
निर्वाचन अगाडि नै महाधिवेशन गर्न कांग्रेसका युवा नेताहरूले गरेको आग्रहलाई पार्टी संस्थापन पक्षले अस्वीकार गरेको छ ।
पार्टी संगठनको कार्यकारी भूमिकामा रहेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनपछि महाधिवेशनमा जाँदा पार्टी बलियो हुने तर्क गरिरहेका बेला संस्थापनले उनीहरूको प्रस्ताव अस्वीकार गरेको हो ।
केही दिनको अनौपचारिक छलफलपछि महामन्त्री थापाले मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा विकल्पसहित महाधिवेशनको मिति प्रस्ताव गरे । यतिसम्मकी चुनावअघि महाधिवेशन गर्ने सर्तमा आफू उम्मेदवार नबन्ने र भाग नै नलिने प्रस्ताव थापाले ल्याएका छन् ।
२४ घण्टामा सत्ता उथलपुथल भएको देशमा ६४ दिनमा किन महाधिवेशन गर्न सक्दैनौं भन्दै कार्यतालिकाको प्रस्ताव गरेका छन् । थापाले मंसिर २४ गतेसम्म क्रियाशील सदस्यता टुंग्याउने, मंसिर २७ गते ६७४३ वडाका अधिवेशन गर्ने, पुसको ५ र ६ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने र पुसको १६ देखि १९ गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । जिल्ला र प्रदेशको अधिवेशन महाधिवेशनपछि पनि गर्न सकिने थापाको प्रस्ताव छ ।
थापाले महाधिवेशन हुने सर्तमा दुवै महामन्त्री उम्मेदवार नबन्ने घोषणा पनि गरेका छन् । अहिलेकै अवस्थामा मत माग्न जाने स्थिति नभएको भन्दै यो विकल्प पनि थापाले सुझाएका छन् ।
‘यो अधिवेशन गर्ने कुराको सन्दर्भमा यो पटकका लागि तिमीहरू दुई जनाले (महामन्त्रीद्वय थापा र शर्मा) यो अधिवेशनको रेसमा भाग लिन पाउँदैनौं, त्यस्तो हो भने अधिवेशन गर्नेतिर लैजाऊ भनेर भन्ने हो भने ल, त्यो कुरालाई, त्यसको बाचा बन्धन गर्ने कुराले बाटो खुल्छ भनेर बाचा बन्धन गरेर जाउँ,’ थापाले प्रस्ताव गर्दै भनेका छन्, ‘यो व्यक्तिगत महत्वाकांक्षाको कुरा होइन । म डराएँ भन्ने पनि होइन ।’
कांग्रेसले आफूलाई नयाँ नबनाइ मत माग्न जान सक्ने स्थिति नै नभएको थापाको भनाइ छ ।
‘तल पार्टीका साथीहरूलाई पक्कै नेताहरूले पनि भेट्नुभएको छ । तल हामीले सोचेको जस्तो छैन । पूरै हल्लिएको छ । तल साथीहरू आत्तिएका छन्,’ थापाले भने, ‘हामी सरासर गएर ढ्वाङ थापेर मत पाउने अवस्था छैन । कांग्रेसले आफूलाई नयाँ नबनाइकन तल गएर मत पाउने अवस्था छैन ।’
निर्वाचनअघि नियमित महाधिवेशन गर्न नसक्ने स्थितिका लागि थापाले विकल्प पनि सुझाएका छन् । यसअघि पनि अभ्यासमा भएको र विधानले व्यवस्था गरेको विशेष महाधिवेशनको विकल्प पनि प्रस्ताव गरेका छन् ।
‘विधानले त्यसकै व्यवस्था गरेको छ । सुवर्ण शमशेरले, बीपी कोइरालाले कुनै बेला देशकै आवश्यकता, पार्टीको आवश्यकता ठानेर त्यो व्यवस्थाको प्रयोग गर्नुभएको हो । हामी तलैबाट गर्न सक्दैनौं भने कम्तीमा यो ट्रान्जिसनका लागि हामीले पार्टीको सर्वोच्च निकाय भनेको हाम्रो विशेष महाधिवेशन, महाधिवेशन हो,’ थापाले भनेका छन्, ‘त्यो विशेष महाधिवेशन हामीले गर्नुपर्छ । पार्टीले निर्णय गरेर गरौं । बाहिर ४० प्रतिशत साथीहरूले माग्न लागेको कुरा त हामी विधानले बाँधेकै छौं, गर्नैपर्छ । तर हामीले यो बेलामा पार्टीकै निर्णय गरेर विशेष महाधिवेशन गर्छौं । यो महाधिवेशनबाट हामी अहिलेका लागि यो गर्छौं, यो गर्छौं भनेर भन्यो भने त्यो अर्को उपाय भयो । त्यो भन्दा अर्को बाटो हामीसँग रहन्न ।’
तर महामन्त्रीद्वय थापा, शर्मा र नेता डा. शेखर कोइराला समूह र संस्थापनकै केही युवा नेताको चाहना विपरीत संस्थापनले महाधिवेशनका लागि काउन्टर मिति प्रस्ताव गरेको छ ।

सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म १५ औं महाधिवेशनको मिति प्रस्ताव गरेका हुन् । अघिल्लो दिन संस्थापनले निकटका केन्द्रीय सदस्यको भेला डाकेरै १५ औं महाधिवेशन वैशाख २५ देखि २७८ गतेसम्म गर्नुपर्ने प्रस्ताव गरेको थियो । जबकी विधान अनुसार पार्टीको औपचारिक एजेन्डा प्रस्तुत गर्ने महामन्त्रीले हो ।
महाधिवेशनको कचिंगलका बीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक रोकेर कार्यसम्पादन समितिको बैठक डाकेका थिए । सो बैठकमा पनि महामन्त्रीहरूको प्रस्तावविरुद्ध संस्थापन निकटका पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्य एक ठाउँमा उभिएका छन् । उनीहरूले कुनै पनि हालतमा चुनाव अगाडि १५ औं महाधिवेशन गर्न नहुने अडान लिएका हुन् ।
पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार, गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. प्रकाशशरण महतसहितका नेताले गगन-विश्वले पार्टी नै कब्जा गर्न खोजेको आरोप लगाउँदै आएका छन् । पछिल्लो समय संस्थापन निकटका बालकृष्ण खाँण, एनपी साउदसहितका नेतालेसमेत चुनावअघि महाधिवेशन गर्न नहुनेमा जोडबल गरिरहेका छन् । यसैले महाधिवेशनपछि चुनावमा गए उनीहरूले पार्टी नै कब्जा गर्ने निकटका नेतासँग बताउने गरेका छन् ।
नियमित महाधिवेशनको पक्षमा उभिँदै आएका डा. शेखर कोइरालाले पनि नियमित महाधिवेशनको अडान नलिएको महामन्त्री पक्षको आरोप छ । शेखर निकटका केही नेताले नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने बाहिर बताएका छन् । तर शेखरले कृष्णप्रसाद सिटौलासहितका नेतासँग संवाद गरेर संस्थापनलाई साथ दिएको एक नेताले जानकारी दिए ।
‘शेखर दाइले पनि बाहिर नियमित महाधिवेशनको कुरा गरेको जस्तो गर्नुभएको छ । तर सोमबारको कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापतिले महाधिवेशनबारे तपाईंको धारणा के हो भनेर पाँचपटक सोध्दा पनि प्रस्ट जवाफ दिनुभएन,’ कांग्रेसका एक प्रभावशाली नेताले भने, ‘तर हिजो बिहान मात्रै उहाँले डा. मीनेन्द्र रिजालको घरमा नेता कृष्णप्रसाद सिटौलासँग भेट गर्नुभएको सुनिएको छ । यसले पनि उहाँ र उहाँको टिमको भूमिका दोहोरो भएको अर्थ लाग्छ ।’
केही दिनअघि कोइरालाले दुवै महामन्त्रीसँग छलफल गर्दै आफू नियमित महाधिवेशनको पक्षमा उभिएको बताएका थिए । महामन्त्रीहरूले पुस १६ देखि १९ गतेसम्म प्रस्ताव गर्न लागेको कार्यतालिकामा सहमति जनाउने वचन पनि दिएका थिए ।

तर बैठकमा कोइरालाले खुलेर यो प्रस्तावमा साथ नदिएको महामन्त्रीहरूको भनाइ छ । संस्थापन निकटका नेता डा. प्रकाशशरण महतलेसमेत केही दिनअघि शेखरले आफूहरूलाई साथ दिने बताएका थिए । यद्यपि देउवाबाट अहिलेसम्म लाभ नलिएका केही युवा केन्द्रीय सदस्यहरू भने नियमित महाधिवेशनको पक्षमा दुवै महामन्त्रीहरूसँग संवादमा जोडिएका छन् ।
नेता कृष्णप्रसाद सिटौलाले त मंगलबारको बैठकमै गगनले पार्टी कब्जा गर्न खोजेको आरोप लगाए । ‘फेसबुकमा लेखेर पार्टी कब्जा गर्न खोजेको हो ? फेसबुकले सभापति छान्ने हो ?’ भन्दै सिटौलाले थापालाई चेतावनी दिएको एक नेताले जानकारी दिए ।
बैठकको शुरूआत गराउँदै कार्यवाहक सभापति खड्काले ‘उत्पन्न असहज परिस्थितिको लागि म दु:ख व्यक्त गर्दछु । त्यो असहजताका लागि र हामीले कार्यसम्पादन समितिको अनौपचारिक बैठक, परामर्श बैठक गरेर छलफल गरेका छौं । विभिन्न तरिकाले सबै एजेन्डाहरूलाई सहमतिमा टुङ्ग्याउने गरी वातावरण बनाउने प्रयत्न भइराखेको छ’ भनेका थिए । त्यसपछि महामन्त्री थापालाई बोल्न समय दिएका थिए । बैठक शुरू भएपछि पनि सहमतिका लागि निरन्तर छलफल र प्रयास गर्ने उनको भनाइ थियो ।
यता विशेष महाधिवेशन पक्षधरले नियमित नगरे ५४ प्रतिशतको मागको आधारमा विशेषमा जानुपर्ने दबाब बढाएका छन् । यसअघि शेखर टिममै रहेका नेता गुरुराज घिमिरेसहितका नेताले विशेष महाधिवेशनका लागि दबाब बढाउँदै आएका छन् ।
पूर्वपदाधिकारीहरु प्रकाशमान सिंह, संस्थापन इतरका नेताहरूलाई समेट्दै उनीहरूले मंगलबार काठमाडौंमा भेलाकै आयोजना गरे । काठमाडौंमा प्रभाव भएका नेता प्रकाशमान सिंह र संस्थापन निकटका सबुज बानियाँ, जितेन्द्रकुमार श्रेष्ठसहितका नेताको उपस्थितिमा उनीहरूले भेलाको आयोजना गरेका हुन् । शेखर निकटबाट लुम्बिनी प्रदेश सभापति जितेका अमरसिंह पुन पनि विशेष महाधिवेशनको भेलामा सहभागी भएका थिए ।
मंगलबारको बैठकमा नेता चन्द्र भण्डारीले कांग्रेस सरकारमै भएको बेला राज्यका सम्पत्ति जलेको बताए । ३४ वर्ष राज्य सञ्चालन गर्दाको व्यवस्थामा यत्ति ठूलो विध्वंसको तयारी राज्य र नेताले थाहा नपाउनु दुर्भाग्य भएको उनले बताए ।
महाधिवेशनको लागि दुईवटा कार्यतालिका ल्याएकोप्रति उनले आपत्ति जनाए ।
‘अहिले कांग्रेसको महाधिवेशन गर्न सक्देनौं भनेर हुन्छ ? एक भएर अगाडि बढ्नुपर्ने अवस्था छ । महाधिवेशनमा जानुपर्छ, तीन जना बसेर छलफल गर्नुस् । महाधिवेशनमा जाऔँ । चुनाव हुने भएछ भने त्यसको पनि तयारीमा जुटौँला,’ भण्डारीले भने, ‘उपसभापति र महामन्त्री भइसक्नुभएका विमलेन्द्र निधि र कृष्ण सिटौलाजीलाई प्रश्न- बहुमतले गरेको विशेष महाधिवेशनको हस्ताक्षरलाई केही होइन भनेर हेप्ने ? तपाईंहरूलाई यस्तो किन बोल्नुपरेको ? सबै यसैगरी बिग्रिए नेता को हुने हो ?’
मंगलबार कोषाध्यक्ष उमेश श्रेष्ठ, सदस्यहरू कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले धारणा राखेका थिए । यसअघि १ बजे बस्ने गरेको बैठक बुधबारलाई साढे ११ बजे बस्ने गरी बोलाइएको छ ।
वैशाखमा होइन, २०८३ मंसिरमा महाधिवेशन गर्ने संस्थापनको रणनीति
अहिले महामन्त्रीहरूले छिट्टै महाधिवेशन गर्न प्रस्ताव गरे पनि संस्थापनले १५ औं महाधिवेशन २०८३ मंसिरमा गर्ने रणनीति बनाएको छ । चुनावअघि महाधिवेशन गर्दा महामन्त्रीहरू हावी हुने र आफूहरूको राजनीतिक भविष्य सकिने बुझाइ संस्थापनलाई साथ दिँदै आएका पुराना नेताहरूको छ ।

यसका लागि जेनजी आन्दोलनमा घाइते भएपछि उपचारका लागि सिंगापुर पुगेका सभापति शेरबहादुर देउवालाई संस्थापन निकटका नेताहरूले दिनहुँ फकाइरहेको स्रोतको दाबी छ ।
‘सभापतिले नियमित महाधिवेशन गर्नेगरी कार्यवाहक सभापति जिम्मा दिएर उपचारका लागि सिंगापुर जानुभयो । तर उहाँ गएपछि संस्थापन निकटका नेताले निरन्तर गुटको बैठक राखेर महाधिवेशन तत्काल गरे आफूहरूको राजनीति सकिने र पार्टी गगन-विश्वप्रकाश शर्माले कब्जा गर्ने बहस गरिरहेका छन्,’ स्रोतले भन्यो, ‘यसैले चुनावमा संस्थापनले आफू अनुकूल टिकट बाँड्ने र समानुपातिकको बन्द सूची बनाउन सक्दाको प्रभाव महाधिवेशनमा पनि देखाउन सकिने अनि आफ्नो राजनीति जोगिने दाउ हेर्नुभएको छ ।’
टिकट बाँड्दा नेताहरूलाई समूहमा राख्न सकिने र मंसिरमा सारिने महाधिवेशनमा जित्न सक्ने आधार बन्ने उनीहरूको अपेक्षा छ । किनकी अहिले वैशाखमा महाधिवेशन गर्ने निर्णय गर्न सकिए स्वतः मंसिरमा पुग्ने उनीहरूको भनाइ छ ।
किनकी फागुन २१ मा मौसमका कारण चुनाव हुन नसक्ने भएपछि सरकारले वैशाखको अन्तिम वा जेठको पहिलो साता निर्वाचन सार्ने तयारी गरेको छ । यस्तोमा फेरि वैशाखमा चुनाव हुँदा त्यसैलाई देखाएर मंसिरमा महाधिवेशन सार्ने दाउ संस्थापनको रहेको दाबी महामन्त्री निकट स्रोतको छ ।