
संयुक्त अरब इमिरेट्स (यूएई) का दुईवटा तेल ट्यांकरमाथि इरानले गरेको मिसाइल आक्रमणमा परी एक जना भारतीय चालक दलका सदस्य (क्रू मेम्बर) को मृत्यु भएको छ। मंगलबार भएको भीषण आक्रमणमा ६ जना भारतीयसहित अन्य आठ जना घाइते भएका छन् ।
आक्रमणपछि यूएईस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै भारतीय नागरिकको निधनप्रति गहिरो दुःख व्यक्त गरेको बीबीसीले जनाएको छ । दूतावासले भनेको छ, 'दुईवटा जहाजमा भएको आक्रमणमा एक भारतीय नाविकको दुःखद मृत्यु भएकोमा हामी गहिरो शोक व्यक्त गर्दछौँ। हामी परिस्थितिलाई निरन्तर नजिकबाट नियालिरहेका छौँ र घाइते तथा उनीहरूका परिवारलाई हरसम्भव सहयोग उपलब्ध गराउन स्थानीय अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौँ।'
यूएईको रक्षा मन्त्रालयका अनुसार ओमानको समुद्री क्षेत्रमा पर्ने हर्मूझ स्ट्रेटको दक्षिणी हिस्सेमा इरानले प्रहार गरेका दुईवटा क्रुज मिसाइलले यूएईका 'मोम्बासा' र 'अल बहिया' नामक तेल ट्याङ्करलाई निशाना बनाएका थिए।
मन्त्रालयले दिएको जानकारीअनुसार 'मोम्बासा' ट्याङ्करमा कार्यरत एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका अन्य आठ जनामध्ये ६ जना भारतीय र दुई जना युक्रेनी नागरिक रहेका छन्।
घाइतेहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। मिसाइल प्रहारका कारण दुवै ट्याङ्करमा ठुलो क्षति पुग्नुका साथै आगलागी समेत भएको थियो, जसलाई पछि नियन्त्रणमा लिइएको थियो ।