
गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा देशभर रहेका प्रहरीका भौतिक संरचनासँगै सवारी साधनमा समेत तोडफोड र आगजनी भयो । अहिले अवस्था कस्तोसम्म आएको छ भने प्रहरीसँग गस्ती गर्न समेत सवारी साधन छैन ।
अरु त अरु चोक-चोकमा ड्युटी खट्ने प्रहरी समेत पैदल खटिनुपर्ने स्थिति छ । शान्ति सुरक्षामा अहोरात्र खटिने प्रहरी अहिले ‘हातखुट्टा भाँचिए’जस्तै भएको छ । न कुनै घटना घटेको ठाउँमा तत्काल पुग्नलाई सवारी साधन छन् न कार्यालय आउजाउ गर्न ।
प्रहरी प्रधान कार्यालयले आन्दोलनका कारण भौतिक संरचनामा भएको क्षतिको विवरण संकलन गर्न प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले हालसम्म ३३ वटा हेभी सवारी साधन, १४९ वटा हलुका सवारी साधन, मोटरसाइकल तीन सय ९ वटा र इलेक्ट्रिक टेम्पो तीन वटा जलेर पूर्ण क्षति भएको विवरण प्राप्त भएको जनाएको छ ।
प्रहरीका ५५१ वटा युनिटका ४९४ वटा सवारी साधनमा पूर्ण क्षति पुगेको छ भने ५७ वटामा आंशिक क्षति पुगेको छ । प्राप्त विवरण अनुसार सवारी साधनमा मात्रै झण्डै एक अर्ब रूपैयाँ बराबरको क्षति भएको छ ।
प्रहरी विवरण अनुसार भारत सरकारले विभिन्न समयमा सहयोग गरेका एक सय १२ वटा गाडी (अशोक लेलैण्ड ट्रक, महिन्द्रा स्कर्पियो पिकअप, टुटन ट्रक) समेत प्रदर्शनमा जलाइएका थिए । त्यस्तै, यूएनडीपी र कोरियाले दिएका सवारी साधन पनि जलाइएको थियो ।
प्रहरी प्रधान कार्यालयका अनुसार अमेरिकी डलर क्रमश: चार लाख ३२ हजार र चार लाख सात हजार सात सयमा खरिद गरिएका दुई वटा वाटर क्यानन समेत जेनजीको प्रदर्शनमा जलाइएका छन् ।
महँगा सवारी साधन क्रमश: टाटा प्रिजनर भ्यान (अनुमानित ३५ लाख), इसुजु दमकल (अमेरिकी डलर एक लाख ८२ हजार १६७), टाटा स्ट्रोम जीप (६६ लाख ४८ हजार) र महिन्द्रा स्कोर्पियो (४९ लाख ५०) जलाइएको थियो ।
प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाका सात वटा, सुपरिवेक्षण तथा अनुगमन महाशाखाको एउटा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दुई वटा, प्रहरी अस्पतालको एउटा, विशेष ब्यूरोको एउटा, केन्द्रीय अनुसन्धान ब्यूरोको तीन वटा, मानव बेचबिखन ब्यूरोको चार वटा र साइबर ब्यूरोको चार वटा गाडी जलाइएको थियो ।
काठमाडौं उपत्यका अन्तर्गत रहेका कार्यालय क्रमश: काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकै हेभी, लाइट र मोटरसाइकल गरी ३३ वटा सवारी साधन जलेर पूर्ण रूपमा क्षति भएको पाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको १७ वटा, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गणको एउटा, सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रबन्ध इकाइको एउटा, संसद् सुरक्षा कार्यालयको एउटा, जिल्ला प्रहरी परिसर काठमाडौंको दुई वटा र नगर प्रहरी कार्यालयको एउटा सवारी साधनमा पूर्ण क्षति पुगेको प्रहरी मुख्यालयले जनाएको छ ।
त्यस्तै, काठमाडौं परिसर मातहत प्रहरी प्रभाग कपनको चार वटा, कलंकी प्रभागको दुई वटा, काँडाघारी प्रभागको चार वटा, कोटेश्वर प्रभागको सात वटा, टोखा प्रभागको चार वटा, नयाँ बसपार्क प्रभागको तीन वटा, नागढुंगा प्रभागको एउटा, बलम्बु प्रभागको तीन वटा र साँखु प्रभागको चार वटा सवारी साधनमा पूर्ण क्षति भएको छ ।
प्रहरी वृत्तहरू क्रमश: दरबारमार्गका दुई वटा, बौद्धका सात वटा, कालीमाटीका ६ वटा, कीर्तिपुरका ६ वटा, गौशालाका १२ वटा, जनसेवाका ७ वटा, थानकोटका ८ वटा, बानेश्वरका १४ वटा, बालाजुका १० वटा, महाराजगञ्जका १९ वटा, लैनचौरका ७ वटा, सिंहदरबारका ८ वटा र स्वयम्भूका ११ वटा सवारी साधनमा पूर्ण क्षति पुगेको विवरण संकलन भएको छ ।
प्रहरी मुख्यालयका अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका ४६ वटा सवारी साधनमा पूर्ण क्षति पुगेको छ । त्यस्तै, ट्राफिक प्रहरी प्रभाग सिंहदरबारको चार वटा, ट्राफिक वृत्त दरबारमार्गको दुई वटा, ट्राफिक प्रभाग ठमेलको एउटा, ट्राफिक वृत्त कालिमाटीको दुई वटा, ट्राफिक वृत्त बौद्धको दुई वटा, ट्राफिक प्रभाग गौशालाको तीन वटा, वृत्त कोटेश्वरको एउटा, प्रभाग कोटेश्वरको एउटा, प्रभाग कलंकीको तीन वटा, प्रभाग साँखुको एउटा, ट्राफिक वृत्त महाराजगञ्जको दुई वटा, वृत्त नयाँ बसपार्कको एउटा, प्रभाग सोह्रखुट्टेको एउटा, जनसेवा वृत्तको दुई वटा, कीर्तिपुर प्रभागको एउटा, टोखा प्रभागको एउटा, नेपालटार प्रभागको एउटा, थानकोट प्रभागको एउटा, गोकर्ण प्रभागको एउटा र ट्राफिक प्रहरी वृत्त स्वयम्भूको एउटा सवारी साधनमा क्षति पुगेको छ ।
भक्तपुर जिल्ला अन्तर्गत प्रहरी वृत्त ठिमी र जगातीको १३ वटा सवारी साधनमा क्षति पुगेको छ । त्यस्तै, प्रहरी प्रभागहरू कटुन्जेका दुई वटा, दुवाकोटका एउटा, प्रहरी चौकी डोलेश्वरको एउटा, अस्थायी प्रहरी पोष्ट आशापुरीको एउटा, ट्राफिक प्रहरी परिसर भक्तपुरको दुई वटा, सानो ठिमी प्रभागको एउटा र काँडाघारी वृत्तको एउटा सवारी साधनमा पूर्ण क्षति पुगेको प्रहरी मुख्यालयले जनाएको छ ।
मुख्यालयका अनुसार ललितपुर परिसर अन्तर्गत सातदोबाटो वृत्तका पाँच वटा, चापागाउँ वृत्तको एउटा, प्रभाग बोडेगाउँका तीन वटा, प्रभाग बुंगमतीका चार वटा, प्रभाग गोदावरीका एउटा, इमाडोल प्रभागका एउटा, धापाखेल प्रभागका एउटा, पुल्चोक प्रभागका तीन वटा, फर्सिडोल प्रभागको एउटा, बालकुमारी प्रभागको दुई वटा, मंगलबजार प्रभागको एउटा, हनुमानस्थान प्रभागको एउटा र हरिसिद्धी प्रभागको एउटा सवारी साधनमा क्षति पुगेको छ ।
ललितपुरकै ट्राफिक कार्यालयहरू क्रमश: ट्राफिक प्रहरी परिसर सातदोबाटोको तीन वटा, ट्राफिक प्रहरी प्रभाग भैंसेपाटीको एउटा, मंगलबजार प्रभागको एउटा र ट्राफिक प्रहरी वृत्त चापागाउँको एउटा सवारी साधनमा पूर्ण क्षति पुगेको छ ।
प्रहरी मुख्यालयका अनुसार प्रदर्शनकारीले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानन्यायाधीश प्रकाश मान सिंह राउतको ‘पछुवा’ सवारी समेत जलाइदिएका थिए । त्यस्तै, प्रधानमन्त्री सुरक्षा इकाई बालुवाटारको एउटा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दुई वटा गाडी प्रदर्शनकारीले जलाइदिएका थिए ।
प्रदेशका पनि सग्ला छैनन् सवारी साधन
प्रहरी मुख्यालयका अनुसार कोशी प्रदेश र यस अन्तर्गतका जिल्ला प्रहरी कार्यालय क्रमश: मोरङका १६ वटा, झापाका २९ वटा, सुनसरीका ३० वटा, कोशी प्रदेश प्रहरीको एउटा र कोशी प्रदेश प्रहरी गणको एउटा सवारी साधनमा पूर्ण क्षति भएको छ ।
मधेश प्रदेश र त्यसअन्तर्गतका जिल्ला प्रहरी कार्यालय क्रमश: धनुषाको १३ वटा, सिरहाको ९ वटा, सर्लाहीको पाँच वटा, रौतहटको १४ वटा, सप्तरीको चार वटा र बाराको एउटा सवारी साधनमा क्षति पुगेको छ ।
प्रहरी मुख्यालयका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय र त्यस मातहतका जिल्ला प्रहरी कार्यालय क्रमश: मकवानपुरको ८ वटा, काभ्रेको पाँच वटा, चितवनको २१ वटा र सिन्धुलीको एउटा सवारी साधनमा पूर्ण क्षति पुगेको छ ।
गण्डकी प्रदेश प्रहरी र त्यस मातहतका जिल्ला प्रहरी कार्यालय क्रमश: कास्कीको १९ वटा, नवलपरासीको दुई वटा र तनहुँको एउटा सवारी साधनमा पूर्ण क्षति पुगेको छ ।
लुम्बनी प्रदेश प्रहरी र त्यस मातहतका जिल्ला प्रहरी कार्यालय क्रमश: रुपन्देहीको चार वटा र बाँकेको चार वटा सवारी साधनमा क्षति पुगेको प्रहरी मुख्यालयले जनाएको छ ।
प्रहरीलाई सवारी साधन कहिले उपलब्ध हुन्छ ?
प्रहरी प्रवक्ता एवं डीआईजी विनोद घिमिरेले हाल प्रहरीसँग मौजुदा सवारी साधन ‘तानतुन’ गरेर काम चलाइएको बताए ।
उनले लोकान्तरसँग भने, ‘प्रहरीलाई अहिले सजिलो छैन, भएका सवारी साधन धेरै जलाएर कामै नलाग्ने बनाइयो, अहिले हामीले क्षति नभएका जिल्लाका सवारी साधन तानतुन गरेर काम चलाइरहेका छौं ।’
घिमिरेका अनुसार डीआईजी रेग्मीले प्रतिवेदन बुझाएपछि तालुक निकाय गृह मन्त्रालयमा क्षतिको विवरण बुझाउने र सोही अनुसार सवारी साधन उपलब्ध गराइदिन अनुरोध गर्ने तयारीमा मुख्यालय छ ।
‘रेग्मीको कार्यदलले प्रतिवेदन बुझाएपछि क्षतिको आकलन हुन्छ, त्यही अनुसार गृह मन्त्रालयमा सवारी खरिदका लागि अनुरोध गर्छौं’, उनले भने । उनका अनुसार अहिले धेरैजसो कार्यालयमा प्रहरीले आफ्ना निजी र भाडाका सवारी साधनमार्फत् काम चलाइरहेका छन् ।