
भारतसँग सीमा जोडिएको रूपन्देहीको दक्षिणी क्षेत्र मर्चवार तराईको ‘अन्नभण्डार’को रूपमा परिचित छ । कुनै बेला जिल्ला सदरमुकाम भैरहवा आउजाउ गर्न समेत सास्ती झेल्नुपर्ने यो ठाउँमा अहिले ‘फोर लेन’का फराकिला र चिटिक्क सडक र नदीमा पुल बनेका छन् ।
उर्वर र विशाल खेतीयोग्य समथर भूभाग समेटिएको मर्चवारको विकाससँगै पछाडि परेका मर्चवारीबासीले विकासको अनुभूति गर्न थालेका छन् ।
रूपन्देही भौतिक पूर्वाधार विकासमा देशको अग्रणी जिल्लाको पहिचान बनाए पनि जिल्लाको एउटा महत्त्वपूर्ण क्षेत्र मर्चवार धेरै पछाडि थियो । भैरहवा–लुम्बिनी सडक खण्डको बेथरी चोकदेखि दक्षिणतर्फ भारतीय सीमा क्षेत्र खैराघाट र ठोटरीसम्मको सिंगो क्षेत्र मर्चवारको रूपमा चिनिन्छ । मर्चवार प्राचीन र ऐतिहासिक बस्ती पनि हो ।
मर्चवारलाई चार लेन सडक सञ्जालमा जोड्न २०७७ मा बुटवलको बेलबास–बेथरी–मर्चवार सडक निर्माण शुरू गरिएको थियो । बेलबासदेखि बेथरीसम्मको सडक वर्ष अघि नै बनिसकेको थियो ।
हालै निर्माण सम्पन्न भएको सोही डिजाइनमा बेथरीको गुरवानियादेखि मर्यादपुरसम्मको ५ किलोमिटर सडकले आकर्षण थपेको छ । लुम्बिनी प्रदेश सरकार मातहत रहेको सडक पूर्वाधार कार्यालय, बुटवलले सडक र पुल दुई प्याकेजमा निर्माण शुरू गरेको थियो ।
प्रदेश सरकार सडक पूर्वाधार विकास कार्यालय, रूपन्देहीले २६ करोड ३८ लाख रूपैयाँमा सडक निर्माण गरेको हो । सोही सडकअन्तर्गत तिनाउ नदीमाथि पुल निर्माणका लागि टुली काली गण्डकी जेभीले २६ करोड रूपैयाँमा ठेक्का लिएको थियो । यसरी ५२ करोड ३८ लाख रूपैयाँ लागतमा अहिले पाँच किलोमिटर सडक र पुल दुवै बनिसकेको छ ।
गुरवानियादेखि खैराघाटसम्मका व्यवस्थित सडक, पुरैनी र दुइमोहानघाटका पुल, असुरैना माविको दुई करोड लागतको नयाँ भवन, मर्चवार आदर्श माविको तीन तल्ले संरचना बनेका छन । सडक, पुल, कल्भर्ट, सामुदायिक भवन, सिंचाइदेखि पूर्वाधार विकासका धेरै काम भएका छन् ।

मर्चवारका स्थानीय राजकुमार धवलले विकास योजनाले मर्चवारमा मुहार फेरिएको बताए । ‘केही वर्ष अघिसम्म मर्चवारबाट भैरहवा पुग्न समेत ठूलो समस्या थियो’, धवल भन्छन्, ‘अहिले किसानले उत्पादन गरेका तरकारीदेखि सबै चिज बिक्री गर्न साइकलमै भैरहवा पुर्याउन सक्ने भएका छन् । सडक, पुलले खेतीयोग्य भूमिको पहिचान बदलिदिएको छ ।’
यस्तै, गुरवानियादेखि बोर्डर खैराघाट, मर्यादपुरसम्म व्यवस्थित र आकर्षक सडक निर्माण भएको छ । पुरैनीमा डबल लेनको पुल निर्माण भइसकेको छ । गोनाहा बसहवास्थित तिनाउ खोलामा पुल निर्माणधीन अवस्थामा छ । यसले मर्चवारका धेरै गाउँलाई सहज सुविधा दिनेछ ।
त्यसैगरी, दुई मोहानघाट नजिकै तिनाउ खोलामा अर्को नयाँ पुल र दुईमोहानघाट भुवरीमा पनि पुल निर्माण भइसकेको छ । मर्चवार लिफ्ट सिँचाइलाई सुधार गरेर सिँचाइ विस्तार गर्ने तयारी छ ।
मर्चवार साविकका एउटा इलाकामा रायपुर, सिलौटिया, बगौली, ओडवलिया, बोगडी र मझगावा गाविस थिए । अर्को इलाकामा असुरैना, सिसोसेमरा, थुम्वापिपरहवा, रोहिनिहवा, बेतकुइया र फरेना गाविस थिए । बैरघाट, मर्यादपुर, गोनहा, सक्रौनपकडी, हाटीबनगाई र कम्हरिया गाविसको अर्को इलाका थियो । यी सबै गाविसलाई समायोजन गरेर अहिले तीनवटा पालिका बनेका छन् । सिंगो मर्चवार धार्मिक महिमाका ऐतिहासिक मन्दिर र त्यहाँका देवीको नामबाट मर्चवारलाई समेट्ने तीन पालिका रहेका छन् । मर्चवारी, सम्मरीमाई र कोटहीमाई गाउँपालिका छन् ।
मर्चवारको उत्तरी क्षेत्र र पूर्वी क्षेत्रमा पनि अब सिँचाइको प्रबन्ध मिलाउने गरी योजना बनाइएको छ । मर्यादपुरसम्म निर्माण भएको सडकलाई अब भारतीय सिमानाको खैराघाटसम्म चारलेन, तुनिहवादेखि मर्चवार अमवासम्मको सडक, रामनगरदेखि करौतासम्मको सडक विस्तार योजना स्थानीयले मागेका छन् ।
मुख्य बाली धान, गहुँ, मकै, मास, मसुरो, रहर, आलस, तोरी, सूर्यमुखी, मम्फूली, आलु आदि हुन् । आजभोलि व्यावसायिक रूपमा बेमौसमी तरकारी खेती, च्याउ खेती, पशुपालन, हाँस, कुखुरापालन गरिँदै आएको छ ।
उत्पादित खाद्यन्न तथा तरकारी नजिकैका स्थानीय हाटबजारका अतिरिक्त भैरहवा र बुटवलमा पनि बेचबिखन गरिन्छ । शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी जस्ता न्यूनतम् सेवा सुविधा अभावमै जनजीवन गुज्रिरहेको मर्चवार अहिले भने विकासको बाटोमा अघि बढ्न थालेको छ ।
सम्मरीमाईका स्थानीय हधीश देवानले मर्चवार क्षेत्रबाट धेरै जना नेता भएपनि मुहार फेर्न अगुवाइ गर्नेको खाँचो रहेको बताए । बुद्ध जन्मस्थल लुम्बिनीसँगै जोडिएको मर्चवार क्षेत्रको विकासमा स्थानीय सरकार निरन्तर सक्रिय छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण भागमा रहेको मर्चवारले कृषि,व्यापार र शिक्षा क्षेत्रमा उल्लेख्य सुधार गरिरहेको छ ।
२०७४ का जनप्रतिनिधि जितेन्द्र शुल्का पाँच वर्षसम्म प्रदेश र संघीय सरकारमा धाउँदा नै यसको अनुभूति गर्न पाएको बताउँछन् । ‘पाँच वर्ष अघिसम्म फराकिला बाटाहरू थिएनन् । स्थानीय हिलाम्य र धुलाम्य बाटोमा हिँडनुपर्थ्यो । अहिले मर्चवारबासीका दिन फेरिएका छन् । स्थानीयको मन फेरिएको छ, तन फरिएको छ र जीवनशैली नै फेरिएको छ’, उनी भन्छन् ।
यो क्षेत्रबाट पञ्चायती व्यवस्थामा त्रिवेनी कुर्मी, योगेन्द्रनाथ शुक्ला उर्फ ढेला शुक्ला, चन्द्रभूषण त्रिपाठीलगायतका नेता सांसद/मन्त्री भए । ०३८ सालको चुनावमा डा.केआई सिंह (डा. कुँवर इन्द्रजित सिंह) र दीपक बोहरा चुनिए । केआई सिंहको निधन भएपछि मध्यवर्ती चुनावमा त्रिवेनी कुर्मी फेरि सांसद बने । ०४२ सालमा दीपक बोहरा र निराञ्जन थापा सांसद भए । ०४८ सालमा बहुदल आएपछिको पहिलो सांसद नेपाल सद्भावना पार्टीबाट श्यामसुन्दर गुप्ता ‘उर्फ छब्बा’ गुप्ता निर्वाचित भए ।
०५१ सालको मध्यावधि चुनावमा सर्वेन्द्रनाथ शुक्ला राष्ट्रिय जनशक्ति पार्टीबाट चुनिए । ०५६ मा नेपाल सद्भावना पार्टीबाट यज्ञजित शाह निर्वाचित भए । यी शाह अहिले एमालेमा आबद्ध भइसकेका छन् ।
यस्तै, ०६४ सालको संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरमबाट ओमप्रकाश यादव ‘गुल्जारी’ चुनिए । ०७० सालको संविधानसभा निर्वाचनमा पुरानै नेता सर्वेन्द्रनाथ शुक्ला चुनिए ।
०७४ सालमा नेपाली कांग्रेसबाट प्रमोद यादव र ०७९ सालको चुनावमा फेरि सर्वेन्द्रनाथ शुक्ला नै चुनिए ।