
विश्व क्रिकेटमा पुराना खेलाडीले विश्राम लिनु र नयाँ खेलाडीको उदय हुनु सामान्य प्रक्रिया हो । तर, केही यस्ता खेलाडी पनि छन्, जसले निकै कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।
यसरी कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने केही क्रिकेटरले त अहिले पनि अब्बल प्रदर्शन गरिरहेका छन् । यी खेलाडीको अन्तर्राष्ट्रिय ‘डेब्यू’ र उत्कृष्ट प्रदर्शनमा उमेर बाधक बन्दैन भन्ने कुरालाई प्रमाणित पनि गरेका छन् ।
यहाँ यस्तै केही खेलाडीबारे चर्चा गरिएको छ, जसले निकै कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । रमाइलो विषय त के हो भने, यो सूचीमा नेपालका तीनजना खेलाडी पनि छन् ।
हसन राजा (पाकिस्तान)
पाकिस्तानी क्रिकेटर हसन राजा सबैभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने खेलाडी हुन् । उनले केवल १४ वर्ष दुई सय ३३ दिनको उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।
हसन राजाले सन् १९९६ को अक्टोबर ३० तारिखमा जिम्बाब्वेविरुद्ध पहिलो खेल खेलेका थिए । उनले टेस्ट क्रिकेटमा त त्योभन्दा अगाडि नै ‘डेब्यू’ गरेका थिए । उनले सन् १९९६ को अक्टोबर २४ देखि २६ तारिखसम्म सम्पन्न जिम्बाब्वे विरुद्धको टेस्टमा ‘डेब्यू’ गरेका थिए । यद्दपि, उनको उमेरको विषयलाई लिएर पछि केही विवाद पनि देखिएको थियो ।
मोहम्मद शरिफ (बंगलादेश)
सबैभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा बंगलादेशका मोहम्मद शरिफ छन् । उनले केवल १५ वर्ष एक सय १६ दिनको उमेरमा जिम्बाब्वेविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले ७ अप्रिल २००१ मा हरारेमा जिम्बाब्वेविरुद्ध पहिलो खेल खेलेका थिए ।
गुलसन कुमार झा (नेपाल)
कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने क्रिकेटरको सूचीमा तेस्रो स्थानमा नेपालका गुलसन झा पनि रहेका छन् । उनले केवल १५ वर्ष दुई सय १२ दिनको उमेरमा एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यू’ गरेका थिए ।
गुलसनले सन् २०२१ को सेप्टेम्बर १७ तारिखमा अमेरिकाविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । त्यो खेलमा गुलसनले २८ रन बनाएका थिए ।
गुरदीप सिंह (केन्या)
कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने खेलाडीको सूचीमा केन्याका गुरदीप सिंह चौथो स्थानमा छन् । उनले १५ वर्ष दुई सय ५८ दिन उमेरमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । सन् २०१३ को अक्टोबर ४ तारिखमा उनले पहिलो खेल शारजाहमा अफगानिस्तानविरुद्ध खेलेका थिए ।
नितिष रोनिक कुमार (क्यानडा)
यो सूचीमा पाँचौँ स्थानमा क्यानडाका नितिष रोनिक कुमार रहेका छन् । उनले १५ वर्ष दुई सय ७३ दिनको उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले सन् २०१० को फेब्रुअरी १८ तारिखमा शारजहामा अफगानिस्तानविरुद्ध पहिलो खेल खेलेका थिए ।
रोहितकुमार पौडेल (नेपाल)
कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने खेलाडीको सूचीमा छैटौँ स्थानमा नेपालका रोहितकुमार पौडेल छन् । उनले १५ वर्ष तीन सय ३५ दिनको उमेरमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए ।
रोहितले आफ्नो पहिलो खेल सन् २०१८ को अगस्त ३ तारिखमा एम्स्टेलविनमा नेदरल्यान्ड्सविरुद्ध खेलेका थिए । रोहितले ६ रन बनाएको उक्त खेलमा नेपाल एक रनले विजयी भएको थियो । उनी सबैभन्दा कम उमेरमा राष्ट्रिय टोलीको कप्तानी गर्ने विश्वकै दोस्रो खेलाडी पनि हुन् ।
रोहितले केवल २० वर्ष ७३ दिनको उमेरमा राष्ट्रिय टोलीको कप्तानी गरेका थिए । उनी अहिले पनि नेपालको राष्ट्रिय टोलीको कप्तानको भूमिकामै सक्रिय छन् ।
कुशल मल्ल (नेपाल)
यो सूचीमा सातौँ स्थानमा पनि नेपाली खेलाडी नै छन् । उनी हुन्, नेपाली राष्ट्रिय टोलीका प्रभावशाली सदस्य कुशल मल्ल । कुशल मल्लले १५ वर्ष तीन सय ४० दिनको उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।
उनले आफ्नो पहिलो खेल सन् २०२० को फेब्रुअरी ८ तारिखमा अमेरिकाविरुद्ध खेलेका थिए । आफ्नो पहिलो खेलमै कुशलले अर्धशतक बनाएका थिए भने उक्त खेलमा नेपाली टोली ३५ रनले विजयी भएको थियो । उनले एक विकेट पनि लिएका थिए ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा त उनले त्योभन्दा अघि नै ‘डेब्यू’ गरिसकेका थिए । उनले पहिलो टी–२० अन्तर्राष्ट्रिय सन् २०१९ को सेप्टेम्बर २७ तारिखमा जिम्बाब्वेविरुद्ध खेलेका थिए ।
अकिव जावेद (पाकिस्तान)
यो सूचीमा आठौँ स्थानमा पाकिस्तानी खेलाडी अकिव जावेद रहेका छन् । उनले १६ वर्ष एक सय २७ दिनको उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो पहिलो खेल सन् १९८८ को डिसेम्बर १० तारिखमा वेस्ट इन्डिजविरुद्ध खेलेका थिए ।
योधिन पुन्जा (यूएई)
सबैभन्दा कम उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्ने खेलाडीको सूचीमा नवौँ स्थानमा संयुक्त अरब इमिटरेट्स (यूएई) का योधिन पुन्जा रहेका छन् । उनले १६ वर्ष दुई सय ६ दिनको उमेरमा ‘डेब्यू’ गरेका थिए । उनले पहिलो खेल सन् २०१५ को नोभेम्बर १६ तारिखमा हङ्कङविरुद्ध खेलेका थिए । उनले खेलेको त्यो एकमात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो ।
शाहिद अफरिदी (पाकिस्तान)
यो सूचीमा १०औँ स्थानमा पाकिस्तानका चर्चित क्रिकेटर शाहिद अफरिदी रहेका छन् । उनले १६ वर्ष दुई सय १५ दिनको उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो पहिलो खेल सन् १९९६ को अक्टोबर २ तारिखमा केन्याविरुद्ध खेलेका थिए ।