
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देशभरिका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यका लागि पुनर्निर्माण कोषमा १ करोड रुपैयाँ सहयोग गरेको हो ।
उक्त रकम बराबरको चेक कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले आज एक विशेष कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।
प्रमुख कार्यकारी अधिकृत खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षणलगायत क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गर्दै आएको बताए । भविष्यमा पनि यस प्रकारको सहयोग उपलब्ध गराउने उनको प्रतिवद्धता छ ।
कम्पनीले यस प्रयोजनको लागि नियामक निकायबाट जारी निर्देशनअनुसार प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ ।