
बागलुङमा डेंगुको सङ्क्रमण बढसँगै ‘खोज तथा नष्ट’ अभियान शुरू भएको छ ।
अघिल्लो साता जिल्लाभर ११० जनामा डेंगु सङ्क्रमण देखिएका त्यो बढेर २५७ पुगेपछि जनस्वास्थ्य कार्यालयले आज सोमबारदेखि जनचेतनाममूलक कार्यक्रमसहित खोज तथा लार्भा नष्ट गर्ने अभियान शुरू गरेको हो ।
गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार ‘खोज तथा नष्ट गर’ अभियान बागलुङ नगपालिका–१ रामरेखा, वडा नम्बर २ समीक्षालय रोड, वडा नम्बर ३ बुद्ध विहार र वडा नम्बर ४ उपल्लाचौरबाट एक साथ शुरू गरिएको हो ।
सो अभियानमा जिल्लास्थित जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थयकर्मी, टोलसुधार समितिका प्रतिनिधि र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको छ ।
अभियानका क्रममा डेंगु फैलाउने लामखुट्टेको बासस्थान रहेको सडक, नालीलगायत सार्वजनिक स्थलमा रहेका खाल्डाखुल्डी, फूलदानी, पुराना टायर, ड्रम आदिको सफाइसमेत गरिँदै आइएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी सङ्क्रमण फैलिएको बागलुङ नगरपालिकामा मात्र १३६ जना प्रभावित भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा २३, ढोरपाटन नगरपालिकामा १५, जैमिनी नगरपालिकामा सात, बडिगाड गाउँपालिकामा छ, ताराखोला गाउँपालिकामा चार र निसीखोला गाउँपालिकामा दुई जनालाई डेंगु सङ्क्रमण फैलिएको कार्यालयले जनाएको छ ।
बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालका अनुसार लामखुट्टेको बासस्थानसहित लार्भा हुर्काउने स्थल नष्ट गर्ने तथा व्यापक जनसहभागितासहित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेतर्फ पालिकाले अभियानका रूपमा कार्यक्रम सञ्चालन गरेको छ ।
एक्कासि उच्च ज्वरो आउनेजस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गरी र आवश्यकताअनुसार उपचार शुरू गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।
यसैगरी रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा परेमा डेंगु सङ्क्रमण हुनसक्ने भएकाले अस्पतालमा सम्पर्क गर्न जनस्वास्थ्य प्रमुख सापकोटाले सुझाव दिए ।