११ साउन २०८३, सोमबार
वामपन्थी एकताको प्रयास

कति 'सिरियस' हो माओवादी, एकीकृत समाजवादी र नेकपाबीचको एकता चर्चा ?

कात्तिक ३, २०८२
काठमाडौं
कति 'सिरियस' हो माओवादी, एकीकृत समाजवादी र नेकपाबीचको एकता चर्चा ?

कम्युनिस्ट घटकबीच निरन्तर चल्ने वृहत् वाम एकताको विषय जेनजी आन्दोलनपछि फेरि चर्चामा आयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग एकता हुने सार्वजनिक रूपमा पटक–पटक बताए ।

जेनजी आन्दोलनपछि एकताका लागि भन्दै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आन्तरिक गृहकार्य गरे । एकताको कार्ड फ्याँके पनि जिम्मेवारी, संगठन संरचना र सिद्धान्तबारे दलहरूले खुलेर छलफल गरेका छैनन् । तर, पछिल्लो जेनजी आन्दोलनपछि भने दलहरूले एकताको आवश्यकता महसुस गरेका छन् ।

माओवादी घटक र कम्युनिस्ट पार्टीबीच एकताबारे नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले एकताको आवश्यकता झन् बढेको बताए । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लवले अब हुने एकतामा पुराना नेताको नेतृत्व हुन नहुने प्रस्ट्याए ।

‘नेपालमा कम्युनिस्ट बीच, माओवादी घटकबीच एकताको आवश्यकता झन् बढेर गएको छ  । तर, पुराना कम्युनिस्ट पार्टीका नेताले, विगतको बनिबनाउ नेतृत्वबाट, मार्क्सवाद, लेनिनवाद, माओवाद र नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्न सक्दैनन्,’ विप्लवले भने, ‘नयाँ पुस्तालाई जोडेर कम्युनिस्ट पार्टी निर्माण गर्नुपर्छ । यसका लागि अग्रजसँग सल्लाह र छलफल गर्छौं । एकता गर्ने हो । तर, सरकारमा पुगेका, मन्त्री, भएका बाहेक नयाँ पुस्ताका नयाँ नेतृत्वमा जानुपर्छ ।’

उनले पुराना नेतालाई संरक्षक बनाउने अघि बढ्न सकिने बताए ।

‘श्रम, अध्ययन गर्ने, सिर्जनशील बन्न नसक्ने र जनताको काममा लाग्न नसक्नेले अब कम्युनिस्ट पार्टी चलाउन सक्दैनन् । यस्तो आदर्श कम्युनिस्ट पार्टी विगतमा थियो । तर, अहिले त्यस्तो छैन । सबै कम्युनिस्ट पार्टीभित्र बहस भएर नयाँ पार्टी बनाउनुपर्छ,’ विप्लवले भने, ‘अब पुराना नेतालाई संरक्षक बनाएर अगाडि बढ्नुपर्छ ।’

एकताको आवश्यकता बढे पनि उनले माओवादी र समाजवादीसँग औपचारिक/अनौपचारिक छलफल अगाडि बढेकोबारे केही बताउन चाहेनन् । माओवादीसँगको एकताबारे माधव नेपालको समाजवादीमा बहस भयो । तर, विरोध पनि उत्तिकै भएको छ । असोज २४ देखि २६ गतेसम्म बसेको सचिवालय बैठकले एकता प्रक्रिया र तयारीका लागि बेदुराम भुसाललाई वार्ता समितिको संयोजक बनाएको थियो ।

null

समाजवादी २५ मध्ये ९ बढी पदाधिकारीले एकता प्रक्रियाको विरोध गरेका छन् । समाजवादीले आन्तरिक गृहकार्य रहेको दाबी गर्दा पार्टीभित्रै झलनाथ खनाल, घनश्याम भुसाल, घनेन्द्र बस्नेत, भानुभक्त जोशी, जयन्ती राईसहितका नेताले असहमति जनाएका हुन् । श्रीमतीको उपचारका लागि भारतमा रहेका सम्मानित नेता खनालले भारतबाटै एकताको कुरा पार्टीलाई भड्खालोमा पुग्ने भन्दै आपत्ति जनाएका छन् ।

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले कम्युनिस्ट घटकमा विचार मिल्नेसँग एकताको कुरा बाह्रैमास चल्ने विषय भएको बताए ।

‘कम्युनिस्टबीच विचार मिल्नेसँग एकताको कुरा बाह्रैमास चलिरहने विषय हो । यसक्रममा पछिल्लो समयमा चिन्ता र चासो बढेको छ । तर, जेनजीको आन्दोलनपछि मात्रै आवश्यकता महसुस गरिएको होइन,’ गुरुङले भने, ‘पार्टीहरूले आफ्नो बैठकमा प्रभावकारी छलफल गरेर पनि टुंगो लगाऊन् । यसक्रममा पछिल्लो समयमा चिन्ता र चासो बढेको छ । पार्टीहरूले आफ्नो बैठक र छलफल गरेर टुंग्याउँछन् ।’

माओवादी केन्द्र र नेकपा एसले सैद्धान्तिक हिसाबले मात्रै एकताको सहमति गरेका छन् । तर, नेतृत्वसहितका धेरै कुरा मिल्न सकेको छैनन् ।

समाजवादी मोर्चामा आबद्ध दलसँग एकता गर्ने कुरालाई यसपटक अलि सिरियसली लिएको र छलफल गरेको उनी बताउँछन् ।

‘हामीले समाजवादी मोर्चामा आबद्ध दलसँग एकता गर्ने विषयलाई यसपटक छलफलमा ल्याएका हौं । अन्तिम टुंगो नलागे पनि छलफलकै क्रममा छौं,’ गुरुङले भने ।

मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवादलाई माने पनि दलहरूबीच समाजवादी कार्यक्रम र कार्यदिशामा अगाडि बढ्ने उनीहरूको भनाइ छ । केही समयअघि यसरी पार्टी एकता गर्दा माओवादीको नाम परिवर्तन गरेर कुनै समाजवादी आशय झल्किने गरी नाम राख्नेबारे पनि छलफल भएको नेताहरू बताउँछन् । तर, कतिपयले माओवादी नाम छाड्न नहुने सुझाव पनि दिएका छन् ।

विचार मिल्नेसँग लामो समयदेखि एकता भने पनि नीति, नेतृत्व र सिद्धान्तका विषयमा खुलेर छलफल नभएको उनी बताउँछन् ।

‘एकता गर्ने निर्णय गरिएको छ । तर, कहिले पनि हामी फाइनलमा पुग्न सकेका छैनौं । विचार मिल्नेसँग एकता भन्ने रटान छ । विचार मिल्दै नमिल्ने जस्तो पनि देखिन्न, मिल्ने स्थिति बनिसकेको छैन,’ गुरुङले भने, ‘यद्यपि, यसपटक अलि सिरियस भएरै लागौं भनेर नेताहरूले भनिरहनुभएको छ ।’

तर, माओवादी केन्द्रका अध्यक्षले रणनीतिक हिसाबले मात्रै एकताको कार्ड फ्याँक्ने गरेका छन् । पार्टीमा रक्षात्मक हुँदा र दबाब पर्दा प्रचण्डले माधव नेपाल र विप्लवसँग एकता गर्ने बताउँदै आएका छन् । यसपटक जेनजी आन्दोलनपछि नेतृत्व छाड्न दबाब परेका बेला फेरि एकताको कुरा चर्को रूपमा गरिरहेका छन् । केही दिन प्रचण्डले केपी शर्मा ओलीले अध्यक्ष छाडे एमालेसँग पनि एकता गर्न सकिने बताएका थिए ।

माओवादीले समाजवादीसँग एकताको विषयमा यसपटक संवाद गर्न खोजेपछि एमाले अध्यक्ष ओली पनि झस्किएका छन् । एमालेबाटै फुटेर नेपालले समाजवादी गठन गरेपछि ओलीले आफैंले बनाएको पार्टीमा फर्किन आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्