
हराउँदै जान लागेको पुरानो मौलिक संस्कृतिसहितको सरायँ नाच संरक्षणमा बुटवलबासी जुटेका छन् ।
गुल्मी, अर्घाखाँची, प्युठानसहितका जिल्लामा प्रख्यात सरायँ नाचको संरक्षणमा बसाइसराइँ गरी बुटवल झरेकाहरू लागिपरेका छन् ।
सोमबार पूर्णिमाको दिन जीतगढी किल्लास्थित दुर्गा मन्दिरमा सरायँ नाच प्रदर्शन गरिने भएको छ ।
जितगढी सरायँ व्यवस्थापन समिति बुटवल–१३ ले विगतका वर्षमा जस्तै सरायँ नाच आयोजना गरेको हो । समितिका अध्यक्ष खिमबहादुर थापाले सबैको सक्रियतामा सरायँको संरक्षण गर्न विगत १२ वर्षदेखि निरन्तर कार्यक्रम गर्दै आएको बताए ।
परम्परागत हातहतियार र युद्धकलाको झल्को दिने सरायँ नाच दशैँको पुर्णिमाको दिनसम्म खेलिन्छ ।
शत्रुलाई पराजित गरेपछि विजय उत्सवको रूपमा परापूर्वक कालदेखि बडादशैँको एकादशीदेखि पूर्णिमासम्म देवीका मन्दिर शक्ति पीठ तथा विभिन्न कोट दुर्गा मन्दिरमा सरायँ नाच प्रदर्शन गरिन्छ ।
समितिका सचिव पिताम्बर भण्डारीले संस्कृति सभ्यता जोगाइराख्न गरिएका प्रयासले परम्परा संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्न सहज हुने बताए ।
तरबार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सरायँ लुम्बिनी प्रदेशका पहाडी जिल्लामा मान्ने प्रचलन छ ।