
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ कालापानीस्थित पानस कटेजका कर्मचारी रोशन कार्कीलाई सोमबार बिहान ४ बजे नै फोन आयो ।
सुतिरहेका बेला उनलाई फोन गर्ने व्यक्ति थिए– सोही वडाका वडाध्यक्ष विराटकुमार विष्ट ।
विष्टले फोनमा भने– एकछिनमा ७०/८० जना बसेर चिया पिउँदै एउटा मीटिङ गर्नुछ । चिया तयार बनाउनुहोला ।
कार्कीले जवाफ फर्काए– अहिले त स्टाफहरू पनि आएका छैनन्, सबै सुतेका छन् ।
लगत्तै विष्टले भने– अरू केही होइन, चिया मात्र खाने हो, तयार गरिदिनुस् ।
वडाध्यक्षले नै जोडबल गरेपछि कार्कीले 'हुन्छ नि त' भनेर फोन राखे ।
‘मोबाइलमा कुराकानी भएको आधा घन्टा नबित्दै ८/१० वटा गाडीमा झन्डै ८०/९० जना आइपुग्नुभयो,’ कार्कीले लोकान्तरसँग भने, ‘उहाँहरू आफैंले रेस्टुरेन्टको सबै टेबल कुर्सी मिलाउनुभयो र बस्नुभयो ।’
त्यति बेलासम्म आफूलाई मधेश प्रदेशको मुख्यमन्त्रीको शपथ हुँदैछ भन्ने कुरा थाहा नभएको उनले बताए ।
‘जब प्रदेश प्रमुखज्यूले शपथ ग्रहण गराउने तयारी थाल्नुभयो, अनि बल्ल मैले थाहा पाएँ,’ उक्त होटलका कर्मचारी कार्कीले लोकान्तरसँग भने, '४५ मिनेट जति कार्यक्रम भयो होला, त्यसपछि सवा ५ बजेतिर उहाँहरू सबै फर्किनुभयो ।’

९० कप चिया पकाएर खुवाइएको उनले बताए ।
‘३ हजार रुपैयाँ जतिको बिल बनेको छ । वडाध्यक्षज्यूले म तिर्छु भन्नुभएको छ,’ कार्कीले थपे, ‘वडाध्यक्षज्यूको नाममा हाम्रो होटलमा पहिलेदेखि नै खाता चल्ने गरेको छ ।’
मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी सुवेदी भण्डारीले सोमबार बिहान साढे ४ बजे मुख्यमन्त्रीको रूपमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई शपथ ग्रहण गराएकी थिइन् । यादव बर्दिबासकै हुन् ।
लगत्तै, एमालेकै लखन दास तत्मा, नेपाल समाजवादीकी विमला अन्सारी तरन्नुम र राप्रपाका कन्चन विच्छालाई मन्त्री पदको शपथ गराइएको थियो ।

वडाध्यक्ष विष्टले नवनियुक्त मुख्यमन्त्रीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा सहज नभएपछि पानस कटेजमा कार्यक्रम गरिएको बताए ।
‘म पनि हिजो रातिदेखि नै मुख्यमन्त्री यादवज्यूसँगै थिएँ । त्यहाँ प्रदेश प्रमुखको कार्यालय र आवास अगाडि प्रदर्शनकारीले रातभर प्रदर्शन गर्ने, ढुंगामुढा गर्ने भएका कारण पत्र बुझ्न सम्भव भएन । अनि प्रदेश प्रमुखज्यू स्वास्थ्य उपचारका लागि काठमाडौं जाने कुरा भयो,’ विष्टले लोकान्तरसँग भने, ‘त्यसैले बाटोमा चिया खाने र नियुक्तिको एउटा पत्र त दिने हो नि भन्ने कार्यक्रम तय भएपछि मैले होटलमा फोन गरेर व्यवस्थापन गरेको हो ।’
प्रदेश प्रमुख भण्डारी बिहान ४ बजे 'स्वास्थ्य उपचार गराउन काठमाडौं जान्छु' भन्दै हिँडेकी थिइन् । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई आवासमै पुगेर पुष्पगुच्छासहित बिदाइ गरेका थिए ।
तर, बिहान एकाएक मुख्यमन्त्री नियुक्तिदेखि शपथ ग्रहण समेतको समाचार सार्वजनिक भएपछि मधेश प्रदेशको प्रशासनिक भवनमा तोडफोड भएको छ ।
मुख्यमन्त्री सरोज यादवले पदभार ग्रहण गर्न आउने भने पछि नेपाली कांग्रेस, लोसपा, जसपा, जनमत, नेकपा माओवादी केन्द्र, नेकपा एससहितका सात राजनीतिक दल आन्दोलित भएका छन् ।
उनीहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्नुका साथै तालाबन्दी गरेका छन् भने प्रदेश प्रमुख आवासको नेमप्लेट निकालेर फालेका छन् ।
प्रशासनिक भवनअगाडि टायर बालेर प्रदर्शनकारीले बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।