२९ असार २०८३, सोमबार

जेनजीका नाममा धम्क्याउने अर्जुन शाही पक्राउ

असोज २९, २०८२
काठमाडौं
जेनजीका नाममा धम्क्याउने अर्जुन शाही पक्राउ

जेनजीका नाममा विभिन्न सरकारी कार्यालय गएर धम्क्याउने अर्जुन बहादुर शाही पक्राउ परेका छन् ।

उनलाई बुधबार साँझ काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले लोकान्तरलाई जानकारी दिए ।

‘उहाँलाई हामीले अघि साँझ कोटेश्वरबाट नियन्त्रणमा लिएका छौं । अब बाँकी अनुसन्धान अघि बढ्छ’, एसपी भट्टराईले बताए । 

शाही विभिन्न आपराधिक मुद्दामा फरार देखिएकाले पक्राउ गरिएको भट्टराईले बताए ।

शाही ठगी र बैंकिङ कसुरको आरोपी रहेको खुलेको थियो । यसअघि पनि उनी पक्राउ परेका थिए । 

पत्रकार श्रीकृष्ण फुँयालले दिएको जाहेरीको आधारमा प्रहरी वृत्त महाराजगञ्जले उनी विरुद्धको अनुसन्धान अघि बढाएको थियो । 

महाराजगञ्ज वृत्तले शाहीलाई उपस्थित गराइदिन भन्दै वैदेशिक रोजगार विभागलाई २०८२ वैशाख ३० मा पत्राचार गरेको थियो ।

विभागले उनलाई वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ गरेर अनुसन्धान गरेको थियो । विभागमा दर्ता भएको मुद्दा टुङ्ग्याएर शाहीलाई प्रहरीमा उपस्थित गराइएको थियो । 

महाराजगञ्ज प्रहरीले अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत् अदालतमा मुद्दा दर्ता गरेको थियो । बैंकिङ कसुर मुद्दामा शाही ३० हजार धरौटी बुझाएर छुटेका थिए । शाहीविरुद्ध प्रहरी वृत्त बौद्धले समेत बैंकिङ कसुर मुद्दा चलाएको थियो ।

शाहीले होमराज खपाङ्गी मगरसँग मिलेर रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउस चलाएका थिए । सो कम्पनीको तर्फबाट पत्रकार फुयाँललाई दिएको चेक साटिएन । चेक नसाटिएपछि फुँयालले बाउन्स गरेर प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए । 

उनी विरुद्धको ठगी र बैंकिङ कसुरका ३ वटा मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छन् । आफूविरुद्धका विभिन्न मुद्दा अदालतबाट छिनोफानो नभएका शाहीले पछिल्ला दिनमा जेनजीका नाममा विभिन्न सरकारी कर्मचारीलाई धम्क्याउँदै हिँडेका छन् । 

शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर ज्ञापन पत्रको नाममा धम्क्याउँदै आएका थिए । उनले काम गर्न नसके राजीनामा दिएर मार्गप्रशस्त गर्न सम्बन्धित अधिकारीहरूलाई  धम्की दिएका थिए ।

जेनजी प्रदर्शनपछि सुशीला कार्की प्रधानमन्त्री बनेपछि शाही शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा सहभागी थिए । त्यहाँ उनले हामी नेपालका संयोजक सुदन गुरुङसँग हात उठाएको तस्वीर समेत सार्वजनिक भएको थियो ।

शाहीको समूहले संवैधानिक निकाय र उच्च पदस्थ सरकारी अधिकारीहरूलाई धम्क्याउँदै आएको नोटिस गृह मन्त्रालयमा पुगेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्