
एकदिवसीय महिला विश्वकपको उपाधि भारतले जितेको छ । नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा गएराति सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतीय महिला टोली पहिलोपटक च्याम्पियन बनेको हो । यो भारतको महिला सिनियर टोलीको कुनै पनि ढाँचामा पहिलो आईसीसी ट्रफी हो ।
२९९ रनको ठूलो लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.३ ओभरमा २४६ रनमा अलआउट भयो । कप्तान लौरा वोल्वार्डले लगातार दोस्रो शतक प्रहार गरिन्, तर टोलीलाई जीत दिलाउन भने सकिनन् ।
भारतकी दीप्ती शर्माले पाँच विकेट लिइन् । दीप्तीले ९.३ ओभरमा ३९ रन दिएर पाँच विकेट हात पारेकी हुन् । दीप्तीलाई प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित गरियो । अफ-स्पिनर शफाली वर्माले दुई विकेट हात पारिन् ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा सात विकेट गुमाएर २९८ रन बनाएको थियो । भारतका लागि शेफाली बर्माले ८७ र दीप्ती शर्माले ५८ रन बनाइन् ।
भारतले १९७८ मा पहिलो महिला विश्वकप खेलेको थियो । यसअघि एक पनि आईसीसी ट्रफी जितेको थिएन । गएराति ४७ वर्षको खडेरी समाप्त गरेको हो । यसअघि २००५, २०१७ को एकदिवसीय विश्वकप र २०२० को टी-२० विश्वकपमा भारतीय महिला टोली उपविजेता बनेको थियो ।
भारतले यस विश्वकपमा नौ खेल खेलेको थियो । टोलीले लगातार तीन हारबाट पुनरागमन गर्दै फाइनल यात्रा तय गरेको थियो । भारतले चार खेल जितेको थियो र चार खेल हारेको थियो, जसमध्ये एक खेल बराबरीमा सकिएको थियो ।
विश्वकप ५२ वर्षअघि शुरू भएको हो । त्यतिबेला भारतले भाग लिएको थिएन । भारतीय सञ्चार माध्यमहरूका अनुसार १९७८ मा, भारत महिला टोलीले डायना एडुलजीको कप्तानीमा पहिलोपटक प्रतियोगितामा भाग लिएको थियो । त्यसबेलादेखि टोलीलाई पहिलो उपाधि जित्न ४७ वर्ष लागेको हो ।
२००५ मा, भारत पहिलोपटक फाइनलमा पुगेको थियो, तर अष्ट्रेलियासँग पराजित भयो । २०१७ मा, भारत इङ्ग्ल्याण्डसँग पराजित भयो । न्यूजील्याण्डले अन्तिमपटक २००० मा उपाधि जितेको थियो । यीबाहेक, अष्ट्रेलियाले सात पटक र इङ्ग्ल्याण्डले चारपटक जितेको छ ।
भारतले सिनियर र अन्डर-१९ स्तरमा आफ्नो १५औं आईसीसी उपाधि जितेको छ। पुरुष टोलीले दुई ओडीआई विश्वकप, दुई टी-२० विश्वकप र तीन च्याम्पियन्स ट्रफी जितेको छ । अन्डर-१९ स्तरमा, पुरुष टोलीले पाँच विश्वकप र महिला टोलीले दुई विश्वकप जितेको छ।
महिला सिनियर टोलीले आफ्नो पहिलो आइसीसी उपाधि ओडीआई विश्वकप जितेको छ, जसले भारतलाई १५औं आइसीसी ट्रफी दिएको हो । अष्ट्रेलियाले सबैभन्दा बढी २७ आइसीसी उपाधि जितेको छ।