
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र हामी नेपालका संयोजक सुधन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।
गत भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरूमाथि अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा उजुरी दिएको हो ।
उजुरीमा जेन–जीका नाममा विद्यार्थीहरूलाई आन्दोलनमा आउन उक्साएको, आगजनी र तोडफोड गरेर राष्ट्रिय सम्पदामा क्षति पुर्याएको, सरकारी तथा निजी सम्पत्ति लुटपाट गराएको घटनामा उनीहरूमाथि अनुसन्धान हुनुपर्ने माग नेविसंघले गरेको छ ।
उजुरीकर्तामा नेविसंघ केन्द्रीय सदस्यहरू मनिषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह छन् । २४ घण्टाभित्र उजुरी दर्ता गरेर बालेन र सुधनलाई पक्राउ गरी अनुसन्धान गर्न नेविसंघले प्रहरीसँग माग गरेको छ । प्रहरीले भने सरकारी वकिलसँग राय परामर्श गरेर मात्रै उजुरी दर्ता गर्ने/नगर्ने भन्न मिल्ने जवाफ नेविसंघलाई दिएको छ ।
सुधन गुरुङसहितका युवाहरूले आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायत विरुद्ध जाहेरी दिएका थिए । त्यसलगत्तै नेकपा एमाले निकट अनेरास्ववियुले पनि उनीहरूविरुद्ध उजुरी दिएको थियो ।