१६ असार २०८३, मंगलबार
जेनजी आन्दोलनपछिको प्रहरी

प्रहरीका सयौं फाइल जलेपछि कसरी अघि बढ्छ अनुसन्धान ?

असोज २६, २०८२
काठमाडौं
प्रहरीका सयौं फाइल जलेपछि कसरी अघि बढ्छ अनुसन्धान ?

जेनजी आन्दोलनको त्रासदीपूर्ण दिनलाई भुलेर अगाडि बढेको नेपाल प्रहरीसामु नयाँ/पुराना घटनाको अनुसन्धान कसरी अगाडि बढाउने भन्ने चुनौती उत्पन्न भएको छ ।

भदौ २४ को प्रदर्शनका क्रममा प्रहरीका पाँच सय ५१ युनिटसँगै सँगै सयौं अनुसन्धानका फाइल जले । यी युनिटका हिरासतमा रहेका सयौं थुनुवाहरू भागे/भगाइयो ।

भदौ २४ गते प्रदर्शनकारीले प्रहरी, उसका भवन र सवारीसाधनलाई मात्रै ‘टार्गेट’ बनाएनन्, ११ सय थान भन्दा बढी हतियार समेत लुटेर लगे ।

सोही कारण अपराध अनुसन्धानमा प्रहरी अहिले शून्यकै अवस्थामा छ । गम्भीर प्रकृतिका अपराधबाहेक अन्य अपराधमा अनुसन्धानमा प्रहरी कारबाही अघि बढ्न सकेको छैन ।

प्रहरीले अनुसन्धान गरिरहेका अपराधको घटनाको अनुसन्धान अघि बढाउन बयान लिइएका फाइल पुन: तयार गर्ने र अपराधमा संलग्न भएका कारण पक्राउ परेका थुनुवा (जो अहिले फरार छन्) लाई पक्राउ गरी कानूनी दायरामा ल्याउन आन्तरिक गृहकार्य शुरू गरेको छ ।

शुरूमा जलेका भवनलाई पुनर्निर्माण गरेर कार्यालय व्यवस्थित बनाइसकेपछि सुरक्षित प्रमाणलाई आधार बनाएर पुन: फाइल तयार गर्ने, फरार थुनुवालाई पक्राउ गर्ने र सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता गर्ने गरी आन्तरिक गृहकार्य शुरू भएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए ।

उनले लोकान्तरसँग भने, ‘अहिले तत्काल पुराना फाइलको अनुसन्धान अघि बढाउने अवस्थामा प्रहरी छैन, तर प्रमाण जुटाएर अनुसन्धान गरी अदालतमा मुद्दा दर्ता गरेका घटनाको पुन: सरकारी वकिलमार्फत फाइल तयार गर्न मातहतलाई परिपत्र गरिएको छ ।’

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मासँग बसेर मुद्दाका फाइल कसरी तयार गर्ने र मुद्दा अभियोजन अघि बढाउने भनेर छलफल गरेको छ ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार परिसर, प्रहरी वृत्त मालीगाउँबाहेक अन्य प्रहरी वृत्त र प्रभागका फाइलहरू जलेर नष्ट भएका छन् ।

‘अनुसन्धानका मिसिलहरू जलेपछि पुन: मिसिल तयार गर्न प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएका फाइल कपी गरेर ल्याउने वा अन्य कुन विधिले मिसिल तयार गर्ने भन्ने विषयमा छलफल गरेका हौं,’ थापाले लोकान्तरसँग भने, ‘अदालतमा म्याद थप गरेर हिरासतमा राखेका तर, प्रदर्शनमा फरार भएका थुनुवाहरूलाई पनि नियन्त्रणमा लिने काम शुरू भएको छ ।’

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीबीच समन्वय गरेर मिसिल तयार पार्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘अनुसन्धानको मिसिल तयार पार्ने कुरा प्रहरी र सरकारी वकिल कार्यालयको हो । यी दुई निकायले नै समन्वय गरेर काम गरिरहेका छन् ।’

सबै मृतकका आफन्तले दिइसके प्रहरीमा जाहेरी

भदौ २३ र २४ गते भएको प्रदर्शनमा प्रदर्शनकारी, सुरक्षाकर्मी र बन्दी गरी हालसम्म ज्यान गुमाउनेको संख्या ७६ पुगिसकेको छ ।

सबै मृतकका आफन्तले सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमा जाहेरी दिइसकेका छन् । प्रहरीले जाहेरी बुझिसकेको छ । स्रोतले भन्यो, ‘मृतकका आफन्तहरूले जाहेरी दिइसकेका छन्, अब अनुसन्धान कसरी अघि बढाउने भनेर आन्तरिक छलफलमै छौं ।’

पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन बुझाइसकेपछि मात्रै प्रहरीमा परेको जाहेरी अघि बढाउने तयारी प्रहरीको छ । उक्त आयोगले दोषी किटान गरेर कारबाहीको सिफारिस गरेपछि मात्रै जाहेरी अघि बढाउने तयारी भएको प्रहरी अधिकृतहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्