
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिहीबार आयोगले आलेसहित स्वामिनारायण निर्माण सेवा प्रालि र त्यसका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतउपर विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध १ करोड २३ लाख ६९ हजार ६४९ रूपैयाँ बिगो कायम गरिएको छ ।
राजश्व कार्यालयमा दाखिला गर्नुपर्ने भ्याट रकम दाखिला नगरी मिलेमतोमा बुझाएको अभियोग पत्रमा उल्लेख छ ।
आर्थिक वर्ष २०७६/०७७ मा मोरङको सुन्दरहरैचा नगरपालिका र उक्त प्रालिबीच गछिया खोलामा नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता भएकोमा सोबापत उक्त निर्माण सेवाले आन्तरिक राजश्व कार्यालयमा दाखिला गर्नुपर्ने भ्याट रकम दाखिला नगरी मिलेमतोमा भ्रष्टाचार गरेको अभियोग पत्रमा उल्लेख छ ।