
नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक लिमिटेड र जीआईजेड नेपालबीच सम्झौता भएको छ ।
सस्टनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल परियोजनाअन्तर्गत समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो सहकार्यले सार्वजनिक यातायात सञ्चालकलाई किफायती वित्तीय पहुँच उपलब्ध गराउँदै विद्युतीय सार्वजनिक यातायात-विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसहरूको (ईएमबीएस) स्वीकृति र सञ्चालनलाई तीव्र बनाउन लक्षित वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पर्याउने विश्वास गरिएको छ ।
परियोजना जीआईजेड नेपाल र ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) द्वारा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहितका सरकारी तथा सम्बन्धित साझेदार संस्थासँगको सहकार्यमा कार्यान्वयन भइरहेको संयुक्त पहल हो ।
यो परियोजना एमएएफको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ र यस कार्यक्रमले करिब ३,५०० विद्युतीय मिनीबस सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ, जसले नेपालको सार्वजनिक यातायात प्रणालीलाई थप सफा, हरित र दिगो बनाउन योगदान पुर्याउने बताइएको छ ।
आर्थिक सीमाबद्धतालाई ध्यानमा राखि यस पहलले परम्परागत इन्धनमा आधारित सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्ने उद्देश्य राखेको बताइएको छ ।
सस्टनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट फर नेपाल परियोजनामा सार्वजनिक यातायात अझै सजिलो, सुरक्षित र स्मार्ट बनाउन Mobile applications, GPS device, LED route display तथा यउभल open loop e-ticketing system जस्ता डिजिटल सुविधा समेत पनि प्रयोगमा ल्याइएको छ ।
यो सहकार्यले सार्वजनिक यातायात व्यवसाय गर्नेहरूलाई विद्युतीय माइक्रो र मिनीबस (EMBs) प्रयोग गर्न सहज बनाउनेछ । यसका लागि कुमारी बैंकले विशेष वित्तीय योजना (loan package) र प्रारम्भिक डाउन पेमेन्ट अनुदान (subsidy) को व्यवस्था गर्नेछ, जसले गर्दा सवारी खरिदको लागत कम हुनेछ र यसलाई आर्थिक रूपमा पनि सहज बनाउनेछ ।
२४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाई तथा ३१७ एटीएममार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।