
जेनजी आन्दोलन क्रममा भदौ २४ गते सिंहदरबार आगजनी सेनाले किन रोकेन भन्ने प्रश्नमा नेपाली सेनाले स्पष्टीकरण दिएको छ।
युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले सैनिक मुख्यालयमा शुक्रबार पत्रकारसँग कुरा गर्दै भने, 'सिंहदरबार लगायतका संरचनाबारे उठेका प्रश्नहरू अत्यन्तै वैध छन्, सबैलाई स्पष्ट पार्न चाहन्छौं, राष्ट्रका महत्त्वपूर्ण संरचना क्षति हुनु दुःखद हो, तर तत्कालीन अवस्थालाई हेर्दा सेनाको कारबाही दुरुस्त र सटीक थियो।'
उनले त्यतिबेला अवस्था अत्यन्तै तनावपूर्ण रहेको र आन्दोलनका क्रममा केही स्थानमा आगजनी, तोडफोड र अराजकताको बताए।
उनले भने,' सेनाले ‘लेस देन लिथल’ (कम घातक) नियन्त्रण उपनाएको थियो, त्यतिबेला धेरै वाला प्रयोग गरेको भए धेरै मानवीय क्षति हुन्थ्यो, सेना मानवीय क्षति जोगाउन लाग्यो।'
सिंहदरबार क्षेत्रमा भएको भिड नियन्त्रणका क्रममा ४६ राउन्ड हवाई फायर गरिएको उनले बताए । २/३ पटक सिंहदरबार छिर्न खोज्नेलाई सेनाले फर्काएको उनको भनाइ छ ।
सैनिक मुख्यालयका अनुसार सेना, काठमाडौं महानगरपालिका र ललितपुर महानगरको दमकल पुगेर सिंहदरबारको आगो निभाइएको हो ।
शुरूआती अवस्थामा सेनाले दमकल सिंहदरबारको आगो निभाउन गएको तर आन्दोलनकारी दमकलको टायरमुनी सुतेपछि फर्किएको सेनाले जनाएको छ।
रातभरि सेनाले दमकलमार्फत आगो निभाइएको सेनाले जनाएको छ ।