२५ जेठ २०८३, सोमबार
पुरानो रिसइबी मुख्य कारण

उपभोक्ता समिति विवादले वडाध्यक्षको हत्या, भाग्दै गर्दा एम्बुलेन्समा समातिए सहायक हवल्दार

कात्तिक ३०, २०८२
काठमाडौं
उपभोक्ता समिति विवादले वडाध्यक्षको हत्या, भाग्दै गर्दा एम्बुलेन्समा समातिए सहायक हवल्दार

धनुषाको मिथिला बिहारी नगरपालिका– ९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्या पुरानो रिसइबीका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

विन्देश्वरलाई गोली प्रहार गर्ने शम्भु यादव अहिले प्रहरीको नियन्त्रणमा छन् ।

गाउँमै एक व्यक्तिको मरणको १३ दिने श्राद्धमा भोज खान पुगेका वडाध्यक्ष विन्देश्वरसहितको समूह र शम्भुको समूहबीच शुक्रबार झडप भएको थियो ।

विन्देश्वर गुहार माग्न हिँडिरहेका बेला शम्भुले घरभित्रबाट कटुवा पेस्तोल निकालेर छातीमै प्रहार गरेको प्रहरीले जनाएको छ ।

शम्भु नेपाल प्रहरीमा कार्यरत सहायक हवल्दार हुन् । सप्तरीस्थित प्रहरी चौकी पकरीमा कार्यरत उनी पाँच दिन घरबिदा लिएर धनुषा आएका थिए ।

गाउँमा बन्दै गरेको धर्मशालाको उपभोक्ता समितिमा क–कसलाई राख्ने भन्ने विवाद पहिल्यैदेखि थियो ।

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्षमा जितेका विन्देश्वरले उपभोक्ता समितिमा मनपरी सदस्य राखेपछि उनीहरूबीच रिसइबी बढेको प्रहरीले जनाएको छ ।

विन्देश्वर पछि एमालेमा प्रवेश गरेका थिए । विन्देश्वर श्राद्धको भोजमा पुगेपछि योजनाअनुसार नै उनीमाथि कुटपिट भएको थियो ।

शम्भुसहित अन्दुपट्टीका राजकुमार यादव, धर्मनाथ यादव र इन्दल यादवले विन्देश्वरलाई कुटपिट गर्न थालेपछि दोहोरो झडप भएको थियो ।

‘विन्देश्वर त्यहाँबाट उम्किएर गुहार माग्दै गरेका बेला शम्भुले घर भित्रबाट कटुवा पेस्तोल निकाली छातीमा प्रहार गरेका थिए,’ जिल्ला प्रहरी कार्यालयका धनुषाका एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘झडप भएको स्थान र शम्भुको घर डेढ सय मिटरको दुरीमा छ । शम्भुले योजनाबद्ध ढंगले नै विन्देश्वरको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

गोली लागि घाइते भएका विन्देश्वरलाई प्रादेशिक अस्पताल जनकपुरमा पुर्‍याए पनि चिकित्सकले मृत घोषित गरेका थिए । घटनामा अन्दुपट्टीकै रामवरण यादव, दीपेन्द्र यादव, राजकिशोर यादव र अभिनाषकुमार यादव घाइते भएका छन् ।

प्रहरीले शम्भुसँगै धर्मनाथ कुमार यादव, अनिकेत यादव र मनोज कुमार यादवलाई पक्राउ गरेको छ ।

शम्भुको घरबाट कटुवा पेस्तोल, एक राउन्ड गोली र एक राउन्ड खोका बरामद भएको छ ।

धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरका अनुसार शम्भुलाई प्रदेश २–०२–००१ च ०३४२ नम्बरकोे एम्बुलेन्समा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

झडपमा शम्भु पनि घाइते भएका थिए । उनको न्यूरो अस्पताल जनकपुरमा प्रहरी निगरानीमा उपचार भइरहेको छ । शम्भुसँग प्रहरीले बयान लिने तयारी गरेको छ ।

घाइतेमध्येका रामवरणको प्रादेशिक अस्पताल जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पताल ल्याइएको छ ।

धनुषा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बममा अनुसार वडाध्यक्ष विन्देश्वरमाथि योजनाबद्ध ढंगले आक्रमण गरिएको थियो ।

‘शम्भु र विन्देश्वरबीच पहिला पनि विवाद भएको पाइयो,’ डीएसपी बमले भने, ‘स्थानीयसँग बुझ्दा गाउँको बाटो र धर्मशाला निर्माणका लागि बनाइएको उपभोक्ता समितिको विषयमा विवाद भएको पाइयो ।’ 

salt training

कमेन्ट गर्नुहोस्