०७ साउन २०८३, बिहीबार

युवराज सिंहले हस्ताक्षर गरेको जर्सी जब स्टुअर्ट ब्रोडले रद्दीको टोकरीमा फादिलिए

कात्तिक १२, २०८२
काठमाडौं
युवराज सिंहले हस्ताक्षर गरेको जर्सी जब स्टुअर्ट ब्रोडले रद्दीको टोकरीमा फादिलिए

इङ्ल्यान्डका चर्चित क्रिकेटर स्टुअर्ट ब्रोडले आफ्नो समयका प्रभावशाली भारतीय खेलाडी युवराज सिंहद्वारा हस्ताक्षर गरिएको जर्सी रद्दीको टोकरीमा फालेको रहस्य खुलेको छ । यो रहस्य स्टुअर्ट ब्रोडका पिता क्रिस ब्रोडले खोलेका हुन् । क्रिस ब्रोड पनि आफ्नो समयका चर्चित खेलाडी र प्रभावशाली आईसीसी म्याच रेफ्री हुन् ।

सन् १९८६–८७ सिजनको एशेज शृंखला इङ्ल्यान्डलाई जिताउन क्रिस ब्रोडको भूमिका महत्वपूर्ण रहेको थियो । क्रिस ब्रोडले द टेलीग्राफसँगको कुराकानीका क्रममा युवराज सिंहको प्रसंग झिकेका हुन् ।

‘युवराज सिंहले हस्ताक्षर गरेको जर्सी क्रिसमसको अवसरमा मैले स्टुअर्टलाई उपहारस्वरूप दिएको थिएँ । मैले दिएको उपहार हेरेपछि उसले त्यसलाई रद्दीको टोकरीमा लगेर फालिदियो । सायद, उसको पुरानो घाउ अझै पुरिएको थिएन,’ क्रिस ब्रोडले भनेका छन् ।

खासमा, युवराज सिंहले नै एक खेलका क्रममा स्टुअर्ट ब्रोडकै बलमा लगातार ६ वटा छक्का प्रहार गरेका थिए । त्यही रिस पछिसम्म पनि स्टुअर्ट ब्रोडमा बाँकी रहेको उनको पिताको बुझाइ छ ।

यो घटना सन् २००७ को आईसीसी टी–२० विश्वकपका क्रममा भएको थियो । इङ्ल्यान्ड र भारतबीच खेलिएको खेलका क्रममा युवराज सिंहले स्टुअर्ट ब्रोडलाई लगातार ६ बलमा ६ छक्का हिर्काएका थिए ।

त्यो खेलमा भारत विजयी भएको थियो भने युवराज सिंहले केवल १६ बलमा सात छक्का र तीन चौकाको मद्दतले ५८ रन बनाएका थिए । स्टुअर्ट ब्रोडले चार ओभरमा ६० रन खर्चिएका थिए ।

त्यतिबेला स्टुअर्ट ब्रोडको खेलजीवन भर्खरै अगाडि बढ्दै थियो। युवराज सिंहले आफ्नो छोराको ओभरमा लगातार ६ छक्का प्रहार गरेपछि क्रिस ब्रोडले नै युवराज सिंहसँग अटोग्राफ लिएका थिए ।

‘हो, युवराज सिंहसँग त्यो अटोग्राम मैले नै लिएको थिएँ । मैले भारतीय टोलीको जर्सीमा त्यो अटोग्राफ लिएको थिए । त्यतिबेला मैले युवराज सिंहलाई तिमीले मेरो छोराको खेलजीवन नै समाप्त गरिदियौं भनेर पनि भनेको थिएँ,’ क्रिस ब्रोडले त्यो क्षणको सम्झना गरेका छन् ।

त्यो जर्सीमा युवराज सिंहले यस्तो लेखेका थिए, ‘मैले पनि एकै ओभरमा पाँचवटा छक्का खाएको छु । त्यसैले यतिबेला म तिम्रो पीडालाई राम्ररी अनुभव गरिरहेको छु । तिमी इङ्ल्यान्डको क्रिकेटको सुनौलो भविष्य हौ । म तिम्रो सुखद भविष्यको कामना गर्छु ।’

द टेलीग्राफसँगको कुराकानीमा क्रिस ब्रोडले सोही घटनाको चर्चा गरेका हुन् । युवराज सिंहले भनेजस्तै भविष्यमा स्टुअर्ट ब्रोड इङ्ल्यान्डको क्रिकेटमा नायकका रुपमा उदाए । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा देशका लागि आठ सय ४७ विकेट लिए ।

स्टुअर्ट ब्रोडले टेस्ट क्रिकेटमा ६ सय चार, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ७८ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६५ विकेट लिएका छन् ।

कमेन्ट गर्नुहोस्