२८ जेठ २०८३, बिहीबार
आलेख

कांग्रेसमा विशेष महाधिवेशनको बहस : 'इमोसनल ब्ल्याकमेलिङ' किन ?

कात्तिक १२, २०८२
काठमाडौं
कांग्रेसमा विशेष महाधिवेशनको बहस : 'इमोसनल ब्ल्याकमेलिङ' किन ?

अहिले नेपाली कांग्रेसमा मंसिरभित्रै पार्टीको १५औँ महाधिवेशन आयोजना गर्ने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा बहस चलिरहेको छ । कांग्रेसको इतिहासमा प्रथमपटक पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले १५ दिनअघि मात्रै पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गरेका छन् । पार्टी नेतृत्वको सहमति र तत्कालीन आवश्यकता अनुरूप तत्कालीन कांग्रेस सभापति सुवर्ण शमशेर राणाले पदबाट राजीनामा दिई २०१४ सालमा विशेष महाधिवेशन मार्फत् नेतृत्व परिवर्तन गरिएको भएपनि त्यसयता कांग्रेसले विधिवत् रूपमा विशेष महाधिवेशन बोलाएको छैन, कार्यवाहक दिइएका र तोकिएका प्रसङ्ग भने धेरै छन् ।

त्यसअघि २००७ पूर्व पनि बीपी कोइराला र डिल्लीरमण रेग्मीबीच कार्यवाहक प्रकरण चलेको थियो । ०१७ सालको प्रजातन्त्र मास्ने कदमपछि सुवर्णजी र २०३४ सालमा बीपी अमेरिकाबाट स्वास्थोपचारपश्चात् फर्किएपछि पटनामा बोलाइएको विशेष भेलाले कार्यवाहक सभापतिको रूपमा किसुनजीलाई जिम्मेवारी दिएको थियो । त्यतिबेला कार्यवाहक पाउने नेताहरूले लगभग पूर्ण कार्यकारिणी अधिकारको उपभोग गर्ने मौका पाएका थिए । गिरिजाबाबुले जीवनको उत्तरार्धमा २०६४ सालमा सुशील कोइरालालाई पार्टीमा तेस्रो वरीयताको कार्यवाहक बनाउनुभएको हो ।

सभापति पदमा बहाल रहँदै सुशील कोइरालाको निधन भएपछि रामचन्द्र पौडेल कार्यवाहक भएर पार्टीको १३ औँ महाधिवेशन सम्पन्न भएको थियो । र, अहिले आएर पुनः १५औं महाधिवेशन तयारीको सम्पूर्ण कार्य गर्नेगरी सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका छन् । र, वर्तमान कार्यवाहक सभापतिले विशेष महाधिवेशनको मागको निवेदनलाई ग्रहण गरिसकेपछि यसले केन्द्रीय कार्यसमितिमा विधिवत् प्रवेश पाएको छ । र, अब यो प्रस्ताव केन्द्रीय समितिको दायित्व बनेको छ ।

आजसम्मका अनुभव र राजनीतिक विकासक्रममा एकाध घटनाबाहेक पार्टीका नेताहरू सुझबुझ, परिपक्वता र आपसी समझदारीबाटै अघि बढेको पुष्टि हुन्छ । योग्यता पुगेका पार्टीका सदस्यहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेको भने यो पहिलोचोटि हो । बाहिर हल्ला गरेजस्तो महाधिवेशन प्रतिनिधिको म्याद सिद्धिएको होइन । यो १५ औँ महाधिवेशनका प्रतिनिधि निर्वाचित नभएसम्म कायम रहन्छ । पार्टी विधानले यस विषयमा स्पष्ट पारेकै छ । त्यसैले यो राजनीतिक घटना  आफैंमा समयसापेक्ष, विशिष्ट र ऐतिहासिक छ ।

अब प्रश्न उठ्छ, देशको एक मात्र पूर्ण प्रजातान्त्रिक पार्टीले देशको विषम तथा विशेष परिस्थितिमा यसको अभ्यास गर्नुपर्छ कि पर्दैन ? आज खुला बहस र चिन्तनको विषय बनेको छ । अहिले कांग्रेसका नेताहरू नै मंसिरभित्र नियमित महाधिवेशन सम्पन्न गर्न समय पुग्दैन वा भ्याइँदैन भनिरहेका बेला विशेष महाधिवेशन अझ सान्दर्भिक हुन्छ कि हुँदैन ? हाम्रा प्रातःस्मरणीय नेताहरूले कुनै बेला देशमा असामान्य परिस्थिति उत्पन्न हुनसक्छ, त्यतिबेला स्वाभाविक वा नियमित कार्य गर्न असहज हुनसक्छ । पार्टीहरू प्रभावित हुन सक्छन् र आफ्ना गतिविधि वा जिम्मेवारी फरक ढङ्गबाट सम्पादन गर्नुपर्ने हुनसक्छ भन्ने पूर्वानुमान गरेका हुन् । त्यस्तै, पार्टीभित्र कलह, विवाद वा आवश्यकता उत्पन्न हुनसक्छ भन्ने अनुमान समेत गरेर विशेष व्यवस्था गरिएको हो भनेर बुझ्न ज्यादा माथापच्ची गरिरहनु पर्दैन । यो व्यवस्था निकै दूरदर्शितापूर्ण थियो र छ । यतिबेला हिजो गरिएको त्यही अनुमान सही साबित भएको छ ।

अब हामी के गर्ने त ? आजको मूल प्रश्न यही हो । अहिले कांग्रेस केन्द्रीय कार्य समितिको बैठक जारी छ । समयको गम्भीरता र उच्च चाप भएका बेला अनुचित रूपमा पर सारिएको वा लम्ब्याइएको भएपनि कांग्रेस कार्यकर्ताहरू यसले लिने निर्णय पर्खिरहेका छन् । त्यति मात्र होइन, प्रजातान्त्रिक जनमत र सारा संसारले बैठकको छलफल र नतिजा हेर्दैछन् ।

कांग्रेसले आफ्ना होनहार बहुमत सदस्यहरूको आवाजलाई कदर गरेर आफ्नो प्रजातान्त्रिक चरित्र र पहिचान प्रदर्शन गर्छ कि गर्दैन ? आफ्ना साथीहरूको आवाजलाई कदर गर्छ कि गर्दैन भन्नेमा सबैको गम्भीर चासो छ र पार्टी विधानको परिपालना गर्छ कि गर्दैन भनेर हेरिरहेको छ । यो कांग्रेसको ऐतिहासिक परीक्षाको घडी पनि हो ।

अहिले नियोजित रूपमा विषयको गहनतालाई विषयान्तर गर्न पार्टी फुटको त्रास देखाउन खोजिँदैछ, यो निकै दुःखद छ र यो सरासर भावनात्मक मोलमोलाइ अर्थात् 'इमोसनल ब्ल्याकमेलिङ' मात्र हो ।

पुर्‍याउनुपर्ने सुझबुझ

हामीले विचार गर्नुपर्ने कुरा के हो भने तथ्यांक र भावना बिल्कुलै पृथक् विषय हुन् । सबैलाई थाहा छ, नेपाली कांग्रेस विघटित संसद्को सबैभन्दा ठूलो पार्टी हो । प्रदेश र स्थानीय सरकारमा नेतृत्वदायी स्थानमा छ । देशभरि विशाल सांगठनिक सञ्जाल छ । दर्जनौं भ्रातृसंगठन र शुभेच्छुक संस्था छन् । झन्डै नौ लाख क्रियाशील सदस्यहरू छन् । विदेशस्थित शाखाहरू छन् । लाखौं मतदाता तथा कांग्रेसको भलो चाहने असंख्य शुभेच्छुकहरू छन् । यो सामान्य शक्ति होइन । तर, यसको सञ्चालन र परिचालनमा ठूलो समस्या र लापरवाही छ, जुन कुरा धेरै अघिदेखि उठ्दै आएको हो । तथ्य बलियो र आकर्षक छ, तर भावना कहाँ छ ? केन्द्रबाहेक अहिले पनि सरकारमा जताततै छ, तर जनताको मन र मस्तिष्कमा छ कि छैन ? सत्ता र शक्तिमा त छ, जनताको हृदयमा छ कि छैन ? के जनताको काम राजनीतिक दलहरूलाई सरकारमा पुर्‍याउनु मात्र हो ? बदलामा केही चाहिँदैन ? सरकारमा पुर्‍याउनुको अर्थ केही सीमित नेता र उनका आसपासेले राज्यकोषमा मनपरि वा ढलिमली गर्न हो ? आजको मूल प्रश्न यही हो ।

अर्को कुरा नेपाली कांग्रेस नेपालको मर्यादित, प्रतिष्ठित र गतिशील पुरानो राजनीतिक संस्था हो । यसले पछ्याएको आदर्श, अङ्गीकार गरेको सिद्धान्त र अवलम्बन गरेको नीतिका लागि हजारौँ व्यक्तिहरूले आफ्नो जीवन न्यौछावर गरेका छन् । लाखौं जनताले मन पराएका छन्, समर्थन गरेका छन् । हरेक सङ्घर्षमा साथ दिएका छन् । त्यसैले संस्था  आफैंमा कहिल्यै पनि दोषी हुँदैन । यसलाई सञ्चालन गर्ने वा चलाउने व्यक्ति वा नेताहरूको आचरण र प्रवृत्तिले संस्थाको छवि निर्माण गर्छ । कांग्रेसको ऐतिहासिक छवि यसका महान् नेताहरूको व्यक्तित्व, त्याग र सङ्घर्षशील चरित्रका कारण निर्माण भएको हो । यता आएर कांग्रेसको पहिचान र छवि धमिलो पार्नमा ३५/३६ वर्षदेखि मुख्य भूमिकामा बसेका केही पात्रहरू जिम्मेवार छन्, जसले अहिलेसम्मका राजनीतिक घटनाक्रममा आफूहरूलाई सत्तालोलुप प्रमाणित गरे । संस्थापक र पुराना नेताहरूले संस्थालाई सर्वोपरि ठाने र केन्द्रमा राखे । अहिलेका नेताहरूले आफ्नो निजी स्वार्थबाहेक केही हेरेनन्, जसको मूल्य संस्था र नयाँ पुस्ताले चुकाउनुपरेको छ । अब यसको हिसाबकिताब खोज्ने समय आएको छ । र, पूर्ण रूपमा सच्चिने ऐतिहासिक अवसर आएको छ ।

निराधार फत्तुर

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएपछि पार्टीभित्र र बाहिर पनि यस राजनीतिक विषयले मुख्य चर्चा र बहसको ठाउँ ओगटेको छ । अहिले विभिन्न चोक चौराहामा यसैको विमर्श जारी छ । कांग्रेसका शुभचिन्तकहरू सकारात्मक परिणामको कामना गरिरहेका छन् भने पार्टीमा आधिपत्य जमाएर बसेका केही थान व्यक्तिहरू निवेदनकर्ताहरूको तेजोवध गरिरहेका छन् । यत्रो वर्षसम्म पार्टी चलाउँदा माखो मार्न नसकेका बासी पात्रहरू निराधार फत्तुर लगाउनमा व्यस्त छन् । उदेकलाग्दो विषय त के छ भने समग्र पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बेलामा गुटको बैठक निरन्तर राखेर अनावश्यक गालीगलौजमा उत्रिएका छन् । साथै, अहिले नियोजित रूपमा विषयको गहनतालाई विषयान्तर गर्न पार्टी फुटको त्रास देखाउन खोजिँदैछ, यो निकै दुःखद छ र यो सरासर भावनात्मक मोलमोलाइ अर्थात् 'इमोसनल ब्ल्याकमेलिङ' मात्र हो । परिवर्तित विषम परिस्थितिमा पार्टीलाई व्यवस्थित र सुदृढ गरौं भन्दा दलको बागडोर सम्हालेका दर्जनौं नेतागणले एकैस्वरमा पार्टी फुट्न सक्छ भनेर भन्नुको तात्पर्य के हो ? पार्टीका साथीहरूको मनोभावनालाई जबरजस्ती कुल्चेर कांग्रेसलाई बलियो बनाउँछु भन्नु हाँस्यास्पद तर्कबाहेक के हुनसक्छ ? एउटा कटु सत्य के हो भने हिजो पनि कांग्रेस पार्टी हामी सबैको साझा थिएन, केही पात्रको बपौती जस्तै थियो, आज पनि छैन । वैधानिक र व्यवहारिक रूपमा नेपाली कांग्रेसलाई सरोकारी अर्थात् सबै सदस्यहरूको साझा बनाउँ भन्दा ८ रेक्टरको भुँइचालो गएको ठान्ने यो कस्तो प्रवृत्ति हो ?

वैधानिक अभ्यासको माग गर्दा छलफल गर्ने आँट कसैमा पनि छैन । अनि पार्टीमा आगो लाग्छ, क्षतविक्षत हुन्छ भन्ने निराधार आरोप किन ? आँखा जुधाएर कुरा गर्ने हिम्मत छ कसैको ? त्यसैले आजको लडाइँ यस्तै प्रवृत्तिसँग हो । र, यसले निर्णायक मोड लिन्छ नै ।

के अहिलेका हस्ताक्षरकर्ता साथीहरूले नेपाली कांग्रेस हाम्रो पनि हो भन्न पनि नपाउने हो ? घरको मूल कोठा, भान्सा, बैठक, पिँढी, आँगन सबै ओगटेर बसेका छौ, घरको राम्रो रेखदेख गरेनौ, राम्रो भएन भन्न पनि नपाउने हो ? के राम्रो काममा योगदान गर्न पनि नपाउने हो ?

अहिले पार्टीको विभिन्न तप्काबाट हस्ताक्षरकर्ता साथीहरूलाई पार्टी विभाजनको निराधार फत्तुर लगाउने प्रयत्न र प्रपञ्च भइरहेको छ । यसका पछिल्तिर कुनै तर्क छैन । पार्टीमा आएका वैधानिक प्रस्तावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै सहजरूपमा अघि बढ्नु वास्तविक प्रजातान्त्रिक चरित्र हो । यसविपरीत काल्पनिक कुरा गरेर मूल विषयबाट पार्टीका साथीहरूको ध्यान अन्यत्र मोडेर आफ्नो स्वार्थको रोटी सेक्न खोज्नु अराजनीतिक र अप्रजातान्त्रिक प्रवृत्ति हो । अहिले कांग्रेसभित्र यस्तै प्रवृत्तिको बोलावाला छ ।

हुँदाहुँदा पार्टीको केन्द्रदेखि वडासम्मका सबै समितिहरूको म्याद रहने र महाधिवेशन प्रतिनिधिहरूको म्याद भने सकिएको तर्क गर्ने विलक्षण र अभूतपूर्व प्रतिभाहरू समेत देखिन थालेका छन् ।

नियमित महाधिवेशन नगर्ने, विशेष पनि नगर्ने, आजसम्म देश र पार्टी चलाउँदा भएका गल्ती पनि स्वीकार वा रियालाइज नगर्ने, म्याद थपेर डेढ वर्ष अवधि तन्काउने र आम चुनावमा खरानी हुने, अनि हामीले रमिता हेरेर बसिदिनुपर्ने ? अहिलेको पार्टी प्रवृत्ति हेर्दा खरानी ताप्न पनि नदिने अर्थात् खरानीलाई पनि गुटबन्दीकरण गर्ने र यो खरानी पनि हाम्रो मात्रै हो भन्ने डरलाग्दो मनोरोग देखिएको छ । यस्ता विषय म केन्द्रित भएर घर–घरमा कोठे बैठक र पार्टी प्यालेसमा भेला गरेर जग हसाउन शङ्कोच लाग्नुपर्ने होइन र ? त्यसैले अब यस्तो चल्दैन । सञ्चार माध्यमबाट फत्तुर लगाउनेसँग बहसमा आउने हिम्मत नभएको हो ? दशकौंदेखि पार्टी चलाएका स्वनामधन्य नेतागणहरूलाई मिडियामा फलाक्दै हिँड्न सुहाउला र ? संसारभरिका प्रजातान्त्रिक राजनीतिक दलमा त उठेका विषय र मुद्दालाई खुला छलफल गरेर टुङ्ग्याउने प्रचलन हुन्छ होइन र ? यसमा आनाकानी गर्नु वा कुनै रुचि नै नदेखाउनुको मतलब जिम्मेवार पक्षमा प्रजातान्त्रिक चेतना मरिसक्यो भनेर बुझ्नुपर्ने हुन्छ । हस्ताक्षरकर्ता साथीहरूले शालीनतापूर्वक उठाएका विषयलाई शालीनतापूर्वक नै सुलझाउनुपर्ने होइन र ?

ऐतिहासिक दायित्व

हाम्रा धार्मिक तथा सांस्कृतिक उत्सव तथा पर्वहरू सकिएका छन् । र, अब हामी सबै आ-आफ्ना मुख्य काममा फर्कदैछौं । यस्तो बेलामा हामी सबैले आफ्ना पुराना बानी, व्यवहार र आचरणमा व्यापक परिमार्जन तथा सुधार गर्न आवश्यक छ । अझ कांग्रेसका नेता एवं सदस्यहरूमा त निकै सुधार चाहिएको छ । त्यसमा पनि नेतृत्व गणमा त धेरै नै सुधारको दरकार छ ।

पद र प्रतिष्ठाले अहङ्कारी बनेका नेताहरूले आफू कहाँबाट कहाँ पुगें भन्ने थाहा पाउनुपर्छ । जनविश्वासबाट प्राप्त दायित्व पूरा नगर्दा उर्लिएको भेलले बगाएर किनारामा हुत्याएको चाल पाउनुपर्छ । पुनः भेल बाढी आउन सक्छ, यसको सम्भावना सकिएको छैन । अब योभन्दा ज्यादा हुन बाँकी छैन । कांग्रेसको विधान र पार्टीका साथीहरूमाथिको थिचोमिचो बन्द हुनुपर्छ । संस्थालाई आफ्नो सैद्धान्तिक र स्वाभाविक बाटोमा हिँड्न दिनुपर्छ । चाडबाडबाट शक्ति लिएर उच्च आत्मविश्वासका साथ अघि बढ्नुको विकल्प छैन । पार्टीभित्र सह-अस्तित्वको भावनालाई आत्मसात् गरी आन्तरिक एकतालाई प्रवर्द्धन गर्नुपर्छ । आफ्ना धार्मिक तथा राजनीतिक आराध्यलाई सम्झिएर देश र जनताप्रतिको दायित्व एवं कर्तव्य पूरा गर्न प्रजातान्त्रिक मार्गमा अविलम्ब अग्रसर बनौं, यसैमा हामी सबैको कल्याण छ । भर्खरै दशैँ, तिहार र छठ पर्व मनाएका हामीलाई यही सद्बुद्धि प्राप्त होस् ।

salt training

कमेन्ट गर्नुहोस्