२४ जेठ २०८३, आइतबार
जेनजी आन्दोलन

भदौ २४ को विध्वंश संलग्न अधिकांश पटके अभियुक्त: ठगीदेखि ज्यान मार्ने कसुरसम्म पुराना मुद्दा

कात्तिक १२, २०८२
काठमाडौं
भदौ २४ को विध्वंश संलग्न अधिकांश पटके अभियुक्त: ठगीदेखि ज्यान मार्ने कसुरसम्म पुराना मुद्दा

जेनजी आन्दोलनका क्रममा सिंहदरबारअगाडि हतियार (एसएलआर बन्दुक) प्रदर्शन गरेको आरोपमा ललितपुर सुनाकोठीबाट ३६ वर्षीय सम्राट भन्ने राजु परियार पक्राउ परे । प्रहरी कार्यालय आगजनी गरेर एसएलआर लुटी सिंहदबार अघि प्रदर्शन गरेको भिडियो सार्वजनिक भएपछि उनी पक्राउ परेका थिए ।

प्रहरीले अपराध अभिलेख प्रणाली (सीआरएस) हेर्दा परियारविरुद्ध यसअघि ८ वटा मुद्दा चलेको तथ्य भेटियो । ज्यान मार्ने उद्योग, ठगी, बैकिङ कसुर, अभद्र व्यवहार शीर्षकमा उनीविरुद्ध ८ वटा मुद्दा विभिन्न प्रहरी युनिटमा चलेका थिए ।

जेनजी आन्दोलनकै क्रममा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको घरबाट ६४ लाख बराबरको धनमाल चोरी भयो । चोरी आरोपमा फर्निचरमा मजदुरी र मिस्त्री काम गर्ने युवाहरू समातिए । उदयपुरको कटारी नगरपालिका–७ रिस्कु घर भई ललितपुर धापाखेल बस्दै आएका २९ वर्षीय सुजन सेवा र महोत्तरीको बर्दिबास नगरपालिका– ६ घर भई धापाखेल नै बस्ने ३० वर्षीय सञ्जय परियारविरुद्ध आपराधिक उपद्रव र डाँका चोरीको कसुरमा मुद्दा चल्यो । ललितपुर जिल्ला अदालतले जनही ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । तर, धरौटी नुबझाएपछि उनीहरू कारागार चलान भए । धरौटी बुझाउन नसकेर जेल चलान भएकामध्ये परियारविरुद्ध यसअघि पनि इलाका प्रहरी कार्यालय बर्दिवासमा अभद्र व्यवहार कसुरमा मुद्दा चलेको थियो  ।

जेनजी आन्दोलनपछि अनुगमन र ज्ञापनपत्रको नाममा सरकारी कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनी वैदेशिक ठगी र चेक बाउन्स मुद्दाका अभियुक्त रहेको पुष्टि भयो । प्रहरीका चारवटा युनिटमा चेक बाउन्समा उजुरी परेका शाही वैदेशिक रोजगार ठगीमा समेत पक्राउ परेर छुटेको अभिलेख समेत प्रहरीले फेला पारेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले शाहीलाई वैदेशिक रोजगारीसम्बन्धी कसुरमा २०८२ वैशाख २८ मा पक्राउ गरेको थियो ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको निवास जलाउने कार्यमा संलग्न सोनाम थेबे पक्राउ परे । उनी गुण्डा नाइके चक्रे मिलननिकट गुण्डा हुन् । बुढानीलकण्ठ भंगलस्थित भण्डारीको घर जलाउन थेबे पुगेका थिए । उनै थेवे सिम्रिक हेलिकप्टरका मालिक क्याप्टेन रामेश्वर थापाको घर समेत जलाउन गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरी वृत्त गौशाला र बानेश्वरस्थित ग्लोबल कलेज लुटपाट र आगजनी गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले कञ्चनपुरका भुवन शाहीलाई पक्राउ गरेको छ । शाहीले २०७४ मा सेनामा जागिर खाएका थिए । जागिरको शिलशिलामा उनले पेश गरेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नक्कली पाइएपछि उनी बर्खास्तीमा परेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

जेनजी आन्दोलनपछि हालसम्म काठमाडौं उपत्यकामा मात्र प्रहरीले एक सय ५० जनालाई पक्राउ गरिसकेको छ । त्यसमध्ये काठमाडौं प्रहरीले ७२ जना, ललितपुरले १५ जना र भक्तपुरले १० जनालाई हाजिरी जवानीमा छाडेका छन् । बाँकीलाई मुद्दा चलाएको छ ।

काठमाडौं प्रहरीले विभिन्न ठाउँबाट हात हतियार खरखजानामा मुद्दामा २३ जनालाई पक्राउ गरेको थियो । मुगुका हिक्मत बुढा, जुम्लाका तपेन्द्र बुढा, भागवान बुढा र सर्मिला बुढा, उदयपुरका हिराबहादुर मगर, दोलखाका नबिन केसी, रिपक केसी, कैलालीका जीवेश सापकोटा, आवास चन्द, समिर खड्का, हिमाल आचार्य, रोहित राउत छन् । त्यस्तै रामेछापका निरोज कार्की, काभ्रेका इसाक बयालकोटी, काठमाडौंका अनमोल परियार, प्रेम थापा मगर र सिन्धुपाल्चोकका विजय तामाङ पक्राउ परेका थिए । उनीहरू सबैलाई प्रहरीले ‘माथिको आदेश’ भन्दै हाजिरी जमानीमा छाडेको थियो । हाल प्रहरीले सिन्धुपाल्चोकका उत्तम भुजेल र राजन भुजेल, धादिङका मदन तामाङ, सिन्धुलीका कुमार पाख्रिन,  खोटाङका शिवकुमार विक र रामेछापका लक्ष्मण श्रेष्ठलाई पक्राउ गरेको छ ।

प्रहरी मार्ने १० जना पक्राउ

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले तीनजना प्रहरीलाई कुटपीट गरी हत्या गरेका थिए । प्रहरी सहायक निरिक्षक मिलन राय, प्रहरी जवान उत्तम थापा र अमृत गुरुङलाई कुटीकुटी हत्या गरिएको थियो । यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये युवराज क्यापछाकी, होम प्रसाद पौडेल, सोनाम तामाङ र टीकाराम विक पूर्पक्षका लागि कारागार चलान भएका छन् । बाँकी अनुपम भण्डारी, सुमित तितुङ, दीपक मगर, सोम गुरुङ, राजीव गुरुङ र युनिक श्रेष्ठमाथि अनुसन्धान भइरहेको छ ।

गृहमन्त्रीको आदेशमा ४९ जना छुटे

सिंहदबार, अदालतसँगै प्रहरीका कार्यालय जलाएको आरोपमा प्रहरीले पक्राउ गरेका ४९ जना गृहमन्त्री ओम प्रकाश अर्यालको आदेशमा हाजिरी जमानीमा छुटेका छन् । हातहतियार खरखजाना, चोरी र आपराधिक उपद्रवका आरोपीहरू छुटेका हुन् ।

रुपन्देहीका रामन अर्याल, सर्लाहीका समिर तामाङ, रामेछापाका सुनिल घिसिङ, रौतहटका ललन गिरी, वीरबहादुर घिसिङ, काभ्रेका सोमप्रसाद खनाल, दोलखाका लक्ष्मण थामी, काठमाडौंका आशिश गुरुङ, कुशुम लामा, उत्कर्ष श्रेष्ठ, नरेन्द्र महर्जन, सुदीप तामाङ, नवलपरासीका विष्णु कुमाल, सिन्धुपाल्चोकका प्रभाष तामाङ, जेरी तामाङ, भक्तपुरका उमर पुतुवार, रामेछापका उत्सव मगर, झापाकी ज्योति थापा मगर, अमिर पोख्रेल, दोलखाका रन्जेन्द्र महत, मोरङका सुजन शाह, ओलढुंगाका सुशील ढुंगाना र बझाङका टेकेन्द्रबहादुर बोहरा गत असोज ८ गते हाजिरी जमानीमा छुटेका हुन् ।

त्यस्तै, एउटै मितिमा हाजिरी जमानीमा छुट्नेमा रौतहटका अन्सुकुमार गुप्ता, लक्कीबाबु जैसवाल, सारौव यादव, धनुषाका अजयकुमार साह, सप्तरीका देवराह राय, सिन्धुलीका कुमार रोक्का, देवराज लामा, काभ्रेका गणेश गिरी, नुवाकोटका सुरेश रोक्का, खोटाङका नरेन्द्र राई, मोरङका कमल शंकर र सुनसरीका जीवन राई छन् ।

प्रहरी स्रोतका अनुसार असोज १० गते नै सिन्धुपाल्चोकका ईश्वर सुनार, धनबहादुर तामाङ, हरि थापा, काभ्रेका सुविन तामाङ, काठमाडौंका सचिन खड्का, सजन तामाङ, सुरेश वाईबा, सुस्मिता फुयाँल, खोटाङका मनोज राई, पाल्पाका विवेक बस्नेत, सिरहाका राजुल कुमार महतो र डडेल्धुराका मनोज ऐर हाजिरी जमानीमा छुटेका थिए ।

हाल पक्राउ परेका सिन्धुलीका रिफल रमैली मगर, राहुल बोगटी, बझाङका हमेन्त बोहरा र बैतडीका विशाल सिंह कार्की, बैतडीका दीपक बोहरा, उदयपुरका सरोज पौडेल, काभ्रेका राजकुमर तामाङ, सोलुखुम्बुका निशान खड्का, ओखलढुंगाका पवन बानिया, ललितपुरका राजु परियार, दोलखाका गौतम घिसिङ, काठमाडौंका सानुकान्छा वाइवा, मकवानपुरका प्रकाश दाहाल, दोलखाका तीर्थमान तामाङ र कञ्चपुरका भुवन शाहीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हिरासतबाट छाडेका र भागेका ७ जना मात्रै पक्राउ

भदौ २४ गते आन्दोलनकारीले धमाधम प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि काठमाडौंका प्रहरी इकाइबाट अधिकांश थुनवालाई छाडिएको थियो । केही भने त्यही मौकामा भागेका थिए । हालसम्म प्रहरीले सात जना थुनवालाई मात्रै पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचारले ज्यान मार्ने उद्योगका कार्लेश शेर्पा, शंकर बोगटी, अभद्र व्यवहार मुद्दाका विवेश श्रेष्ठलाई पक्राउ गरेको छ । त्यस्तै, प्रहरी वृत्त थानकोटकाले चोरी मुद्दाका निरज शाक्य, लागुऔषध मुद्दाका अमन यादव, पार्वती मगर र बानेश्वर वृत्तले चोरी मुद्दाका सरोज भुजेललाई पक्राउ गरेको छ ।

पक्राउ परेका अधिकांश पटके

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार जेनजी आन्दोलनमा पक्राउ परेका अधिकांश पटके अपराधी हुन् । प्रहरीका हतियार लुट्ने, कार्यालय अगजनी गर्ने र सार्वजनिक सम्पत्तिहरू सिंहदबार, सर्वोच्च अदालत र संसदमा आगो लगाउनेलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।

‘हामीले अधिकांशको अपराध तथ्यांक अभिलेख (सीआरएस) हेर्दा पटके अपराधी रहेको पाइयो,’ थापाले लोकान्तरसँग भने, ‘साँच्चीकै जेनजी भनिएकाहरू त आन्दोलनमा घुसपैठ भएको थाहा पाएपछि पाखा लागेका थिए ।’

salt training

कमेन्ट गर्नुहोस्