
पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ को भदौरेमा बाबुले छोराको हत्या गरेका छन् ।
बुवा बखत सिंह लिम्बूले गोली प्रहार गर्दा छोरा सफलको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।
घरायसी विवादका क्रममा मादक पदार्थ सेवन गरेका बाबु ५२ वर्षे बखत सिंह लिम्बूले घरमा राखेको भरुवा बन्दुकबाट गोली प्रहार गरी छोरा सफलको हत्या गरेको तामाङले जानकारी दिए ।
'बाबु-आमाको झगडा भएको रहेछ । झगडा नगर्नु भनेर सम्झाउँदा छोरालाई नै गोली प्रहार गरेको देखिन्छ,' प्रहरी निरीक्षक तामाङले भने ।
मृतक सफलको शव पोस्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
घटनापछि दुर्दिम्बा प्रहरी चौकीबाट गएको प्रहरीले बखत सिंह लिम्बूलाई पक्राउ गरिसकेको छ ।