०७ साउन २०८३, बिहीबार

अस्ट्रेलियासँगै इङ्ल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा, तेस्रो हारपछि दबाबमा भारत

कात्तिक ३, २०८२
काठमाडौं
अस्ट्रेलियासँगै इङ्ल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा, तेस्रो हारपछि दबाबमा भारत

आईसीसी महिला एकदिवसीय विश्वकपमाको समूहगत चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्न बाँकी रहँदा आयोजक राष्ट्र भारत सेमिफाइनलमै पुग्न संघर्षरत देखिएको छ ।

भारतीय टोली आफ्नो पाँचौँ खेलमा पनि इङ्ल्यान्डसँग चार रनले पराजित भयो । जारी विश्वकपमा भारतीय टोलीको यो तेस्रो हार हो ।

यसअघि, भारतीय टोली दक्षिण अफ्रिकासँग तीन विकेटले पराजित भएको थियो । भारतीय टोली अस्ट्रेलियासँग पनि तीन विकेटले नै पराजित भएको थियो ।

टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८८ रन बनाएको थियो । इङ्ल्यान्डका लागि हिथर नाइथले उत्कृष्ट शतकीय पाली खेलिन् ।

उनले एक सय नौ रन बनाएकी थिइन् । यस क्रममा उनले केवल ९१ बलको सामना गरी एक छक्का र १५ चौका पनि हिर्काइन् । उनी प्लेयर अफ दि म्याच पनि घोषित भइन् ।

जवाफी ब्याटिङमा ओर्लिएको भारतीय टोलीले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय ८४ रनमात्र बनाउन सक्यो । भारतका लागि स्मृति मंधानाले सर्वाधिक ८८ रन बनाइन् ।

जारी विश्वकपमा अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका सबैभन्दा बलियो देखिएका छन् । यी तीनवटै टोली विश्वकपको सेमिफाइनलमा पुगिसकेका छन् ।

आठ टोली सहभागी जारी विश्वकपमा समूहगत चरणको खेलपछि चारवटा टोली सेमिफाइनलमा पुग्नेछन् । नौ अंकसहित अस्ट्रेलिया पहिलो र समान अंक बटुलेको इङ्ल्यान्ड दोस्रो स्थानमा छन् ।

अस्ट्रेलिया र इङ्ल्यान्ड दुबै हालसम्म अपराजित छन् । यी दुबै टोलीले चार खेल जितेका छन् । यी दुबै टोलीको एक–एक खेल भने अनिर्णित रूपमा सकिएको छ ।

तेस्रो स्थानमा आसिन दक्षिण अफ्रिका आठ अंकसहित सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले चार खेल जितेको छ भने एक खेलमा पराजित भएको छ ।

अब सेमिफाइनलमा पुग्ने एक टोलीको मात्र टुंगो लाग्न बाँकी छ । यो होडमा बाँकी सबै टोली छन् । तालिकामा भारत चार अंकसहित चौथो र न्युजिल्यान्ड पनि चार अंकसहित पाँचौँ स्थानमा छन् ।

यसैगरी, बंगलादेश दुई अंकसहित छैटौँ, श्रीलंका दुई अंकसहित सातौँ र पाकिस्तान पनि दुई अंकसहित आठौँ स्थानमा आसिन छन् । सबै टोलीले अब दुई–दुई खेलमात्र खेल्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्