
वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान अर्पण गरिएको छ । बुधबार काठमाडौंमा उनलाई मिलाप मासिकको कात्तिक अंकको कभर सम्मान अर्पण गरिएको हो ।
कार्यक्रमका सभापति मिलाप मासिकका सम्पादक कृष्ण भुसाल, प्रमुख अतिथि महाकाव्यकार खेमनाथ दाहाल, विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, वरिष्ठ गायक तथा संगीतकार कन्हैया सिंह, अंग्रज पत्रकार सानु श्रेष्ठ, मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, टीका गोपाल एम क्रियशन अध्यक्ष गीता सिंह, पत्रकार किशन अर्याल, अनुप सिंहलगायतको आतिथ्यतामा उक्त कभर सम्मान अर्पण गरिएको थियो ।
समारोहमा स्वागत मन्तव्य राख्दै गीता अधिकारीले मिलापले निरन्तर १६ वर्षदेखि मासिक पत्रिका प्रकाशन गर्दै आएको बताउँदै यसले अन्य पुस्तक पनि प्रकाशन गरेको जानकारी दिइन् । कार्यक्रममाथि प्रकाश पार्दै कृष्ण भुसालले मिलापले १५० जति अंक विशेष व्यक्ति र समसामयिक विषयमा प्रकाशन गरेको बताउँदै अञ्जना गुरुङलाई कात्तिक अंकमा ‘स्वरमाधुरी’ कभर स्टोरी तयार पारेको बताए ।
उनले समाजका आर्थिक, राजनीतिसँगै भाषा, साहित्य, कला संस्कृतिलाई मिलापमा विशेष स्थान दिँदै आएको जानकारी गराउँदै पछिल्लो अंक अन्य सामग्रीसँगै वरिष्ठ गायिका अञ्जना गुरुङका विषयमा विशेष प्रकाशन गरिएको बताए ।
गायक तथा संगीतकार कन्हैया सिंहले अञ्जनाको गायनलाई मिलापले प्राथमिकता दिएर यो सम्मान व्यक्त गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरे । यस्तै गायिका गुरुङले चितवनको जन्म र नेपालगञ्जको बसाइसँगै काठमाडौं र हालको अमेरिकामा बसाईमा आफू निरन्तर गीतसंगीतमा संलग्न रहेको बताउँदै गाउँदै जाँदा एक हजारभन्दा बढी गीत श्रोता/दर्शकमाझ ल्याएको बताइन् ।
कार्यक्रममा आफ्ना भनाइ राख्नेक्रममा केही भावुक हुँदै उनले आफ्ना सयौं गीतलाई श्रोता/दर्शकले मन पराएको भन्दै आफू भाग्यमानी रहेको बताइन् । उनले मिलापले आज आफ्ना कार्यलाई विस्तृत रूपमा प्रस्तुत गर्दै यो सम्मान अर्पण गरेकोमा कृतज्ञ रहेको सुनाइन् ।
‘गीतसंगीत मेरो जीवन हो’, उनले भनिन्, ‘श्रोता-दर्शकले माया गरेर आज यहाँसम्म आइपुगेकी हुँ ।' कार्यक्रममा उपस्थितहरूको आग्रहमा उहाँले चर्चित गीत ‘आँखैमा राख्छु मेरो देश’ प्रत्यक्ष गाएकी थिइन् ।
यस्तै, कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले मिलापका सम्पादक कृष्ण भुसालको आग्रहमा ‘स्वरमाधुरी’ अञ्जना गुरुङ आवरण आलेख तयार बताउँदै उनलाई अब यो उपाधिबाट पनि पुकारिने भनाइ राखे ।
अनेसासका पूर्वअध्यक्ष लेकालीले नेपाली गीतसंगीतको अन्तर्राष्ट्रिय महत्व बढ्दै गएको बताउँदै नेपालबाट बाहिर गएका नेपालीहरूले यसलाई संसारभर पुर्याएको धारण राखे ।
कार्यक्रमका प्रमुख अतिथि दाहालले मिलापका कार्यको चर्चा गर्दै यसको नयाँ अंकमा स्वरमाधुरी कभर हस्तान्तरण गर्न पाउँदा आफैंलाई गौरव महसुस भएको बताए । उनले गायिका अञ्जनामा वंशानुगत गायन क्षमता आएको बताउँदै अञ्जना जहाँ रहे पनि ‘स्वरमाधुरी’ जीवन्त रहने जिकिर गरे । ‘जहाँ रहे पनि अञ्जनाको स्वरले नेपाली संगीतमा सदैव जीवन भर्नेछ’, उनले भने ।
निर्देशक माधव खरेलले सहजीकरण गरेको कार्यक्रममा गीतसंगीत तथा समाजका विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति थियो । गायिका अञ्जना गुरुङले नेपाली गीत संगीतमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै मिलापको कात्तिक अंकमा उहाँलाई ‘स्वरमाधुरी’ कभरका रूपमा प्रस्तुत गरेको छ ।