
अमेरिकी कंग्रेसका दुबै सदनले यौन अपराधी फाइनान्सियर जेफ्री एप्स्टिनसम्बन्धी न्याय विभागका फाइल सार्वजनिक गर्न निर्देशित गर्ने विधेयक पारित गरेका छन् ।
अब यो विधेयक राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरका लागि पठाइनेछ ।
हाउस अफ रिप्रिजेन्टेटिभमा प्रस्ताव ४२७–१ मतले पारित भयो । सिनेटले पनि कुनै औपचारिक मतदान नगरी सर्वसम्मतिमै यसलाई अघि बढायो ।
यो कदम त्यतिबेला आएको हो जब राष्ट्रपति ट्रम्पले आफ्नो अघिल्लो धारणा फेर्दै एप्स्टिनसम्बन्धी फाइल सार्वजनिक गर्न कंग्रेसलाई आग्रह गरे । यो दबाब उनका आफ्नै समर्थकहरूबाट आएको बताइएको छ ।
गत हप्ता एप्स्टिनबारे २० हजारभन्दा बढी पृष्ठका कागजात सार्वजनिक भए, जसको केही अंशमा ट्रम्पको नाम पनि देखिन्थ्यो । ह्वाइट हाउसले भने ट्रम्पले कुनै गलत कार्य नगरेको दाबी गरेको छ ।
हाउस अफ रिप्रिजेन्टेटिभमा एकजना सांसद, लुइजियानाका रिपब्लिकन क्ले हिगिन्स मात्र विरोधमा उभिए । उनले फाइल सार्वजनिक हुँदा 'निर्दोष मानिसलाई क्षति पुग्न सक्छ' भन्ने चिन्ता व्यक्त गरे ।
ट्रम्पले पहिले फाइल सार्वजनिक गर्न चाहने सांसदको आलोचना गर्दै आएका थिए । तर पछि लुकाउने केही छैन भन्दै अचानक धारणा फेरेपछि वाशिङ्टनमा धेरैजना आश्चर्यचकित भए ।
हाउस अफ रिप्रिजेन्टेटिभका अध्यक्ष माइक जोन्सनले समेत यसअघि एप्स्टिन फाइल सार्वजनिक गर्ने प्रयासलाई 'डेमोक्र्याटहरूको धोका' भनेका थिए, तर मंगलबार उनी पनि समर्थनमा उभिए ।
हाउस अफ रिप्रिजेन्टेटिभमा भारी मतले प्रस्ताव पारित भएपछि सिनेटमा प्रक्रियाले तीव्र गति लियो ।
अल्पमत नेता चक शुमरले विधेयकलाई बहस र संशोधनविना नै ‘युनानिमस कन्सेन्ट’ प्रक्रियामार्फत अघि बढाए । कसैले आपत्ति नजनाएकाले विधेयक पारित भयो ।
अब यो विधेयक राष्ट्रपतिसमक्ष पुग्नेछ र ट्रम्पले यसमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।
फाइल सार्वजनिक गर्न कानूनीरूपमा राष्ट्रपति आफैंले आदेश दिन सक्थे, तर अब यो विधेयकमार्फत बाध्यकारी बनाइनेछ ।
विधेयकले एटर्नी जनरल पाम बन्डीलाई कानून लागू भएपछि ३० दिनभित्र एप्स्टिन र उनकी सहकर्मी घिस्लेइन म्याक्सवेलसम्बन्धी 'सबै वर्गीकृत नभएका कागजात, सञ्चार र अनुसन्धान सामग्री' सार्वजनिक गर्न निर्देशन दिन्छ ।
यी सामग्रीमा न्याय विभागका आन्तरिक पत्राचार, फ्लाइट लगबुक तथा एप्स्टिनसँग जोडिएका व्यक्ति र संस्थाका विवरणसमेत रहनेछन् ।
तर, बन्डीलाई सक्रिय संघीय अनुसन्धान प्रभावित हुने वा पीडितको पहिचान खुल्ने जानकारी रोक्ने अधिकार पनि दिने व्यवस्था गरिएको छ ।
एप्स्टिन २०१९ मा न्युयोर्कस्थित जेल कोठामा मृत फेला परेका थिए । कोरोनरको रिपोर्ट अनुसार उनले आत्महत्या गरेका थिए ।
उनी यौन तस्करी आरोपमा थुनामा थिए र यसअघि २००८ मा नाबालिकसँगको यौन संलग्नताको मुद्दामा दोषी ठहर भइसकेका थिए ।
दुईपटकका आपराधिक अनुसन्धानमा हजारौँ कागजात संकलित भएका थिए, जसमा पीडित र साक्षीका बयान पनि थिए ।
ट्रम्प र एप्स्टिन पहिले समान सामाजिक घेरामा देखिन्थे । तर ट्रम्पले एप्स्टिनका अपराधबारे आफू अनजान रहेको पनि बताएका छन् ।
गत हप्ता हाउस अफ रिप्रिजेन्टेटिभमा डेमोक्र्याटहरूले एप्स्टिन र म्याक्सवेलबीचको तीनवटा इमेल शृंखला सार्वजनिक गरे, जसमा केहीमा ट्रम्पको नाम पनि उल्लेख छ । २०११ को एउटा इमेलमा एप्स्टिनले लेखेका थिए, 'तिमीले बुझ्नुपर्छ, त्यो कुकुर जसले भुक्दैन, त्यो ट्रम्प हो … [पीडित] ले उहाँसँग मेरो घरमा घण्टौँ बिताइन् ।”
ह्वाइट हाउसले इमेलमा उल्लेखित पीडित भर्जिनिया जुफ्रे भएको पुष्टि गर्यो ।
जुफ्रेको गत अप्रिलमा मृत्यु भएको थियो । उनले ट्रम्पलाई कुनै दुर्व्यवहारमा संलग्न भएको आफूले कहिल्यै नदेखेको बताएकी थिइन् । इमेलहरूले पनि ट्रम्पको प्रत्यक्ष संलग्नताको संकेत गर्दैनन् ।
ट्रम्पले एप्स्टिनसम्बन्धी कुनै गलत काम नगरेको भनेर आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् । ह्वाइट हाउसले डेमोक्र्याटहरूलाई इमेल चुहाएर ट्रम्पविरुद्ध गलत कथा बनाउन खोजेको आरोप लगाएको छ ।
यो विधेयक रिपब्लिकन थोमस म्यासी र डेमोक्र्याट रो खन्नाले सह-प्रस्ताव गरेका हुन् ।
म्यासीले फाइल सार्वजनिक गर्ने दबाबका कारण ट्रम्पको आलोचना भोगिरहेका छन्, तर उनी अडिग छन् ।
उनले एबीसी न्यूजसँग भने, '२०३० मा उनी राष्ट्रपति हुने छैनन् ।' उनले थपे, 'फाइल सार्वजनिकको विरोध गर्ने सांसदहरू बाल उत्पीडकको संरक्षणकर्ता बनेर इतिहासमा रहनेछन् ।
मार्जोरी टेलर ग्रिन पनि फाइल सार्वजनिकका लागि सक्रिय छिन् ।
पहिले ट्रम्पकी कडा समर्थक रहेकी ग्रिनसँग हाल एप्स्टिनका विषयमा तीव्र मतभेद छ र ट्रम्पले अब उनलाई देशद्रोहीको संज्ञा दिएका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा ग्रिनले भनिन् कि उनी एप्स्टिनका पीडितहरूको पक्षमा बोलिरहेकी हुन् ।
उनले ट्रम्पलाई लक्षित गर्दै भनिन्, 'देशद्रोही भनेको विदेशी स्वार्थ र आफूलाई प्राथमिकता दिने हो । देशभक्त भनेको अमेरिकालाई र अमेरिकी नागरिकलाई सेवा गर्ने हो ।'
उनले एप्स्टिन प्रकरणलाई २०१६ यताकै ट्रम्पको मेगा आन्दोलनमा सबैभन्दा ठूलो क्षति पुर्याउने घटना भनेर वर्णन गरिन् ।
पत्रकार सम्मेलनमा एप्स्टिनबाट पीडित भएकाहरूले पनि बोल्दै फाइल सार्वजनिक गर्न आग्रह गरे ।
पीडित एनि फार्मरले फाइल गोप्य राख्नु संस्थागत धोका भएको बताइन् ।
उनले भनिन्, 'यी अपराधहरूको ठीकसँग अनुसन्धान नभएको कारण धेरै किशोरी र महिलाहरू पीडित भए ।'
– बीबीसीबाट