
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा काठमाण्डू गोर्खाजले विजयी शुरूआत गरेको छ भने साबिक विजेता जनकपुर बोल्ट्स उद्घाटन खेलमै स्तब्ध बनेको छ ।
काठमाण्डू गोर्खाजले सोमबारको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३० रन बनाएको थियो । जवाफमा काठमाण्डू गोर्खाजले १८ ओभरमै पाँच विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो ।
काठमाण्डू गोर्खाजको जितमा बेन चार्ल्सवर्थले ४६ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनी केवल चार रनका कारण अर्धशतक पूरा गर्नबाट चुके । उनले केवल २३ बलको सामना गरी तीन छक्का र पाँच चौका हिर्काए ।
बेन र आकाश त्रिपाठीले ओपनिङ विकेटका लागि ७० रनको साझेदारी गरे । आकाशले पनि टोलीका लागि ३९ रनको योगदान गरे । उनले ४५ बलमा पाँच चौका पनि हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम सार्कीले तीन रन बनाउँदै आउट भए ।
चौथो नम्बरका ब्याट्सम्यान मिलिन्द कुमार २२ बलमा एक छक्काको मद्दतले १९ रन बनाउँदै आउट भए । विकेटकिपर ब्याट्सम्यान जोन सिम्पसनले ६ बलमा एक छक्का र एक चौकाको मद्दतले १३ रन बनाए । जेरहार्ड एरास्मस एक र मोहम्मद आदिल आलम आठ रनमा अविजित रहे ।
जनकपुर बोल्ट्सका बलर ललित राजवंशी, जन निकोल लफ्टि–एटन, सञ्जय कृष्णमुर्थी, किशोर महतो र अनिल साहले एक–एक विकेट लिए ।
त्यसअघि, पालीको गतिलो सुरुवात गरे पनि पाँचौं ओभरमा लगातार दुई विकेट गुमाएपछि जनकपुर बोल्ट्स दबाबमा परेको थियो । जनकपुरका लागि ओपनर आसिफ शेखले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए ।
आसिफ शेखले टोलीका लागि ५४रनको योगदान गरे । यसक्रममा उनले केवल ४१ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए । एनपीएलको दोस्रो संस्करणमा छक्का प्रहार गर्ने उनी पहिलो ब्याट्सम्यान पनि बने ।
उनले ३७ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनी एनपीएलको दोस्रो संस्करणमा छक्का प्रहार गर्ने पहिलो खेलाडी पनि बनेका छन् । आसिफ शेख र लाहिरु मिलनथाले ओपनि विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए ।
मिलनथा भने १२ बलमा एक चौकाको मद्दतले सात रनमात्र बनाउन सके । उनी एनपीएलको दोस्रो संस्करणमा चौका प्रहार गर्ने पहिलो ब्याट्सम्यान पनि बने । पाँचौँ ओभरमा मिलनथा र अनिल साह (शून्य रन) को विकेट गुमाएरपछि जनकपुर बोल्ट्स दबाबमा परेको थियो ।
जनकपुरका लागि माथिल्ला पाँचमध्ये एक ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । छैटौँ नम्बरमा क्रिज समाल्न आएका मायान यादवले टोलीको खातामा महत्वपूर्ण अविजित ३४ रनको योगदान गरे । उनले २९ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए ।
लाहिरु समाराकुनले पनि टोलीको खातामा २२ रन थपे । उनले २१ बलमा दुई छक्का हिर्काए । काठमाण्डू गोर्खाजका बलर मिलिन्द कुमारले तीन विकेट लिए । उनले चार ओभरमा केवल १५ रन खर्चिए । करण केसी, साहद आलम र सन्तोष यादवले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि, प्रधानमन्त्री सुशीला कार्कीले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डू गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोली सहभागी छन् ।
प्रतियोगिताको दोस्रो दिन मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सको सामना गर्नेछ । उक्त खेल बिहान ११:४५ बजे शुरू हुनेछ ।
दोस्रो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच हुने छ । उक्त खेल १६:०० बजे शुरू हुनेछ ।