
बंगलादेशको एक अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ ।
गत वर्ष विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनमा मारिएका नागरिकहरूविरुद्ध घातक कारबाहीको आदेश दिएको अभियोगमा सोमबार हसिनालाई दोषी ठहर गरिएको हो ।
लामो समयसम्म चलेको मुद्दा अहिले आएर टुंगिएको हो । यद्यपि, उनीमाथि सजाय के हुने भन्ने सार्वजनिक भइसकेको छैन ।
बंगलादेश सरकारले अपदस्थ प्रधानमन्त्री हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई दोषी ठहर गर्ने अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) को सोमबारको फैसलालाई ध्यानमा राख्दै संवेदनशील क्षेत्रमा सुरक्षा कडाइ गरेको छ ।
आवामी लिगको गढ मानिने गोपालगञ्ज र आसपासका क्षेत्रमा धेरै संख्यामा बंगलादेश सीमा सुरक्षा बल (बीजीजी) को तैनाथी गरिएको छ ।
प्रमुख अभियोजक गाजी मोनव्वरले बंगलादेश टिभीसहित अन्य सञ्चारमाध्यमले आईसीटी–१ को फैसला प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिएपछि सुरक्षा थप बलियो बनाइएको हो ।