२८ जेठ २०८३, बिहीबार
जेनजी आन्दोलनको प्रभाव

बैंकहरूको नाफामा गिरावट, रिकभरीको सकसले खराब कर्जामा पनि भएन सुधार

कात्तिक २१, २०८२
काठमाडौं
बैंकहरूको नाफामा गिरावट, रिकभरीको सकसले खराब कर्जामा पनि भएन सुधार

जेनजी आन्दोलनको असर बैंकहरूको वित्तीय विवरणमा देखिएको छ । वाणिज्य बैंकहरूको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म वित्तीय विवरणमा आन्दोलनको प्रभाव प्रस्टै देखिएको हो ।

पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरूले कुल  १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरणले देखाएको छ । जबकि गत आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । गत आर्थिक वर्षको तुलनामा बैंकहरूको खुद नाफा १८.४७ प्रतिशत घटेको छ । 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो । निजी क्षेत्रमा भएको क्षतिको प्रभाव बैंकहरूको वित्तीय विवरणमा अहिले देखिन थालेको हो ।

पहिलेदेखि नै कर्जा असुलीमा सकस भइरहेको र जेनजी आन्दोलनले त्यसमा झन् ठूलो प्रभाव पारेको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बताए ।

बैंकहरूको सम्भावित कर्जा नोक्सानीबापतको प्रोभिजन मात्रै बढेको र ब्याज आम्दानीमा पनि गिरावट आएको उनको भनाइ छ । 

‘सबैभन्दा ठूलो चुनौती रिकभरीको थियो । त्यसलाई जेनजी आन्दोलनले झन् सकस बनाइदियो’, उनले भने, ‘आन्दोलनको प्रभाव वित्तीय विवरणमा प्रस्टै देखिएको छ ।’

पहिलो त्रैमाससम्म दुई दर्जन बढी बैंकहरूको नाफामा गिरावट आएको छ ।

एनएमबी बैंक, हिमालयन, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक, प्राइम बैंक र कुमारी बैंकका नाफा गत वर्षको यही अवधिभन्दा घटेको छ । सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ ।

केबल ५ बैंकको नाफा गत वर्षको तुलनामा बढेको छ । गत वर्षको तुलनामा एनआईसी एसिया बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेस्ट बैंकको खुद नाफा बढेको हो ।

बैंकको नाफाको विवरण

खराब कर्जामा पनि भएन सुधार 

बैंकहरूका लागि चुनौती बनेको ऋण असुली जेनजी आन्दोलनपछि झन् ठूलो सकस बनेको देखिएको छ । पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरूको खराब कर्जा उच्च विन्दुमा पुगेको छ ।

औसतमा यस्तो खराब कर्जा ४.५९ प्रतिशत रहेको देखिन्छ । गत वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको खराब कर्जा औसतमा ३.८९ प्रतिशत थियो । त्यसको तुलनामा बैंकहरूको खराब कर्जा ०.७० प्रतिशत बढेको छ । 

सबैभन्दा बढी हिमालयन बैंकको खराब कर्जा ७.३९ प्रतिशतमा रहेको छ ।

कुमारी बैंकको खराब कर्जा ६.९८ प्रतिशत हुँदा सिटिजन्स बैंकको खराब कर्जा ६.८ प्रतिशतमा पुगेको छ ।

पहिलो तीन महिनामा सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र एभरेस्ट बैंकले केही मात्रामा खराब कर्जा घटाएका छन् । कृषि विकास बैंक बाहेकका बाँकी बैंकहरूको खराब कर्जा बढेको छ ।

खराब कर्जाको स्थिति

salt training

कमेन्ट गर्नुहोस्