
चीनले अमेरिकी सोयाबिन खरिद बढाउने निर्णय गरेपछि सोयाबिनको मूल्यमा सन् २०२० यताकै ठूलो मासिक वृद्धि भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको शिखर बैठकपछि बेइजिङले अमेरिकी कृषि वस्तुको खरिद बढाउने निर्णय गरेको हो ।
त्यसपछि चीनले कम्तीमा चारवटा अमेरिकी सोयाबिन कार्गो खरिद गरेको बताइएको छ, जसको ढुवानी यसै वर्षको उत्तरार्द्ध र सन् २०२६ को सुरुवातमा हुनेछ ।
ती कार्गोको कुल मात्रा करिब २ लाख ५० हजार टन रहेको छ । सोयाबिन प्यासिफिक नर्थवेस्ट र यूएस गल्फ बाट पठाइने जनाइएको छ ।
अमेरिकी कृषिमन्त्री ब्रुक रोलिन्सले बिहीबार सामाजिक सञ्जालमार्फत चीनले यस वर्ष कम्तीमा १ करोड २० लाख टन सोयाबिन खरिद गर्ने सहमति जनाएको जानकारी दिइन् ।
उनका अनुसार आगामी तीन वर्षभित्र यो परिमाण बढेर वार्षिक २ करोड ५० लाख टन पुग्नेछ ।
सिकागो बजारमा शुक्रबार सोयाबिन फ्युचर्स करिब १६ महिनापछि सबैभन्दा उच्च स्तरमा पुगेको थियो ।
यसैसँगै मासिक वृद्धि ११ प्रतिशत पुगेको छ । पछिल्ला हप्ताहरूमा व्यापारिक सम्बन्ध सुधारिने आशाले मूल्य निरन्तर बढ्दै आएको हो ।
ट्रम्पले भने, 'चीनले अविश्वसनीय मात्रामा खरिद गर्न सहमति जनाएको छ ।'
यो सम्झौताले मुद्रास्फीति र उच्च लागतका कारण प्रभावित अमेरिकी किसानलाई राहत दिने अपेक्षा गरिएको छ ।
पछिल्ला वर्षहरूमा चीनले अमेरिकी सोयाबिन किन्न बन्द गरी दक्षिण अमेरिकी देशहरूबाट खरिद बढाएको थियो । गत वर्ष चीनसँगको अमेरिकी सोयाबिन व्यापारको मूल्य १२ अर्ब डलरभन्दा बढी थियो ।
ट्रम्पले पत्रकारहरूलाई भने, 'हाम्रा किसानहरू अत्यन्त खुसी छन् । म उनीहरूलाई ठूला ट्र्याक्टर र थप जमिन किन्न सुझाव दिन्छु । यस्तो कुरा कहिल्यै भएको थिएन ।'
ट्रम्पका भोटरहरू प्राय: किसान र ग्रामीण क्षेत्रका बासिन्दा भएकाले पनि उनले सम्झौताका क्रममा यो विषयलाई बढी जोड दिएका हुन् ।
तर, विश्लेषकहरूले भनेका छन्, चीनको प्रतिबद्धताले केवल पहिलेको व्यापारिक स्तर पुनःस्थापना गर्ने संकेत गर्छ । ट्रम्पको पहिलो व्यापार युद्धपछि चीनले अमेरिकी कृषि वस्तुमाथिको निर्भरता घटाएर ब्राजिलबाट खरिद बढाएको थियो ।
शुक्रबार फ्युचर्स बजारमा केही उतारचढाव देखिएको थियो । कन्कस एजी कन्सल्टिङका विश्लेषक कार्ल सेट्जरका अनुसार, 'व्यापारीहरू चीनको प्रतिबद्धताबारे औपचारिक पुष्टि नहुँदासम्म ठूला कारोबार गर्न हिच्किचाइरहेका छन् ।'
चीनले यसै साताको शुरूमा पहिलोपटक अमेरिकी सोयाबिन कार्गो बूक गरेको थियो, जसले महिनौंदेखि रोकिएको खरिद पुनः शुरू गरेको संकेत दिएको छ । व्यापारीहरूले थप खरिद हुने आशा राखेका छन्, तर सम्झौताका सबै सर्तहरू पूरा हुनेमा केही शंका पनि व्यक्त गरेका छन् ।
स्टोनएक्सका प्रमुख कमोडिटी अर्थशास्त्री अर्लन सडरम्यानका अनुसार, 'चीन र अमेरिकाबीच तनाव केही कम भएकोमा सावधान आशावाद देखिन्छ, तर दुबै देशबीचका सबै मतभेद अझै समाधान भएका छैनन्, जसका कारण कुनै पनि बेला फेरि तनाव बढ्न सक्छ ।'
व्यापारी र प्रशोधनकर्ताहरूले चीनले यस वर्षको सुरुमा लागू गरेको अमेरिकी सोयाबिनमाथिको १० प्रतिशत अतिरिक्त शुल्क हटाउन सक्ने अनुमान गरेका छन् ।
यद्यपि, बेइजिङले यसबारे स्पष्ट घोषणा गरेको छैन । त्यो शुल्क घटे पनि अमेरिकी सोयाबिनमा अझै १३ प्रतिशत कर लाग्नेछ, जसले ब्राजिलका सोयाबिनसँग प्रतिस्पर्धा गर्न कठिन बनाउनेछ ।
स्रोतका अनुसार, हालसम्मका खरिदहरू चीनका सरकारी कम्पनीहरू जस्तै कफ्को ग्रुप मार्फत भएका हुन सक्छन् । थप खरिद हुने अपेक्षा गरिए पनि निजी प्रशोधन कम्पनीहरूले अझै अमेरिकी सोयाबिन खरिदमा रुचि देखाइरहेका छैनन्, किनभने उनीहरूलाई घाटा हुने डर छ । कफ्को ग्रुप ले यसबारे पठाइएका इमेलको कुनै प्रतिक्रिया दिएको छैन ।
शुक्रबार सोयाबिन फ्युचर्स ०.७ प्रतिशत बढेर प्रति बुशल ११.१५२५ डलरमा पुगेको थियो, यद्यपि सत्रको शुरूमा मूल्य ०.६ प्रतिशतले घटेको थियो ।
– ब्लुमबर्गको सहयोगमा