि त्यहाँ बढी पूजा तथा उपासना हुने देवतामा उनी नै पर्दछन् ।
उनीहरूको राष्ट्रिय चिह्न पनि चन्द्रमा नै रहेको पाइन्छ भने रोजालाई सोम नै भन्दछन् । सरसर्ती हेर्दा कुरा सामान्यजस्तो लाग्न सक्छ तर यसको गहिराइ निकै परसम्म पुगेको पाइन्छ । त्यसैले यस आलेखमा पाठकहरूको ध्यान यतैतिर आकर्षित गराउने प्रयास गरेको छु ।
आर्यहरूको पूर्वज चन्द्रमा र सूर्य दुवै हुन् । सूर्यवंशी मनुपुत्री ईलाको सन्तान चन्द्रवंशीमा पर्दछन् । किनभने उनले चन्द्रपुत्र बुधसँग विवाह गरेकी थिइन्, जो देवभूमि अत्रिपत्तन (हालको आर्मेनियाँ र अजरवैजानतिरका क्षेत्र)का निवासी मानिन्छन् । यसैको अर्को नाम तपोभूमि पनि हो । अघिल्लो मन्वन्तरमा त्यतिबेलाका मनु चाक्षुषको पुत्र तपोरतले उपनिवेश कायम गरेकाले त्यस क्षेत्रको नाम तपोभूमि रहेको थियो । जेहोस् मनुपुत्री ईला चन्द्रपुत्र बुधसँग विवाह गरेपछि बाबु मनुबाट दाइजोमा प्राप्त भूमि ईलावर्ततिर रहन लागिन्, जुन स्थान हालको भूगोलअनुसार रुसको दक्षिणपश्चिम तथा ईरानको पूर्वीभागदेखि भारतीय उपमहाद्वीपको गिलगिटपर्वतको आसपासम्म फैलिएको थियो ।
रहँदा-बस्दा बुधको तर्फबाट ईलालाई जेजति सन्तान भए सबै ऐलको नामले चिनिन थाले । उनीहरूको मूलपुरुष चन्द्रमा भएकाले उनीहरू सबैलाई चन्द्रवंशी भन्ने गरिएको हो तर पाँचौं देवासुरसङ्ग्रामपछि उनै सूर्यवंशी मनुका छोराहरूतर्फका सन्तान आदित्यहरूलाई काश्यपसागरको तटवर्ती क्षेत्रमा पर्ने देवभूमि (हालको भूगोलअनुसार रुसको आमेनियाँ, अजरवैजान, जर्जिया तथा ईरानी भूभाग)तिर टिक्न गाह्रो पर्न थाल्यो र उनीहरू पनि आफ्नो पैतृक भूमि छाडेर ईलावर्ततिरै आएर रहन लागे ।
यसरी ईलावर्तमा आएर बस्न लागेपछि उनीहरू भगिनीकुलवंशी ऐलहरू र भातृकुलवंशी आदित्यहरूले मिलेर सर्वप्रथम आर्यसमूह गठन गरेका थिए । त्यसपछि उनीहरू दुवै कुलका सन्ततिहरू संयुक्त रूपमा आर्यहरूको नामले चिनिन थाले । त्यसैले उनीहरूले आफ्नो पूर्वजहरू चन्द्र र सूर्यको सम्मानका खातिर आफ्ना दैनिक कृत्यमा चान्द्रमाण र सौरमाण दुवै पद्धति अपनाउन थालेका हुन् तर इस्लामिकहरूले चान्द्रमाणलाई मात्र अपनाउनुको कारण भने विशुद्ध चन्द्र कुलसित मात्र सम्बन्धित देखिन्छ । यद्यपि, उनीहरूका पनि पूर्वज सूर्यवंशी आदित्यहरू नै हुन् । किनभने अदितीपुत्र १२ भाइ आदित्यमा जेठाको नाम वरुण थियो । उनका दुई पुत्र थिए, जसमा वशिष्ठ र शुक्र पर्दछन् । यिनै वरुणपुत्र वशिष्ट र शुक्रका सन्तानहरू नै अरबीभूभाग लगायत समग्र मध्यपूर्वमा छरिएर रहेका इस्लाम धर्मावलम्बीहरू हुन् ।
यो छुट्टै कुरा हो कि उनीहरूमध्ये कति वशिष्टका सन्तान देखिएका छन् कति शुक्रका तर जो जसका भए पनि अन्तत: सबैको पुर्खा वरुण नै देखिएका छन् । किनभने वरुणपुत्र भृगुले हिरण्यकशिपुपुत्री दिव्या र पुलोमा दानवपुत्री पोलोमीसँग विवाह गरेका थिए । उनीहरूमध्ये दिव्याको तर्फबाट त्वष्टा र शुक्र आदि पुत्र भएका थिए भने पौलोमीको तर्फबाट ऋचिक, च्यवन आदि पुत्र भएका थिए ।
उनै शुक्र यजमान राजावलीसँग खटपट परेपछि पैतृकभूमि छाडेर प्राचीन शकद्वीपीयक्षेत्र नाभिभूमि (हालको अरबी भूभाग)तिर गएर बस्न लागेका थिए । विस्तारै उनले रस्तीबस्ती त्यतै बनाएकाले त्यताका वासिन्दा उनकै सन्तान मानिन्छन् ।
अब आयो उनीहरूले चन्द्रमालाई मात्र ईष्टदेव मान्नुको कारणको कुरो । त्यसमा भने देवजाति आदित्यहरूसँगको पुरानो वैरभावले काम गरेको देखिन्छ । किनभने जब चन्द्रमाले देवजातिका गुरु बृहस्पतिकी पत्नी तारालाई हरण गरेका थिए तब पाँचौं देवासुरसङ्ग्रामको स्थिति निम्तिएको थियो । यतिबेला देवजातिले गुरु बृहस्पतिको पक्ष लिएका थिए भने असुरकुलगुरु शुक्रले अत्रिपुत्र अर्थात् आफ्नो पौत्र चन्द्रमालाई साथ दिएका थिए ।
पछि ब्रह्मा (वरुण)को मध्यस्थतामा तारा बृहस्पतिकै हुने र उनको तर्फबाट जन्मेका पुत्र बुध चन्द्रमाको हुने गरी रफ्फाडफ्फा मिलाएको भए पनि भृगुपुत्र शुक्रका सन्ततीले पुरानो वैरभाव बिर्सन सकेका थिएनन् । फलत: यसैको कारण उनीहरूले सूर्यको सट्टा भगिनीकुलका सन्तान शुक्रका पौत्र चन्द्रमालाई मात्र इष्टदेवता मानेर सम्मान गर्न थालेको बुझिन्छ ।
जहाँसम्म नाभीमूमि निवासी वरुणपुत्र वशिष्ठका सन्तानहरूले पनि किन किन चन्द्रमालाई मात्र उपाश्यदेव माने भन्ने कुरा छ, यसमा भने सङ्गत र भौगोलिक प्रभावले काम गरेको देखिन्छ । किनभने त्यस क्षेत्रका केही जातिमात्र वशिष्टका सन्तान रहेको पाइएको छ । बाँकी सबै शुक्रकै सन्तति रहेको बुझिएको छ ।
यसरी आर्य र इस्लामहरू एउटै पुर्खाका सन्तान भए पनि आपसी वैरभाव र खिचातानीका कारण एउटा जातिले चन्द्र र सूर्य दुवैलाई सम्मान गर्ने गरेको पाइन्छ भने अर्को जातिले चन्द्रमालाई मात्र सम्झने गरेका देखिन्छ । यसरी एउटै कुलका सन्तान भए पनि आर्यहरूले सूर्य र चन्द्र दुवैको सम्मानमा दुवै पद्धति अपनाए पनि इस्लामिकहरूले केवल चन्द्रमाको मात्र सम्झना गर्न चाहेको देखिन्छ ।