
नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतमा भएको 'एक्सरसाइज क्याम्ब्रियन पट्रोल'मा स्वर्ण पदक जितेको छ ।
यही असोज २३ देखि २५ गतेसम्म बेलायतको वेल्स, ब्रेकनमा भएको 'एक्सरसाइज क्याम्ब्रियन पट्रोल-२०२५' मा नेपाली सेनाले सर्वोत्कृष्ट अंकसहित स्वर्ण पदक जितेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीहरूको सहभागिता रहेको थियो ।

सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ ।
दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते-बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।
नेपाली सेनाले उक्त प्रतियोगितामा सन् २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक जितेको थियो ।

