०५ साउन २०८३, मंगलबार

ज्ञानु राणाको पलेँटीमा धर्मराज थापाको झझल्को

कात्तिक १७, २०८२
काठमाडौं
ज्ञानु राणाको पलेँटीमा धर्मराज थापाको झझल्को

गत शुक्रबार र शनिबार साँझ कालिकास्थान स्थित नेपालयको ‘आर’शालामा प्रसिद्ध कण्ठ शिल्पी ज्ञानु राणाको कार्यक्रम भयो । झन्डै दुई घण्टासम्म चलेको सो कार्यक्रममा १६ वटा गीति रचना प्रस्तुत गरिएका थिए ।

कार्यक्रमलाई दुई खण्डमा बाँडेर प्रस्तुत गरिएको थियो । आध्यात्मिक जीवनशैली रुचाउने ज्ञानु राणाले आफ्नो कार्यक्रमको थालनी सरस्वती बन्दनाबाट गरेकी थिइन् ।

आजभन्दा ७७ वर्ष पहिले कास्कीको बाटुलेचौरमा जन्मेकी राणाले नेपाल र नेपाल बाहिरका विभिन्न भाषामा गीत गाएकी छन् ।

खासगरी लोकगीतमा आफ्नो गहिरो पहिचान बनाएकी ज्ञानुले धर्मराज थापाका धेरै रचनामा आफ्नो स्वर गुञ्जाएकी छन् ।

कार्यक्रमको दोस्रो र तेस्रो कोसेलीका रूपमा रूपमा ‘फूलबारी तिम्रै हो माया’ र ‘चौतारीमा मै बसे होला कि’ प्रस्तुत भएका थिए । 

कार्यक्रममा आफ्नो सांगीतिक यात्राको संस्मरण सुनाउँदै गीत सुनाइरहेकी राणाले ‘चौतारीमा मै बसे होला कि’ गीत भारतीय स्वर शिल्पी हेमलतासँग रेकर्ड गरेको सम्झना गरेकी थिइन् ।

कार्यक्रमको चौथो प्रस्तुतिका रूपमा अद्वितीय गायक नारायणगोपालसँग गाएको लोकप्रिय गीत ‘मान्छेको माया यहाँ’ प्रस्तुत गरिएको थियो । यस क्रममा उनले गीतकार राममान तृषित, सङ्गीतकार शिवशंकरलाई सम्झेकी थिइन् । ज्ञानु राणाले गाएका गीतहरूको सहगायनमा उनलाई पलेँटीका युवा गायक रूपक चौधरीले साथ दिएका थिए ।

गोपाल योञ्जनले ज्ञानु राणासँग गाएको गीत 'च्याङ्बा होइ च्याङ्बा' पनि प्रस्तुत गरिएको थियो  । यस गीतको प्रस्तुतिका क्रममा गोपाल योन्जनले आफूलाई तामाङनी जस्तै भएर गीत गाउन अनुरोध गरेको संस्मरण ज्ञानुले गरेकी थिइन् । उनको सिको गर्दै कार्यक्रममा सहगायन गरिरहेका रूपक चौधरीले तामाङ जस्तै लबजमा स्वर गुञ्जाइरहेका थिए ।

त्यसपछि ज्ञानु राणाले आफ्ना पिताजी धर्मराज थापाको सम्झना गर्दै आफ्नो पहिलो रेकर्डेड गीत सुनाएकी थिइन् । 'जाने कहाँ हो' बोलको सो गीत गाइसकेपछि उनी भन्दै थिइन्- 'हेर्नु त मैले १४ वर्षको उमेरमा बुवासँगै गएर रेडियोमा रेकर्ड गरेको थिएँ यो गीत । ओहो ! युग पो बितिसकेछ; झण्डै ६३-६४ वर्ष !’ भावुक देखिएकी उनी अगाडि भन्दै थिइन्- 'अझै गाइरहेको छु; सकुञ्जेल गाइरहन्छु ।'

उनको यो अभिव्यक्तिले दर्शकदीर्घामा तरङ्ग फैलिएको थियो । पहिलो चरण ज्ञानु राणाको सांगीतिक यात्राको चर्चामा केन्द्रित कार्यक्रम, दोस्रो चरणमा भने धर्मराज थापामाथि केन्द्रित भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्