
दाङको घोराही उपमहानगरपालिका-१५ स्थित पद्यमोदय पब्लिक नमूना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोबिल छर्किने वडा सदस्य पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन् ।
उनले असार २७ गते बिहान निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत ४८ वर्षीय अजय बोहोराले चलाएको रा १ ब १०४२ नम्बरको मोटरसाइकल रोकी उनको शरीरमा मोबिल छर्किएका थिए ।
घटनापछि बुढाथोकी फरार रहेका थिए ।
सोही घटनामा अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा २०८३ असार २८ गते मुद्दा दर्ता भएको थियो ।
त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै असार २९ गते घोराही उपमहानगरपालिका-१५ बाट लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।