२९ असार २०८३, सोमबार

सांगीतिक व्यस्ततामाझ सुजाताको ज्यान बचाउने अभियानमा प्रमोद

कात्तिक २०, २०७४
सांगीतिक व्यस्ततामाझ सुजाताको ज्यान बचाउने अभियानमा प्रमोद
‘म विना कसैकसैलाई मुश्किल छ पोखरामा...’

प्रमोद खरेलको यो गीत नसुन्ने त कमै होलान् । पोखरा तथा पोखराबाहिरका लाखौं श्रोताले मन पराएको यो गीतले प्रमोद खरेलको गीती यात्रामा अग्लो परिचय थप्यो ।

‘ओए झुम्कावाली’, ‘चल् बतास चल्’, ‘छुट्टिएर तिमीसँग’ लगायतका दर्जनौं चर्चित गीत गाएका गायक प्रमोद खरेल यतिबेला देशभर हुने विभिन्न सांगीतिक महोत्सवमा व्यस्त छन् । अनि आफ्ना गीत लोकप्रिय भएसँगै खरेल पछिल्लो समय सामाजिक कार्यमा समेत लागिपरेका छन् ।

भूकम्पप्रभावित जिल्ला दोलखामा केही समयअघि बालबालिकाका लागि प्राथमिक विद्यालय निर्माणमा जुटेपछि धेरै फ्यानले उनलाई धन्यवाद दिए । समाजका लागि काम गर्दा पाएको स्याबासीले उनलाई खुशी मिल्यो । ‘गीत संगीत त आफ्नो ठाउँमा छ नै । अरूलाई साथ दिँदा पाइने सहयोगले धेरै आत्मसन्तुष्टि दिन्छ,’ उनी सुनाउँछन् ।
सामाजिक सञ्जाल फेसबूक तथा ट्विटरमा निरन्तर रूपमा उपस्थिति जनाइरहने खरेललाई एकदिन उनका फलोअरले ट्विटरमार्फत आफ्नो घरछेउकी बहिनीको ‘बोन म्यारो ड्यामेज’ भएर आर्थिक अभावका कारण उपचार गर्न नसकेको जानकारी गराए ।

साथै ती युवतीका परिवारको आर्थिक स्थिति कमजोर भएकाले सहयोग जुटाउन आग्रह पनि गरे ती युवाले । यो कुराले फेरि अर्कोपटक खरेललाई आफ्नो सामाजिक जिम्मेवारीको बोध गरायो ।

देश तथा विदेशका विभिन्न कन्सर्टमा व्यस्त खरेलसँग समाजसेवाका लागि पर्याप्त समय थिएन । तर उनलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले भित्रदेखि नै कुतकुत्यायो । उनी ती बहिनीको सहयोगका लागि जुटे ।

झापाको पृथ्वीनगरस्थित आफ्नै घरछेउकी २२ वर्षीया युवती सुजाता सुवेदीको बोन म्यारो ड्यामेज भएको थाहा पाएपछि उनलाई बचाउने अभियान थाल्ने सोचसहित हास्यकलाकार मनोज गजुरेल, झापाकै नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मासँगको सहकार्यमा सुजाताको नाममा खाता खोले । शुरुमा खरेल, गजुरेल र शर्माको संयुक्त प्रयासस्वरूप खातामा ११ हजार उठाएर आफ्नो खाता खोले । त्यसपछि उनीहरूको रकम जम्मा गर्ने प्रयास निरन्तर रूपमा रहिरह्यो ।

सामाजिक सञ्जालमार्फत उनीहरूले सहयोगका लागि आग्रह गरे । उनको कामलाई फ्यानहरूले समेत सहयोग गरे ।
‘तपार्इं हाम्रो सानो सहयोगले बहिनीको जीवन जोगिन्छ भने हामी उनको सहयोगका लागि किन नलाग्ने ?’ उनले लोकान्तरसँग भने, ‘देश तथा विदेशमा बस्ने साथीहरूले हामीलाई सहयोग गरिरहनुभएको छ । कसैले त सहयोग जुटाएर बहिनीका परिवारकै हातमा पनि थमाउनुभएको छ ।’

डाक्टरको भनाइ उद्धृत गर्दै खरेलले सुजाता सुवेदीको उपचार गर्न कम्तीमा पनि २५ लाख लाग्ने बताउँछन् । ‘उनको औषधी खर्च नै महंगो छ । एउटै सुईलाई २८ हजार ५ सय पर्छ ।’ धेरै पैसा लाग्ने भएकाले चाहिएजति पैसा उठ्न नसकेको उनी बताउँछन् ।

निरन्तर रूपमा भइरहने स्टेज कार्यक्रमले उनलाई समय मिलाउन गाह्रो परेको छ । तैपनि खरेललाई ती बिरामीको अवस्थाले छटपटी हुन्छ र समय समयमा हस्पिटल पुगिरहेका हुन्छन् ।

फ्यानहरूलाई समेत आफूले गर्न खोजेको सामाजिक कामबाट केही न केही सकारात्मक सन्देश फैलिएको छ कि भन्ने उनलाई लागेको छ । उनले गरेको सहयोगको तारिफ गरेर आफ्ना फ्यानहरूले दिने प्रतिक्रियाले आफूलाई अझ हौसला बढाएको बताउँदै भन्छन्, ‘नागरिकले आफ्नो जिम्मेवारी कुनै न कुनै रूपमा निर्वाह गर्नुपर्छ । यो हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो ।’

सरकारको तर्फबाट आम नागरिकका लागि कुनै सहयोग नपाइनु विडम्बना भएको बताउँछन् खरेल । भन्छन्, ‘कुनै नेता बिरामी परेको भए विदेश लैजान्थे । तर हामी आम नागरिकको उपचारका लागि नागरिकको नै सहयोगको आशा हुन्छ ।’
‘सुजाता बचाऔं अभियान’ का लागि देश तथा विदेशबाट सहयोग आइरहेको समेत उनी बताउँछन् । नेपाल तथा विदेशमा रहेका नेपालीले सहयोग गरिरहेका छन् । अहिले सुजाताको छातीमा समेत समस्या देखिएकाले उपचारमा अझ धेरै खर्च लाग्ने खरेल बताउँछन् । ‘हामीले सहयोग जुटाउने प्रयास गरिरहेका छौं,’ उनी थप्छन्, ‘एक दिन उनी निको हुनेछिन् । धन्यवाद भन्नेछिन् । हाम्रा लागि उनले नयाँ जीवन पाउनु नै भाग्यको कुरा हो ।’

व्यस्तताका बाबजुद खरेल दुईवटा नयाँ गीत ल्याउने तयारीमा लागेका छन् । ‘श्रोताहरूले छिट्टै मेरो नयाँ गीत सुन्न पाउनुहुनेछ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्