०५ साउन २०८३, मंगलबार

मोटरसाइकलसँग ठोक्किएपछि बसमा आगलागी, २५ यात्रुको मृत्यु

कात्तिक ७, २०८२
काठमाडौं
मोटरसाइकलसँग ठोक्किएपछि बसमा आगलागी, २५ यात्रुको मृत्यु

भारत आन्ध्र प्रदेशको कर्नूल नजिकै शुक्रबार बिहान एक यात्रु बसमा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । बस बेङ्गलुरु जाँदै गर्दा राष्ट्रिय राजमार्ग ४४ मा मोटरसाइकलसँग ठोक्किएपछि आगलागी भएको हो ।

कावेरी ट्राभल्सको सो बसमा करिब ४४ जना यात्रु सवार थिए । ठोक्किएपछि मोटरसाइकल बसमुनि फसेर इन्धन ट्यांकीमा विस्फोट हुँदा केही मिनेटमै बसभरि आगो फैलिएको प्रहरीको प्रारम्भिक भनाइ छ ।

दुर्घटनाको समयमा धेरैजना यात्रु निद्रामा थिए । केहीले झ्याल तोडेर निस्कन सफल भए पनि धेरै जना भित्रै फसे । आगलागी यति तीव्र थियो कि केही मिनेटमै बस खरानीमा परिणत भयो ।

घाइते यात्रुहरूलाई कर्नूलको सरकारी अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्घटनापछि बस चालक फरार छन् भने प्रहरीले उनको खोजी शुरू गरेको छ ।

प्रहरीका अनुसार हैदरावादबाट बेङ्गलुरु जाँदै गरेको कावेरी ट्राभल्सको बस बिहान करिब साढे ३ बजे कर्नूल नजिकैको चिन्नेतेकुर गाउँमा मोटरसाइकलसँग ठोक्किएको थियो । 

स्थानीयवासीले उद्धार प्रयास थालेका थिए, तर आगो तीव्र भएपछि बस पूरै खरानी भयो । कर्नूलका दमकलकर्मीहरूले चारवटा गाडी प्रयोग गरी आगो निभाए । 

यसैबीच, भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना प्रकट गरेकी छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले पनि दुःख प्रकट गर्दै दुबईबाट नै प्रमुख सचिवलाई तत्काल स्थलमा पुग्न निर्देशन दिएका छन् । उनले घाइतेहरूलाई उत्कृष्ट उपचार दिलाउन र मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन आदेश दिएका छन् ।

राज्यका यातायात मन्त्री मण्डिपल्ली रामप्रसाद रेड्डी घटनास्थल पुगेका छन् । उनले यति धेरै मानिसको यस्तो दु:खद निधन अत्यन्त पीडादायी भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

पूर्व मुख्यमन्त्री वाई. एस. जगन मोहन रेड्डीले पनि गहिरो दुःख प्रकट गर्दै मृतकका परिवारलाई राहत र आर्थिक सहयोग दिन सरकारसँग आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्