![छठका लागि बेहुलीझैँ सिँगारियो वीरगन्जको घडिअर्वा पोखरी [तस्बिरहरू]](https://lktcdn2.prixacdn.net/media/Ghadiarba_pokhari_Birganj_NPL__2312_XG7FYJvrLM.jpg)
वीरगन्जको घडिअर्वा पोखरी छठका लागि बेहुलीझैँ सिँगारिएको छ । छठ पूजा व्यवस्थापन समितिले झिलिमिली बत्ती जडान गरी पोखरी मनमोहक ढङ्गले सिँगारेको हो ।
पोखरीमा छठ पर्व मनाउन आउने श्रद्धालु भक्तजन र व्रतीको सुविधा तथा सुरक्षाका लागि पनि विशेष ध्यान दिएको छ । श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिकको पहिचानका रूपमा मनाइने छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाइने गरिन्छ । छठको मुख्य दिन सोमबार परेको छ ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व ।
तराईका सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो । जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।
जनविश्वासअनुसार महाभारतका अनुसार द्रोपदी सहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए ।
उक्त समयमा पाण्डवहरू मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी













