
विश्व क्रिकेटका केही चर्चित खेलाडीको सहभागिताका कारण पहिलो संस्करणबाटै अन्तर्राष्ट्रिय रूपमा गतिलो चर्चा बटुल्न सफल फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण शुरू हुन अब दुई साता मात्र बाँकी छ ।
दोस्रो संस्करणको मिति नजिकिएसँगै क्रिकेट पारखीहरूमा दोस्रो संस्करण खेल्ने विदेशी खेलाडीहरूको बारेमा चर्चा–परिचर्चा शुरू भएको छ । पहिलो संस्करणको सफलतासँगै अधिकांश क्रिकेटप्रेमीले दोस्रो संस्करणमा चर्चित खेलाडीहरूको सहभागिता रहने अनुमान गरेका थिए ।
त्यसैले दोस्रो संस्करण शुरू हुनुअघि क्रिकेटप्रेमीको आँखा एनपीएल टोलीहरूले भित्र्याउने विदेशी खेलाडीमा केन्द्रीत हुनु स्वभाविक हो । सहभागी टोलीले मार्की खेलाडी र अक्सनमार्फत खरिद गर्ने खेलाडीहरूको टुङ्गो भने यसअघि नै लगाइसकेका छन् ।
एनपीएलको दोस्रो संस्करण मंसीर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ । यसपटक पनि प्रतियोगितामा पहिलो संस्करण खेलेका आठवटै टोलीको सहभागिता रहने छ ।
एनपीएलको दोस्रो संस्करणमा सहभागी हुने टोली विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, काठमान्डु गुर्खाज, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् ।
प्रत्येक क्लबले चार–चारजना विदेशी खेलाडीलाई एकसाथ खेलाउन पाउने प्रावधान छ । सोही अनुरूप विभिन्न टोलीले हालसम्म २५ जना खेलाडीलाई अनुबन्ध गरिसकेका छन् । तर, हालसम्म दोस्रो संस्करणमा एक–दुईबाहेक नयाँ चर्चित नाम भने देखिएको छैन ।
काठमान्डु गुर्खाजले दोस्रो संस्करणका लागि पाँचजना विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ ।
काठमान्डु गुर्खाज पाँचजना विदेशी खेलाडी अनुबन्ध गर्ने एक मात्र क्लब हो । चितवन राइनोज, विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सले पनि चार–चारजना विदेशी खेलाडी भित्राइसकेका छन् ।
००००
चितवन राइनोज
चितवन राइनोजले पहिलो संस्करण खेलेका दुई खेलाडीलाई नै दोस्रो संस्करणका लागि पनि टोलीमा अनुबन्ध गरेको छ ।
पहिलो संस्करणसमेत खेलेका पाकिस्तानका सोहेल तनवीर र इङ्ल्यान्डका रवी बोपरालाई चितवन राइनोजले पुन: टोलमा आबद्ध गरेको हो । चितवन राइनोजले दोस्रो संस्करणका लागि इङ्ल्यान्डका डेभिड मलान र युगान्डाका अलराउन्डर अल्पेश रामजानीलाई पनि भित्र्याएको छ ।
चितवन राइनोज अघिल्लो संस्करणमा एलिमिनेटर चरणमा कर्णाली याक्ससँग २१ रनले पराजित भएको थियो । अघिल्लो सिजन चितवन राइनोजलाई तालिकाको तेस्रो स्थानमा उभ्याउँदै प्ले–अफ चरणमा प्रवेश गराउन बोपरा र तनवीरको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० गरी तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका ४० वर्षीय ब्याटिङ अलराउन्डर बोपरा अघिल्लो सिजनको एनपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा थिए ।

बोपराले आठ खेलमा कुल दुई सय ८६ रन बनाएका थिए । यसक्रममा उनले तीनवटा अर्धशतक प्रहार गरेका थिए । पाकिस्तानी खेलाडी तनवीर पनि सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा थिए । उनले आठ खेलमा कुल १४ विकेट लिएका थिए ।
४० वर्षीय तनवीरले पनि पाकिस्तानको राष्ट्रिय टोलीबाट तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै अब्बल प्रदर्शन गरेका छन् । ३८ वर्षीय मलान पनि अस्ट्रेलियाका ब्याटिङ अलराउन्डर हुन् । उनीसँग पनि अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट तीनवटै ढाँचाको क्रिकेट खेलेको अनुभव छ ।
३१ वर्षीय अल्पेश रामजानी भने युगान्डाका अलराउन्डर खेलाडी हुन् । उनले युगान्डाको राष्ट्रिय टोलीबाट ६५ टी–२० अन्तर्राष्ट्रिय खेल्दै एक सय दुई विकेट लिएका छन् । उनले युगान्डका लागि आठ सय ५० टी–२० अन्तर्राष्ट्रिय रन पनि बनाएका छन् ।
००००
काठमान्डु गुर्खाज
काठमान्डु गुर्खाजले एनपीएलको दोस्रो संस्करणका लागि पाँचजना विदेशी खेलाडी भित्र्याइसकेको छ । काठमान्डु गुर्खाजले पहिलो विदेशी खेलाडीका रूपमा विकेटकिपर ब्याट्सम्यान रिकार्डो भास्कोन्सेलोसलाई टोलीमा भित्र्याएको थियो ।
दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो हाल इङ्ल्यान्डको घरेलु क्रिकेट खेल्छन् । रिकार्डोले दक्षिण अफ्रिकाको यू–१९ राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् । उनले दक्षिण अफ्रिकाको घरेलु क्रिकटमा बोल्यान्डबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनी हाल नर्थएम्टनसायरबाट इङ्ल्यान्डमा काउन्टी क्रिकेट खेल्छन् ।
काठमान्डु गुर्खाजले अमेरिकाका ब्याटिङ अलराउन्डर मिलिन्द कुमारलाई पनि भित्र्याएको छ । पछिल्लो समय मिलिन्द उत्कृष्ट लयमा छन् । हाल दुबईमा जारी नेपाल सम्मिलित आईसीसी विश्वकप लिग–२ क्रिकेटमा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
३४ वर्षीय मिलिन्दले दिल्लीबाट सन् २०११ मा रणजी ट्रफीमा ‘डेब्यू’ गरेका थिए । त्यसपछि उनले सिक्किम र त्रिपुराबाट भारतको घरेलु क्रिकेटमा खेलेका थिए । मिलिन्द दुईपटक इन्डियन प्रिमियर लिगको टोलीमा थिए ।
सन् २०१४ मा दिल्ली डेयरडेभिल्सले १० लाख र सन् २०१९ मा रोयल च्यालेन्जर्स बेङ्लोरले बेस प्राइस २० लाखमा उनलाई लिएको थियो । तर, उनले आईपीएलमा खेल्ने अवसर भने पाएका थिएनन् ।
काठमान्डु गोर्खाजले भित्र्याएका अर्का विदेशी खेलाडी नामिबियाका कप्तान जेरहार्ड इरास्मस हुन् । ३० वर्षीय जेरहार्ड प्रभावशाली ब्याटिङ अलराउन्डर हुन् । उनले नामिबियाका लागि ६३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल दुई हजार एक सय ७८ रन बनाएका छन् ।
जेरहार्डले ७७ टी–२० अन्तर्राष्ट्रियमा एक हजार आठ सय ३३ रन बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ५३ र टी–२० अन्तर्राष्ट्रियमा ५८ विकेट पनि लिएका छन् ।
काठमान्डु गोर्खाजले चौथो विदेशी खेलाडीको रुपमा बेन चार्ल्सवर्थलाई भित्र्याएको छ । देव्रेहातले ब्याटिङ र दाहिने हातले बलिङ गर्ने २४ वर्षीय अलराउन्डर बेन ग्लोसेस्टरसायरबाट इङ्लिस काउन्टी क्रिकेट खेल्छन् ।
चार्ल्सवर्थले १७ वर्षको उमेरमा ग्लोसेस्टरसायरबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । त्यसयता उनले निरन्तर सोही टोलीबाट काउन्टी खेल्दै आएका छन् । उनले टोलीका लागि ५७ खेलमा ३१ माथिको औसतमा कुल दुई हजार सात सय ५४ रन बनाएका छन् ।
उनले ३० विकेट पनि लिएका छन् । इङल्यान्डको यू–१९ राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका चार्ल्सवर्थ गत सिजनको यूएईको आईएल टी–२० मा पनि मुम्बई इन्डियन्स इमिरेट्सको टोलीमा सहभागी रहेका थिए ।
काठमाडान्डु गुर्खाजले पाँचौँ विदेशी खेलाडीका रुपमा जोहान सिम्पसनलाई भित्र्याएको छ । उनी इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् । ३७ वर्षीय सिम्पसनले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् ।
सन् २०२१ मा खेलिएको पाकिस्तानविरुद्धको एकदिवसीय शृंखलामा उनी इङ्ल्यान्डको टोलीमा थिए । लर्डसमा खेलिएको पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा उनले १७ रन बनाएका थिए । उक्त खेलमा उनले पाँचवटा क्याच पनि लिएका थिए ।
‘देब्रेहाते विकेटकिपर ब्याट्सम्यान जोहान सिम्पसन क्षमतावान खेलाडी हुन् । उनले काउन्टीमा वर्षौँदेखि एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनको आगमनले हामी पनि निकै उत्साही छौँ,’ काठमान्डु गुर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाईले भनेका छन् ।
सिम्पसनले इङ्ल्यान्डको घरेलु क्रिकेटमा पाँच सय ४२ खेलमा १६ हजार पाँच सयभन्दा बढि रन बनाएका छन् । उनले दुई सय २९ प्रथम श्रेणीका खेलमा १९ शतकसहित ११ हजार तीन सय ५१ रन बनाएका छन् । सेप्टेम्बरको अन्तिम सातामा उनले ससेक्सको कप्तानी गर्दै वोरसेस्टरसायरविरुद्ध प्रथम श्रेणी क्रिकेटमा अविजित एक सय २९ रन बनाएका थिए ।
००००
विराटनगर किङ्स
विराटनगर किङ्सले एनपीएलको दोस्रो संस्करणका लागि चारैजना विदेशी खेलाडी भित्र्याएको छ । विराटनगर किङ्सले भित्र्याएको सबैभन्दा ठूलो नाम फाफ डु प्लेसिस हो । आगामी सिजनको एनपीएलका लागि भित्रिने उनी हालसम्मकै सबैभन्दा प्रभावशाली क्रिकेटर पनि हुन् ।
दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका निकै चर्चित खेलाडी पनि हुन् । उनी दक्षिण अफ्रिकी टोलीका पूर्वकप्तान पनि हुन् । ४१ वर्षीय ब्याट्सम्यान फाफ डु प्लेसिससँग इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई नेतृत्व गरेको अनुभव पनि छ ।
उनको अनुभव र नेतृत्वले टोलीलाई अझ बलियो बनाउने विश्वास विराटनगर किङ्सले लिएको छ । ‘फाफ डु प्लेसिसजस्ता विश्वस्तरीय खेलाडी आउनु विराटनगर किङ्स र एनपीएलकै लागि पनि गर्वको कुरा हो,’ विराटनगर किङ्सका टोली निर्देशक दीपेन्द्र चौधरी भन्छन् ।
फाफ डु प्लेसिसले दक्षिण अफ्रिकाका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनी दक्षिण अफ्रिकाका लागि १० हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले ६९ टेस्टमा चार हजार एक सय ६३ रन बनाएका छन् ।
एक सय ४३ एकदिवसीय अन्तर्राष्ट्रियमा उनले पाँच हजार पाँच सय सात रन जोडेका छन् । ५० टी–२० अन्तर्राष्ट्रियमा उनले एक हजार पाँच सय २८ रन बनाएका छन् । उनले टेस्टमा १० शतक र २१ अर्धशतक, एकदिवसीयमा १२ शतक र ३५ अर्धशतक तथा टी–२० अन्तर्राष्ट्रियमा एक शतक र १० अर्धशतक बनाएका छन् ।

विराटनगर किङ्सले स्कटल्यान्डका आक्रामक ब्याट्सम्यान जर्ज मुन्सीलाई पनि एनपीएलको दोस्रो संस्करणका लागि टोलीमा आबद्ध गरेको छ । ३२ वर्षीय ब्याट्सम्यान मुन्सीलाई विराटनगरले पहिलो विदेशी खेलाडीको रूपमा भित्र्याएको थियो ।
मुन्सीले स्कटल्यान्डका लागि ८१ टी–२० अन्तर्राष्ट्रिय खेलमा दुई हजार तीन सय दुई रन बनाएका छन् । यसक्रममा उनले दुई शतक र १३ वटा अर्धशतक पनि प्रहार गरेका छन् । स्कटल्यान्डको राष्ट्रिय टोलीबाहेक उनले विभिन्न फ्रेन्चाइज लिग पनि खेलेका छन् ।
विराटनगर किङ्सले न्युजिल्यान्डका प्रभावशाली क्रिकेटर मार्टिन गप्टिललाई पनि दोस्रो संस्करणका लागि पुन: टोलीमा आबद्ध गरेको छ । ३९ वर्षीय गप्टिलले अघिल्लो सिजनको एनपीएल पनि विराटनगर किङ्सबाटै खेलेका थिए ।
प्रभावशाली ब्याटिङ अलराउन्डर गप्टिलले अघिल्लो सिजन ६ खेल खेल्दै एक अर्धशतकका मद्दतले कुल एक सय ३७ रन बनाएका थिए । उनले न्युजिल्यान्डका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।
गप्टिल न्युजिल्यान्डका लागि १३ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यान हुन् । उनले ४७ टेस्ट क्रिकेटमा तीन शतक र १७ अर्धशतकको मद्दतले कुल दुई हजार पाँच सय ८६ रन बनाएका छन् ।
गप्टिलले एक सय ९८ एकदिवसीय अन्तर्राष्ट्रियमा १८ शतक र ३९ अर्धशतकको मद्दतले कुल सात हजार तीन सय ४६ रन बनाएका छन् । यसका अतिरिक्त, उनले एक सय २२ टी–२० अन्तर्राष्ट्रियमा दुई शतक र २० अर्धशतकको मद्दतले कुल तीन हजार पाँच सय ३१ रन बनाएका छन् ।
गप्टिलसँग मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, इस्लामाबाद युनाइटेड, बार्बाडस ट्रिडेन्ट्स, डर्बिसियर, कराँची किङ्स, सारजहाँ वारियर्स, ट्रिनबागो नाइट राइडर्सलगायतका क्लबहरूबाट विश्वभरको फ्रेन्चाइज प्रतियोगिता खेलेको अनुभव पनि छ ।
विराटनगर किङ्सले दोस्रो संस्करणका लागि अस्ट्रेलियाका ब्याट्सम्यान साम हिजलेटलाई पनि टोलीमा आबद्ध गरेको छ । ३० वर्षीय हिजलेट ब्याट्सम्यान हुन् । उनले अस्ट्रेलियाको सिनियर राष्ट्रिय टोलीबाट भने एउटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन् ।
बायाँहाते ब्याट्सम्यान हिजलेटले प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२० क्रिकेटमा भने एक सय ३० भन्दा बढी खेल खेल्दै अब्बल प्रदर्शन गरेका छन् । यसका अतिरिक्त, उनले अस्ट्रेलियाको ब्रिसबेन हिट, क्विन्सल्यान्ड, होबर्ट हरिकन्सलगायतको क्लबबाट थुप्रै खेल खेलेका छन् ।
००००
सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको एनपीएलका लागि न्युजिल्यान्डका स्कट कुगेलेइन, अस्ट्रेलियाका क्रिस लिन, अमेरिकाका हरमित सिंह र अस्ट्रेलियाका जोसुआ ब्राउनलाई टोलीमा आबद्ध गरेको छ । ३३ वर्षीय स्कट पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्समै थिए ।
स्कटले एनपीएलको पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन पनि गरेका थिए । उनी सर्वाधिक विकेट लिने बलरको सूचीमा संयुक्त रूपमा पहिलो स्थानमा थिए । उनले पहिलो संस्करणमा नौ खेलमा १७ विकेट लिएका थिए ।
‘दोस्रो संस्करणका लागि पनि स्कट कुगेलेइनलाई आफ्नो टोलीमा आबद्ध गर्न पाउँदा हामी निकै उत्साही छौं । दोस्रो संस्करणमा हामीले स्कटबाट अझ उत्कृष्ट प्रदर्शनको आशा गरेको छौं,’ सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले भनेका छन् ।
स्कटले न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । यसका अतिरिक्त, उनले दुबई क्यापिटल्स, चेन्नइ सुपर किङ्स, सेन्ट लुसिया किङ्स, वेलिङ्टन लगायतका क्लबबाट पनि खेलिसकेका छन् ।
सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणका लागि अस्ट्रेलियन क्रिकेटर क्रिस लिनलाई पनि टोलीमा अनुबन्ध गरेको छ । क्रिस लिनले सन् २०१४ देखि २०१८ सम्म अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेलेका थिए ।
३५ वर्षीय क्रिस लिनले अस्ट्रेलियाका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय खेलेका थिए ।
उनले मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, ब्रिसबेन हिट, गल्फ जायन्ट्स, मुल्तान सुल्तान, मोन्ट्रियल टाइगर्सलगायतका क्लबबाट विश्वभरका फ्रेन्चाइज प्रतियोगिता खेलेका छन् ।
सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउन्डर हरमित सिंहलाई पनि एनपीएलको दोस्रो संस्करणका लागि टोलीमा अनुबन्ध गरेको छ । हरमितले लगातार दोस्रो सिजन सुदूरपश्चिमबाट खेल्न लागेका हुन् ।
गत सिजन उनले पाँच खेल खेल्दै कुल आठ विकेट लिएका थिए । हरमित पहिलो सिजनको एनपीएलमा सबैभन्दा कम इकोनोमी रेटमा बलिङ गर्ने खेलाडी हुन् । ३२ वर्षीय हरमित बाँयाहाते बलर हुन् । उनी बाँया हातले नै ब्याटिङ पनि गर्छन् ।
उनले अमेरिकाको राष्ट्रिय टोलीबाट २१ एकदिवसीय र २६ टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनको ब्याटिङ र बलिङ दुबै अब्बल छ । उनी सन् २०१२ को यू–१९ विश्वकप विजेता भारतीय टोलीको सदस्य पनि हुन् । उनले आईपीएलमा राजस्थान रोयल्सबाट खेलेका छन् ।
००००
कर्णाली याक्स
कर्णाली याक्सले दोस्रो संस्करणका लागि तीनजना विदेशी खेलाडीलाई भित्र्याइसकेको छ । कर्णाली याक्सले अस्ट्रेलियाका विलियम बोसिस्टो, स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट, जेम्स वाट र नेदरल्यान्ड्सका म्याक्स ओ’डडलाई टोलीमा आबद्ध गरेको हो ।
अस्ट्रेलिया अलराउन्डर विलियम बोसिस्टोले एनपीएलको पहिलो संस्करण पनि कर्णालीबाटै खेलेका थिए । उनी अस्ट्रेलियन यू–१९ टोलीका पूर्वखेलाडी हुन् ।
३१ वर्षीय म्याक्स भने अनुभवी ब्याटिङ अलराउन्डर हुन् । नेदरल्यान्ड्सको थुप्रै सफलतामा उनको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । उनले देशका लागि ६५ एकदिवसीय अन्तर्राष्ट्रिय र ८७ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा उनले एक शतक र १५ अर्धशतकको मद्दतले कुल दुई हजार एक सय ५३ रन र टी–२० अन्तर्राष्ट्रियमा एक शतक र १६ अर्धशतकको मद्दतले कुल दुई हजार तीन सय नौ रन बनाएका छन् ।
‘आगामी एनपीएलमा हामीले बोसिस्टो, मार्क वाट र म्याक्स ओ’डडबाट उत्कृष्ट प्रदर्शनको आशा गरेका छौँ,’ कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले भनेका छन् ।
००००
जनकपुर बोल्ट्स
एनपीएलको साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि दुईजना विदेशी खेलाडीलाई टोलीमा आबद्ध गरेको छ । जनकपुरबोल्ट्सले अमेरिकी ब्याट्सम्यान लहिरू मिलान्थालाई दोस्रो संस्करणका लागि पनि टोलीमा आबद्ध गरेको छ ।
पहिलो संस्करणमा जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन उनको भूमिका महत्त्वपूर्ण थियो । श्रीलंकामा जन्मिएका यी अमेरिकी ब्याट्सम्यानले पहिलो संस्करणको फाइनलमा केवल ४९ बलमा ८७ रन बनाएपछि जनकपुर बोल्ट्सको जीत सम्भव भएको थियो ।

पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि चुमेको थियो । पहिलो संस्करणमा लाहिरू मिलान्था सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा थिए । उनले कुल दुई सय ९३ रन बनाएका थिए ।
जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर वायने पार्नेललाई पनि टोलीमा आबद्ध गरेको छ । ३६ वर्षीय पार्नेलले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।
बायाँहाते मध्यमतेज गतिका बलर पार्नेलले ६ टेस्टमा १५ र ७३ एकदिवसीय अन्तर्राष्ट्रियमा ९९ विकेट लिएका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा भने ५६ खेल खेल्दै ५९ विकेट लिएका छन् । उनले विश्वका थुप्रै चर्चित फ्रेन्चाइज लिग पनि खेलिसकेका छन् ।
००००
लुम्बिनी लायन्स
लुम्बिनी लायन्सले पनि दोस्रो संस्करणको एनपीएलका लागि दुईजना विदेशी खेलाडी भित्र्याएको छ । लुम्बिनी लायन्सले अस्ट्रेलियाका ब्याट्सम्यान डार्शी शार्ट र इटालीका थोमस ज्याक ड्राकालाई टोलीमा आबद्ध गरेको हो ।
२५ वर्षीय थोमस ड्राक दायाँहाते मध्यमतेज गतिका बलर हुन् । इटालीलाई सन् २०२६ को आईसीसी टी–२० विश्वकपमा छनोट गराउन उनको भूमिका महत्वपूर्ण रहेको थियो । उनले इटालीको राष्ट्रिय टोलीबाट सात टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै आठ विकेट लिएका छन् ।

३५ वर्षीय डार्शी शार्ट पनि अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका अनुभवी खेलाडी हुन् । यी ब्याटिङ अलराउन्डरले अस्ट्रेलियन टोलीबाट आठ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै एक अर्धशतकको मद्दतले दुई सय ११ रन बनाएका छन् ।
उनले अस्ट्रेलियाका लागि २३ टी–२० अन्तर्राष्ट्रिय खेल्दै चार अर्धशतकको मद्दतले कुल ६ सय ४२ रन बनाएका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा तीन विकेट पनि लिएका छन् । उनीसँग विश्वका विभिन्न फ्रेन्चाइज लिग खेलेको अनुभव पनि छ ।
००००
पोखरा एभेन्जर्स
पोखरा एभेन्जर्सले एनपीएलको दोस्रो संस्करणका लागि हालसम्म एकजना विदेशी खेलाडीमात्र भित्र्याएको छ । पोखरा एभेन्जर्सले इङल्यान्डका विकेटकिपर ब्याट्सम्यान एडम रोसिङ्टनलाई टोलीमा आबद्ध गरेको हो ।
३२ वर्षीय एडम रोसिङ्टन अनुभवी ब्याट्सम्यान हुन् । उनले एक सय १३ प्रथम श्रेणीको क्रिकेटमा नौ शतक र ३४ अर्धशतकको मद्दतले कुल पाँच हजार चार सय ४६ रन बनाएका छन् ।

उनले ४९ लिस्ट ‘ए’ क्रिकेटमा ११ अर्धशतकको मद्दतले एक हजार तीन सय ८१ रन जोडेका छन् । यसका अतिरिक्त, उनले एक सय ८६ टी–२० क्रिकेटमा १८ अर्धशतकको मद्दतले कुल तीन हजार पाँच सय ७६ रन बनाएका छन् ।
दोस्रो संस्करणका लागि विभिन्न टोलीले अझ कम्तीमा आठजना विदेशी खेलाडी भित्र्याउन बाँकी छ । पोखरा एभेन्जर्सले तीन विदेशी खेलाडी आबद्ध गर्न बाँकी छ । लुम्बिनी लायन्सले पनि दुई विदेशी खेलाडी भित्र्याउन बाँकी छ ।
जनकपुर बोल्ट्सले दुई र कर्णाली याक्सले एकले एक खेलाडी भित्र्याउन बाँकी छ । त्यसैले क्रिकेटप्रेमीहरू अझै पनि एनपीएलको दोस्रो संस्करणमा विश्व चर्चित खेलाडीहरू भित्रिन सक्ने प्रतीक्षामा छन् ।