
जेनजी आन्दोलनका क्रममा टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका अनलाइनसँग सम्बन्धित करोडौं रुपैयाँ ठगीका उजुरी जले ।
पीडितहरूले ठगीका उजुरी दिएपछि प्रहरीले खाता जाँच गर्न सम्बन्धित बैंकलाई पत्राचार गरेको थियो । तर, उजुरी नै जलेपछि पुन: फाइल खडा गरेर शुरूदेखि नै अनुसन्धान गर्ने तयारीमा प्रहरी जुटेको छ ।
पुराना फाइल खडा गर्ने चुनौतीका बीच नयाँ उजुरी पनि उत्तिकै परिरहेका छन् ।
पछिल्लो एक सातामा अनुसन्धान कार्यालयमा अनलाइन ठगीका २८ वटा उजुरी परिसके । अनलाइनमार्फत कुर्ता मगाएकी एक युवती आफू ठगिएको भन्दै आइतबार अनुसन्धान कार्यालय पुगेकी थिइन् ।
उनले प्रहरीलाई जानकारी गराएअनुसार सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘वुमन–कर्नर ०७’ नामको पेजमा गएर आफूलाई कुर्ता मन परेको भन्दै सम्पर्क गरिन् । उनले आफ्नो घरको लोकेसन पठाइन् ।
चन्द्रागिरि नगरपालिका– १२ स्थित गुर्जुधारा बस्ने ती युवतीलाई घरमै कुर्ता डेलिभरी गरिदिने भन्दै एक हजार आठ सय रुपैयाँ पठाउन बैंकको क्यूआर कोड पठाइयो ।
राकेश महतो नुनिया नाम गरेका व्यक्तिको बैंक खाताको क्यूआरमा ती युवतीले रकम पठाइदिइन् । रकम पाएलगत्तै नुनियाले ती युवतीलाई भिडियो कल गरेर रकम पठाएको स्क्रिनशट देखाउन भने । युवतीले क्यूआर नै पठाइदिइन् ।
‘तपाईंको रकम आउन ढिला हुन्छ जस्तो छ, म एउटा कोड पठाइदिन्छु, त्यसमा हाल्नू, दोहोरिएर आयो भने पछि फिर्ता गरौँला,’ ती व्यक्तिले भने ।
युवतीलाई एउटा लिंकसँगै ६९४३.०० कोड पठाइयो । उक्त नम्बर हाल्नेबित्तिकै उनको खातामा रहेको ६ हजार ९ सय ४३ रुपैयाँ स्क्यामरले तानिहाले ।
आफ्नो खाताबाट रकम गायब भएलगत्तै युवतीले इन्स्ट्राग्राममार्फत सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । पछि मात्रै युवतीले थाहा पाइन्, नुनियाले अरूको पसलको नाममा इन्स्ट्राग्राम खोलेर ठगी गर्दै आएका रहेछन् ।
युवतीको उजुरीअनुसार अनुसन्धान कार्यालयले स्क्यामरले खोलेको खाता रोक्काका लागि सम्बन्धित बैंकमा पत्राचार गरेको छ ।
यस्तै, घटना बल्खुकी एक युवतीले पनि भोगेकी छिन् । उनी ब्याग खरिदका लागि सोही इन्स्ट्राग्राम आईडीको सम्पर्कमा पुगिन् ।
ब्यागको मूल्य ६ हजार सात सय रुपैयाँ अंकित थियो । गुर्जुधाराकी युवतीलाई जस्तै स्क्यामरले पैसा पठाउन भने । युवतीले पठाइदिन् । पैसा आउन ढिलो भयो भन्दै उनलाई स्क्यामरले १७००२३.०० नम्बरको कोड पठाए ।
स्क्यामरले पठाएको लिंकमा उक्त कोड राखेर सेन्ट गर्ने बित्तिकै युवतीको खातामा रहेको एक लाख ७० हजार रुपैयाँ स्क्यामरले तानेर लगे ।
स्क्यामरले कसैलाई ब्याग, कसैलाई कुर्ता, कसैलाई मेकअप किट्सका नाममा यसैगरी खाताबाट रकम चोरी गर्दै आएका उजुरी अनुसन्धान कार्यालयमा परेका छन् ।
हालसम्म यस्तै खालका उजुरीमा पीडितहरू ठगिएको रकम ४० लाखभन्दा माथि पुगेको छ । ‘हेर्दा रकम थोरै देखिएपनि प्रहरीमा कतिपयले लाजले उजुरी नगर्दा ठगिनेको संख्या अझै धेरै हुनसक्छ,’ अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले लोकान्तरसँग भने, ‘क्यानडा पठाइदिने भन्दै स्क्यामरले एकै व्यक्तिबाट दुई करोड रुपैयाँ ठगी गरेका छन् ।’
अनुसन्धान कार्यालयमा सोमबार जनकपुरका एक जना उजुरी लिएर पुगेका थिए । उनले मलेसिया जानका लागि एउटा म्यानपावरसँग सम्पर्क गरेका थिए ।
गौशलास्थित एक गेस्ट हाउसमा आएर बसे । मलेसियामा वर्किङ भिसाका लागि दुई लाख रुपैयाँ लाग्ने भन्दै उनलाई पैसाको जोहो गर्न भनियो । उनको भिसा पनि लाग्यो ।
गाउँ पुगेर विदेश जान बिदा भई आउने भन्दै उनी जनकपुर लागे । जनकपुर पुगेर उनले आफूले राम्रो म्यानपावर चिनेको भन्दै साथीभाइसँग खुसी साटे । १४ जना साथी पनि मलेसियामा जान आतुर देखिए । भटाभट उनलाई २८ लाख रुपैयाँ खातामा हालिदिए ।
उनले म्यानपावरका भनिएका व्यक्तिको खातामा उक्त रकम ट्रान्सफर गरिदिए । डकुमेन्ट बुझाउन उनी गौशाला पुग्दा न म्यानपावरको कार्यालय थियो, न ती सम्पर्क व्यक्ति नै सम्पर्कमा आए । अहिले जनकपुरका साथीहरूले उनलाई जसरी पनि पैसा फिर्ता चाहियो भन्दै घेरिरहेका छन् ।
बैंकमै पैसा ट्रान्सफर गरेकाले खातावाललाई पक्राउ गर्न सके स्क्यामरको गिरोहसम्म पुग्न सकिने आश्वासन प्रहरीले उनलाई दिएको छ ।
एसपी आचार्यले भने, ‘ठगीका नयाँ–नयाँ जुक्ति समात्दै स्क्यामरहरूले सर्वसाधारणलाई ठगी गर्दै आएका छन् ।’