
रुपन्देही प्रहरीले ५० क्वीन्टल खरबुजाको बिँया बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको टोलीले ओमसतिया गाँउपालिका–४ डण्डा खोला नजिकैबाट बा प्र ०३–००१ ख १६८४ नम्बरको मिनी ट्रक जाँच गर्दा बिया फेला पारेको हो ।
रुपन्देहीका प्रहरी नायब उपरीक्षक गणेश सापकोटाले बिलविजक शंकास्पद देखिएकाले मिनी ट्रकसहित रुपन्देही मायादेबी–६ बस्ने चालक २२ वर्षीय राजकुमार मल्लाहलाई नियन्त्रणमा लिएको बताए ।
ट्रक र सामान थप अनुसन्धानका लागि राजस्व अनुसन्धान, कार्यालय बुटवल ल्याइएको छ । ट्रकमा लोड गरिएको १२५ बोरा (५० क्वीन्टल) खरबुजाको बियाको मूल्य अन्दाजी १० लाख र मिनी ट्रकको मूल्य अन्दाजी १० लाखगरी जम्मा २० लाखको सामान राजश्व पठाइएको हो ।
सामान चेकजाँचको क्रममा सक्कल बिलको प्रति र अनलाइन भीसीटीएससमेत थिएन । बिक्रेताले मर्चवारको सीमा क्षेत्रमा अवस्थित फर्ममा सो सामान पठाउन लागेको थियो ।
खरबुजाको बिया ड्राई फ्रुट्सको रूपमा मिठाईलगायत खाद्यवस्तुमा प्रयोग गरिन्छ । तेस्रो मुलुकबाट नेपाल आएको बिया पछिल्लो समय सुरक्षा निकायलाई छलेर भारततर्फ पठाइने गरिएको छ ।