०९ साउन २०८३, शनिबार

बंगलादेशी क्रिकेट टोलीकी पूर्वकप्तानले लगाएको यौन दुर्व्यहारको विषयमा छानबिन गर्न समिति

कात्तिक २२, २०८२
काठमाडौं
बंगलादेशी क्रिकेट टोलीकी पूर्वकप्तानले लगाएको यौन दुर्व्यहारको विषयमा छानबिन गर्न समिति

एक चर्चित महिला क्रिकेटरले आफूमाथि यौन दुर्व्यवहार भएको भनी लगाएको आरोपको विषयमा छानबिन गर्न बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले उच्चस्तरीय समिति गठन गरेको छ ।

बंगलादेशको राष्ट्रिय क्रिकेट टोलीकी पूर्वकप्तान जहाँआरा आलमले छनोट समितिका पूर्वअध्यक्ष मंजरुल इस्लामले आफूमाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएकी छन् ।

छानबिन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । जहाँ आराले पत्रकार रियासाद अजिमलाई लिएको अन्तरवार्तामा आफूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाएकी थिइन् ।

‘मंजरुल इस्लामले पटक–पटक यौन दुर्व्यवहा गरेका छन् । उनी अनावश्यक रूपमा मेरो काँधमा हात राख्थे। मसँग अनावश्यक र गलत कुरा पनि गर्थे । धेरैपटक अँगालो पनि हालेका छन् । उनको यस्तो गतिविधिले मलाई असहज महसुस हुन्थ्यो,’ अन्तरवार्ताका क्रममा उनले भनेकी छन् ।

आफूमाथि भएको गलत व्यवहारको विषयमा बीसीबीका पूर्वनिर्देशक शफिउल इस्लाम नादेल र बोर्डका प्रमुख कार्यकारी अधिकृत निजामुद्दिन चौधरीसँग गुनासो गरेको पनि जहाँआराले बताएकी छन् ।

पूर्वकप्तान जहाँआराको आरोपलाई आफूहरूले गम्भीर रूपमा लिएको बीसीबीले जनाएको छ । ‘यो निकै गम्भीर विषय हो । त्यसैले यौन उत्पीडनको आरोपको विषयमा छानबिन गर्न समिति बनाएको छौँ,’ बीसीबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जहाँआराले बंगलादेशका लागि ५२ एकदिवसीय अन्तर्राष्ट्रिय र ८३ टी–२० अन्तर्राष्ट्रिय खेलेकी छन् । उनले एकदिवसीयमा ४८ र टी–२० अन्तर्राष्ट्रियमा ६० विकेट लिएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्