२९ असार २०८३, सोमबार
क्लिनिकदेखि मेडिकल कलेजसम्म

डा. ज्ञानेन्द्रमानको अदम्य यात्रा- एक बेडको क्लिनिकदेखि पूर्वी नेपालको स्वास्थ्य साम्राज्यसम्म

असोज २५, २०८२
विराटनगर
डा. ज्ञानेन्द्रमानको अदम्य यात्रा- एक बेडको क्लिनिकदेखि पूर्वी नेपालको स्वास्थ्य साम्राज्यसम्म

आज पूर्वी नेपालको स्वास्थ्य सेवाको पर्याय बनेको विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको हजार शय्याको विशाल संरचनालाई हेर्दा, यसको जग एउटा सानो भाडाको घरमा राखिएको केवल एक बेडको क्लिनिकमा अडिएको थियो भनेर कल्पना गर्न सायदै कसैले सक्दैन । 

यसको नेतृत्व गरिरहेका डा. ज्ञानेन्द्रमानसिंह कार्कीको संघर्ष र मेहनत भने कुनै दन्त्यकथा भन्दा कम छैन । डा. कार्कीको दृढ संकल्प, निरन्तरको संघर्ष र स्पष्ट दूरदृष्टिले स्वास्थ्य क्षेत्रमा फरक पारेको छ ।

कार्कीले  व्यक्तिगत पीडालाई शक्तिमा बदलेर पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा एउटा मौन क्रान्तिको सूत्रपात गरेका छन् । 

झापाको दमकमा जन्मे पनि विराटनगरमा हुर्किएका डा. कार्कीको शैक्षिक यात्रा निकै तेज थियो ।  केवल १३ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरी उनी उच्च शिक्षाका लागि भारत र त्यसपछि तत्कालीन सोभियत संघ पुगे  । त्यहाँबाट एमडी, एमरेट र पीएचडी जस्ता उच्च उपाधि हासिल गरेर सन् १९९१ मा उनी एक अब्बल गाइनोकोलोजिस्टका रूपमा नेपाल फर्किए । 

काठमाडौंको परोपकार प्रसूति गृहमा उनको कर्मक्षेत्र शुरू भयो । जीवन सामान्य गतिमा अघि बढिरहेको थियो । तर, २०५० सालमा आमाको आकस्मिक निधनले उनको जीवनमा एउटा गहिरो रिक्तता ल्याइदियो ।  काठमाडौंको बसाइ उनलाई असह्य हुन थाल्यो र उनी आफ्नो परिवारसहित विराटनगर फर्किए ।  यही व्यक्तिगत शोक नै उनको जीवनको सबैभन्दा ठूलो व्यावसायिक र सेवामूलक यात्राको प्रस्थानविन्दु बन्न पुग्यो ।

विराटनगर फर्किएपछि उनले कोशी अस्पतालमा काम गर्न थाले ।  तर, त्यहाँको अवस्थाले उनलाई झस्कायो । त्यतिबेला पूर्वाञ्चलभरि जम्मा दुई–तीन जना मात्र गाइनोकोलोजिस्ट थिए । स्रोत, साधन र पूर्वाधारको चरम अभाव थियो ।  सबैभन्दा दर्दनाक त बिरामीको अवस्था थियो । जो एउटा सामान्य शल्यक्रियाका लागि महिनौं, वर्षौंसम्म पालो कुर्न बाध्य थिए। 

‘बिमारीको श्राद्ध सकिसकिन्थ्यो, बिमारीको अप्रेसन हुँदैन थियो,’ त्यो तीतो यथार्थ सम्झँदै उनी भन्छन् ।  यही निरीहता र विवशताले उनलाई सरकारी सेवाको परिधिभन्दा बाहिर निस्किएर केही गर्ने हुटहुटी जगायो ।

त्यसपछि शुरू भयो उनको अदम्य यात्रा ।  उनले विराटनगरको सभागृह अगाडि एउटा सानो घर भाडामा लिए । बाहिर ‘विराट नर्सिङ होम एन्ड मेटर्निटी होम’ लेखिएको विशाल बोर्ड झुन्ड्याइयो, तर भित्र थियो केवल एक बेडको अस्पताल । 

उनी आफैं भन्छन्, ‘बोर्ड चाहिँ विशाल ठूलो थियो ।’ स्रोत–साधनको अभाव कतिसम्म थियो भने उनी दिनभरि कोशी अस्पतालमा काम गर्थे र साँझ परेपछि त्यहीँको शल्यक्रियाका उपकरण र सेटहरू बोकेर आफ्नो क्लिनिकमा ल्याउँथे । अनि, रातभरि बिरामीको सेवामा जुट्थे ।  चार–पाँच जना कर्मचारीको भरमा शुरू भएको त्यो सानो क्लिनिक उनको लगन, मेहनत र सेवाभावले गर्दा बिरामीको भरोसाको केन्द्र बन्न थाल्यो ।

एक बेडबाट शुरू भएको त्यो यात्राले ६ महिनामै २० बेडको आकार लियो र सन् २००० सम्म आइपुग्दा ५० बेडको सुविधासम्पन्न नर्सिङ होममा परिणत भयो । त्यतिबेला धेरैले उनको यो कदमलाई ‘बौलाएको’ समेत भने, तर उनी आफ्नो लक्ष्यमा अविचलित रहे । 

उनको सफलताको पछाडि एउटा स्पष्ट आर्थिक दर्शन थियो पुनर्लगानी । ‘संस्थामा जति पनि पैसा आउँछ, त्यसको ९० प्रतिशत तपाईंले रि–इन्भेस्ट गर्नुपर्छ  त्यो रुल हो,’ डा. कार्की भन्छन् ।

यो यात्रामा उनको श्रीमती डा. इरिना कार्कीको साथ र प्रेरणा पनि उत्तिकै महत्त्वपूर्ण रह्यो । धेरैले विदेश पलायन हुन सुझाव दिँदा उनकी श्रीमतीले उनलाई नेपालमै अडिग रहन प्रेरित गरिन् । 

‘तेरो देशमा तँ एक नम्बरी मान्छे होस् ।  विदेशमा गइस् भने तँ त थर्ड क्लास हुन्छस् । आफ्नै देशमा बरु आधी छाक खाएर भए पनि बस्नुपर्छ,’ श्रीमतीको यही वचनले उनलाई थप ऊर्जा दियो ।

उनको व्यावसायिक जीवनमा अर्को महत्त्वपूर्ण मोड तब आयो जब उनले केही समयका लागि धर्मराएको नोबेल मेडिकल कलेजको व्यवस्थापन सम्हाले ।  त्यो अनुभवले उनलाई ठूलो संस्था सञ्चालन गर्ने ज्ञान र आत्मविश्वास दियो । त्यहाँबाट बाहिरिँदा उनले आफ्नै मेडिकल कलेज खोल्ने अठोट लिए । धेरैले यसलाई असम्भव ठाने, तर डा. कार्कीले त्यसलाई आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौतीको रूपमा स्वीकारे । काठमाडौं विश्वविद्यालयको विश्वासले आजको विराट मेडिकल कलेजले साकार रूप लिएको छ ।

आज यो संस्था नर्सिङ होमसहित १३०० बेड, ३००० भन्दा बढी कर्मचारी र अत्याधुनिक पूर्वाधारसहित पूर्वी नेपालको स्वास्थ्य सेवाको मेरुदण्ड बनेको छ। तर यो विशाल संरचना चलाउनु चानचुने कुरा होइन ।  

करोडौं पर्ने एउटा सिटिस्क्यान मेसिनको वार्षिक मर्मत सम्झौतामै ७० लाखभन्दा बढी खर्च हुने र ३० करोड पर्ने क्यान्सरको मेसिन चलाउन वार्षिक करोडौं चाहिने तथ्यले स्वास्थ्य सेवालाई केवल ‘नाफारहित सेवा’ मात्र देख्नेहरूका लागि एउटा गतिलो जवाफ दिन्छ ।

यत्रो ठूलो स्वास्थ्य साम्राज्य खडा गर्दा पनि डा. कार्कीमा कुनै दम्भ छैन । उनी आफूलाई मालिक मान्दैनन् । ‘७०–८० प्रतिशत मालिक त बैंक पो हो नि,’ उनी भन्छन्, ‘म एउटा गोठालो हुँ । मेरो जिम्मामा यो संस्थालाई कसरी हाँक्ने, कसरी डोर्‍याउने भन्ने हो ।’ 

उनी आफूलाई ‘कर्मवीर’ मान्छन् । पुर्ख्यौली सम्पत्ति भए पनि त्यसलाई बेचेर र बैंकबाट ऋण लिएर उनले यो संस्थालाई बचाएका हुन् ।  शून्यबाट शुरू गरेर हजारौंलाई रोजगारी दिने र लाखौंलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने संस्था निर्माण गरेका डा. ज्ञानेन्द्रमानसिंह कार्कीको यात्रा दृढ इच्छाशक्ति, निरन्तरको कडा परिश्रम र स्पष्ट दूरदृष्टि भए असम्भव केही छैन भन्ने कुराको एक ज्वलन्त प्रमाण हो ।  

उनी केवल एक सफल चिकित्सक वा उद्यमी मात्र होइनन्, उनी एक संस्था निर्माता हुन् ।  उनले  पूर्वी नेपालको स्वास्थ्य सेवाको परिभाषा नै बदलिदिएका छन् । श्रीमती तथा छोराहरू पनि डाक्टर नै हुन् । डिनिस कार्कीले मेडिकल हेर्छन् भने निकिता नर्सिङ हेर्ने गर्छिन् ।

salt training

कमेन्ट गर्नुहोस्