
सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिल्सको उत्पादन बन्द भएको छ । अन्तरिम सरकारले विद्युत् आपूर्ति काटिदिएपछि साढे ४ हजार जनालाई रोजगारी दिएको रिलायन्सको उत्पादन बन्द भएको हो । नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि उद्योगको उत्पादन पूर्णरूपमा बन्द भएको मिल्सका महाप्रबन्धक महेश पोखरेलले जानकारी दिए ।
२४सैँ घण्टा ३ सिफ्टमा काम हुने रिलायन्सको उत्पादन बन्द भएपछि ४ हजार ५०० हाराहारी कर्मचारीहरूलाई हाजिर मात्रै लगाएर फिर्ता पठाउने काम भइरहेको छ । ‘तिहारपछि शनिबारदेखि नै कामका लागि श्रमिकहरू आउन थालिसकेका छन् । सबैलाई हाजिरी लगाएर पठाइरहेका छौं,’ लोकान्तरसँग पोखरेलले भने, ‘साढे ४ हजार जनालाई केही दिनसम्म धान्न सकिन्छ होला, त्यसपछि हामीले हात जोड्नुपर्ने अवस्था आउँछ ।’
ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्री कुलमान घिसिङ नियुक्त भएको एक महिनापछि प्राधिकरणले २०७२ सालदेखिको विवादास्पद डेडिकेटेड र ट्रंकलाइनको महसुल बक्यौताको नाममा उद्योगहरूमा लाइन काट्न शुरू गरेको छ । लक्ष्मी पूजाको भोलिपल्टैदेखि उद्योगहरूको लाइन काट्न शुरू गरिएको थियो । प्राधिकरणले अहिलेसम्म २५ वटा उद्योगहरूको लाइन काटिसकेको छ ।
यसअघि पनि प्राधिकरणले यसरी पटक–पटक डेडिकेटेड र ट्रंकलाइन जोडिएका उद्योगहरूको लाइन काट्ने र जोड्ने गर्दै आएको थियो । डेडिकेटेड र ट्रंकलाइन विवादमा ६१ वटा उद्योगको नाम छन् । डेडिकेटेड फिडर र ट्रंकलाइनमा ६१ वटा उद्योगको करिब ६ अर्ब ६० करोड रुपैयाँ महसुल बक्यौता रहेको प्राधिकरणको दाबी छ । जसमा रिलायन्स पनि छ । रिलायन्सको करिब ७५ करोड बक्यौता रहेको दाबी गरिएको छ ।

नेपालको ठूलो धागो उद्योग रिलायन्सले वार्षिक ४८ हजार ९६० मेट्रिक टन उत्पादन गर्ने क्षमता राख्छ । रिलायन्सले पोलिस्टर, भिसकोस, एक्रेलिक, कटन र अल्लो जस्ता कच्चा पर्दाथहरू आयात गरेर बजार मागअनुसार सिंगल र डबल धागाहरू उत्पादन गर्दै आएको छ ।
यो पनि
चुनावी सरकारको उल्टो बाटो– संकटका बेला लाइन काट्दा निजी क्षेत्र हतोत्साही
रिलायन्सले आफ्नो उत्पादनको ८० प्रतिशत विदेशमा निर्यात गर्ने गर्दछ । यो देशकै ठूलो निर्यातकर्ता र रोजगारीदाता रहेको पोखरेलको भनाइ छ ।
सुनसरीको इटहरी १२ खनारमा रहेको रिलायन्स २६ बिघा क्षेत्रफलमा फैलिएको छ । जहाँ १ हजार ५५० महिलासहित साढे ४ हजार कार्मचारीहरूले रोजगारी पाएका छन् ।

२०५१ सालमा दर्ता भई २०५४ सालदेखि उत्पादन शुरू गरेको रिलायन्समा २९ वर्षसम्म काम गर्नेहरूसमेत रहेका छन् । दशकौँदेखि उद्योगमै काम गर्नेहरू परिवारसहित उद्योगकै क्वाटरभित्रै बस्दै आएका छन् । क्वाटरमा २८० परिवारसहित २ हजार कामदारहरू बसोबास गर्दछन् ।
उत्पादन बन्द भएपछि क्वाटरमा बस्दै आएका २ हजार कामदारहरू कामविहीन भएका छन् । क्वाटरमा बस्ने कामदारहरूका लागि जेनरेटरबाट विद्युत् आपूर्ति गरिएको पोखरेलले बताए ।

‘क्वाटरमा २ हजार कामदारहरू बस्छन् । अहिले कसैले केही काम गर्ने अवस्था छैन । क्वाटरमा बस्नेहरूका लागि पानी खाना र जेनरेटरबाट विद्युत् आपूर्ति गरिरहेका छौं । परिवार जस्तै गरेर राखेका कर्मचारीहरूलाई पनि कति दिनसम्म यसरी राख्न सकिन्छ थाहा छैन,’ उनले भने, ‘हजारौँको संख्यामा कामदारहरू सडकमा आउनुपर्ने अवस्था सृजना भइरहेको छ । हामीले पनि हात जोड्नुबाहेक विकल्प छैन ।’

यसअघि पनि रिलायन्सको विद्युत् १०/१२ दिनसम्म कटौती गरिएको थियो । त्यतिबेला सुनसरी जिल्ला अदालतको आदेशपछि प्राधिकरणले उद्योगको लाइन जोडेको थियो । दैनिक १२५ मेट्रिक टन धागो उत्पादन गरिरहेको उद्योग एक सातादेखि पूर्णरूपमा बन्द अवस्थामा छ ।
डेडिकेटेड र ट्रंकलाइनको महसुल बक्यौताको रकम प्राधिकरणले प्रमाण दिए तिर्न तयार गरेको कम्पनीले जनाएको छ । बिना कुनै आधार जबरजस्ती अतिरिक्त महसुलका नाममा एक रुपैयाँ तिर्न नसकिने पोखरेलको भनाइ छ ।





