
मंसिरभित्रै १५ औं महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको मागलाई संस्थापन निकटका नेताले प्रतिवाद गरेका छन् ।
कुनै पनि हालतमा मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने, नभए विशेष महाधिवेशनमा जानुपर्ने गरी महामन्त्रीद्वयले दबाब बढाएपछि सभापति शेरबहादुर देउवा निकटका नेताले प्रतिवाद गरेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
संस्थापन निकटका नेताले विशेष महाधिवेशनको अर्थ नरहेको र फागुन २१ गतेको चुनावअघि नियमित महाधिवेशन गर्न नसकिने अडान राखेका हुन् । केन्द्रीय कार्यालय सानेपामा तीन दिनसम्म चलेको कार्यसम्पादन समिति बैठकमा सभापति देउवाकै नेतृत्वमा चुनावमा जाने र त्यसपछि मात्रै नियमित महाधिवेशन गर्नुपर्ने मत आफूहरूले राखेको एक पदाधिकारीले लोकान्तरसँग बताए ।
‘तीन दिनसम्म केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गर्न पदाधिकारी र पूर्व पदाधिकारीसहितका सिनियर नेताको बैठक बसे पनि कुनै टुंगोमा पुग्न सकेको छैन । यसैका लागि फेरि दुई दिन छलफल गरौं भन्ने भयो,’ एक पदाधिकारीले भने, ‘धेरै नेताले चुनावमा जानुपर्छ भनेका छन् । कार्यकाल सकिने बेलामा विशेष महाधिवेशनको अर्थ छैन । चुनावको मुखमा नियमित महाधिवेशन गर्दा द्वन्द्व र झगडा हुन्छ । चुनावको तयारी पुग्दैन भन्ने मत राख्नुभएको छ ।’
यसरी चुनावपछि अधिवेशन गर्दा फरक पर्दैन भन्नेमा कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, उमाकान्त चौधरी, डा. प्रकाशशरण महत, एनपी साउद, भीष्मराज आङदेम्बे, किशोरसिंह राठोर, ज्ञानेन्द्रबहादु कार्कीसहितका नेता उभिएको एक पदाधिकारीले जानकारी दिए ।
‘अहिले पनि कांग्रेसमा सभापति देउवाकै बहुमत छ । महामन्त्रीसहितका नेताहरू विशेष महाधिवेशन भनेर उफ्रिनुभएको छ । एक त कार्यकाल सकिने बेलामा विशेष महाधिवेशन गर्दा राजनीतिक हिसाबले प्रश्न उठ्छ,’ ती पदाधिकारी भन्छन्, ‘विशेष महाधिवेशनमा पुरानै प्रतिनिधिले भाग लिने हो । नयाँ हुँदा मात्रै जेनजी र युवालाई भाग लिने अवसर हुन्छ । यसैले चुनावको मुखमा नगरौं पछाडि गरौं भन्ने मत बलियो बनेको छ ।’
अर्का एक पदाधिकारीले पनि महामन्त्रीद्वय र डा. शेखर कोइराला पक्षले विशेष र नियमित महाधिवेशनको विषयमा नौटंकी गरेको टिप्पणी गरे ।
‘दुवै महामन्त्री एकै ठाउँमा छौं भन्नुहुन्छ । तर, विश्वले चार पटक सांसद भएकोले गगनलाई नै रोक्ने आशयको कुरा गर्नुभएको छ । भित्र एउटा र बाहिर अर्को कुरामा महामन्त्रीहरू लाग्नुभएको छ,’ ती पदाधिकारी भन्छन्, ‘भित्रभित्रै सभापतिसँग पनि दुवै महामन्त्रीले संवाद गरेको सुनेका छौं । यसैले बाहिर आएका चर्को कुरा मात्रै पत्याउने अवस्था छैन ।’
तीन दिन छलफल गर्दा पनि नियमित महाधिवेशन चुनावअघि मंसिरमा गर्न सकिने वा नसकिनेमा कांग्रेस निष्कर्ष पुगेन । त्यसैले आइतबारदेखि बोलाइएको केन्द्रीय समितिको बैठक दुई दिन पछाडिलाई सारिएको छ ।
बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको समयको विषयमा टुंगो लाग्न नसक्दा केन्द्रीय समिति बैठक सारेको जानकारी दिए ।
‘आम निर्वाचनलाई मध्यनजर राखेर अधिवेशन कहिले गर्न सक्छौं । वृहत्तर छलफल भयो अधिवेशन गर्नुछ । विधि, प्रक्रियासम्मत सबैको सहभागितामा, युवाको सहभागितामा गर्नुछ’, बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘छोटो समयमा अधिवेशन होस् भन्ने चाहन्छौं । व्यावहारिक के हुन्छ भन्ने निष्कर्षमा पुगेका छैनौं । बैठकको सिफारिस अनुसार पदाधिकारीले भोलिको २६ गतेको पूर्ण बैठकलाई दुई दिन पछाडि अर्थात् २८ गतेलाई सारिएको छ । छलफल गरेर निष्कर्षमा पुग्छौं ।’
एकजुट भएर पार्टीलाई एकताबद्ध बनाएर मुद्दामा सहमति गर्ने महतले बताए । चुनाव, प्रतिनिधिसभा विघटनको विषयमा पनि क्लियरकट दृष्टिकोण सार्वजनिक गर्नका लागि दुई दिनको समय लिइएको उनले बताए ।
‘दुई दिन औपचारिक, अनौपचारिक बैठक बस्छौं । पदाधिकारी, सभापतिसँग छलफल हुन्छ । अनि केन्द्रीय समितिको बैठकको लागि तयार हुन्छौं’, महतले भने ।
सरकारले गम्भीरताकासाथ चुनावको काम नगरेको भन्दै महतले निर्वाचनमा खुला भए पनि संसद् विघटनलाई असंवैधानिक नै भनेका छन् ।
‘सरकारले निर्वाचनको तयारी गम्भीरताको साथ गरेको छैन भन्ने हाम्रो अनुभव छ । थुप्रै प्रश्न चिन्ह छँदैछन् । यद्यपि निर्वाचनमा जनतामा जानेमा प्रष्ट भए पनि सरकारले गम्भीरतासाथ काम गरेको छैन भन्ने कांग्रेसको मत छ,’ महतले भने, ‘शान्ति प्रक्रियाको सम्पूर्ण प्रत्याभूति दिन काम सरकारको हो । यसैले निर्वाचनलाई खुला राखे पनि संसद् विघटन असंवैधानिक हो भन्नेमा यथावत् छौं ।’
देउवा निकटका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि चुनाव अगाडि नियमित महाधिवेशन गर्न सकिँदैन भन्ने कोणबाट कुरा आएको जानकारी दिए ।
‘फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । त्यसका लागि चुनावी कार्यक्रम अब अर्को महिनादेखि शुरू हुन्छ,’ कार्कीले भने, ‘त्यसैले चुनावपछि मात्रै नियमित महाधिवेशन गरौं भन्ने कुरा पनि उठेका छन् । यसै विषयमा छलफल तयारी नपुगेपछि बैठक २८ असोजमा बस्ने गरी सारिएको हो ।’
कांग्रेस सहमहामन्त्री जीवन परियारले पनि विषम परिस्थिति भएकोले आफूहरूले नियमित महाधिवेशनमै जोड गरेको जानकारी दिए ।
‘दुई महामन्त्री, डा. शेखर कोइरालासहितका हामीहरू म्याद नथपी नियमित महाधिवेशन मंसिरमै गर्न सकिन्छ । यत्तिकै पुरानै नेतृत्वमा चुनावमा जाँदा पार्टीले क्षति बेहोर्नुपर्छ भन्ने मतमा छौं,’ परियारले लोकान्तरसँग भने, ‘तर संस्थापन निकटका नेताहरू विषम परिस्थिति रहेकोले चुनावलाई असर पर्ने भएकोले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्छ भन्ने मतमा हुनुहुन्छ ।’
महामन्त्रीद्वयले मंसिरमा नियमित महाधिवेशन नगरे विशेष महाधिवेशनको विकल्प नभएको दाबी गरिरहेका छन् । यसका लागि ५० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटेको उनीहरूको छ । नियमित महाधिवेशन नभए मंसिरपछि पार्टीका कार्यसमितिको म्याद थप्ने प्रस्ताव नलाने घोषणा महामन्त्री थापाले गरेका छन् ।