
कतारको राजधानी दोहामा सम्पन्न वार्तापछि पाकिस्तान र अफगानिस्तानले तत्काल युद्धविराम गर्ने सहमति गरेका छन् ।
आइतबार कतारको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा दुवै देशले युद्धविराम कार्यान्वयनसहित दीर्घकालीन शान्ति र स्थायित्व कायम गर्नका लागि संयन्त्र स्थापना गर्ने सहमति गरेको जनाएको छ ।
कतार र टर्कीको मध्यस्थतामा सम्पन्न वार्ताले दुई छिमेकी राष्ट्रबीचको द्वन्द्व अन्त्य गर्दै स्थायी शान्तिका लागि मार्ग प्रशस्त गर्ने आशा गरिएको कतारको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विज्ञप्तिअनुसार दुवै पक्षले युद्धविराम स्थायित्वका लागि निकट भविष्यमा पुनः बैठक गर्ने, त्यसको कार्यान्वयन विश्वसनीय ढंगले सुनिश्चित गर्ने र दुवै देशमा सुरक्षाको वातावरण सुदृढ गर्ने निर्णय गरेका छन् ।
कतारले उक्त सहमति सीमा क्षेत्रका तनाव घटाउने र क्षेत्रीय शान्तिको दीगो आधार निर्माण गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको प्रतिक्रिया जनाएको छ ।
यसअघि शनिबार पाकिस्तानको परराष्ट्र मन्त्रालयले रक्षा मन्त्री ख्वाजा आसिफको नेतृत्वमा उच्चस्तरीय पाकिस्तानी प्रतिनिधिमण्डल दोहा पुगेर अफगान प्रतिनिधिसँग वार्ता गर्ने जनाएको थियो । मन्त्रालयका अनुसार उक्त वार्ताको उद्देश्य सीमा क्षेत्रमा भइरहेको आतंकवादी गतिविधि अन्त्य गर्ने र स्थायित्व कायम गर्नु हो ।
पाकिस्तानले कतारको मध्यस्थता प्रयासप्रति आभार व्यक्त गर्दै वार्ताबाट क्षेत्रीय शान्ति र सुरक्षामा सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ ।
यसैबीच, इरानका परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले शनिबार अफगानिस्तान र पाकिस्तानलाई संयम अपनाउन, झडप रोक्न र संवादमार्फत् समस्या समाधान गर्न आग्रह गरेका छन् ।
इरानी परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्यअनुसार उनले अफगान परराष्ट्र मन्त्री मौलवी अमीर खान मुत्ताकीसँग फोन वार्ता गर्दै पछिल्ला सीमा झडपबारे चिन्ता व्यक्त गरेका थिए । उनले दुई मुस्लिम देशबीचको द्वन्द्वले थप क्षति र क्षेत्रीय अस्थिरता निम्त्याउने चेतावनी दिँदै, तनाव कम गर्न र ‘रचनात्मक संवाद’ अघि बढाउन इरान तयार रहेको बताएका थिए ।
वार्तामा अफगान परराष्ट्र मन्त्री मुत्ताकीले पनि देशले सैन्य भिडन्तभन्दा वार्ताको बाटो रोज्ने बताएको इरानी वक्तव्यमा उल्लेख छ । दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुधार, इरान–अफगान सीमा सुरक्षाको सुनिश्चितता र विदेशी हस्तक्षेप रोक्ने विषयमा सहमति जनाएका छन् ।
गत साता अफगान–पाकिस्तान सीमा क्षेत्रमा भएको भिडन्तपछि दुवै देशबीचको तनाव चर्किएको थियो । तालिवानले असोज २३ गते आफ्ना सैनिकमाथि पाकिस्तानले गरेको भनिएको विस्फोटको जवाफस्वरूप ‘प्रतिशोधी’ आक्रमण थालेको दाबी गरेको थियो ।
पाकिस्तानले भने विस्फोटमा संलग्नता अस्वीकार गर्दै तालिवानले पाकिस्तानी तालिवानका सदस्यहरूलाई शरण दिएको आरोप लगाएको थियो ।
लगातारको गोलीबारी र सीमा झडपपछि दुवै देशले बुधबार अलग–अलग वक्तव्य जारी गरी युद्धविरामको घोषणा गरेका थिए ।