१७ असार २०८३, बुधबार

दमकमा लुटिएका हतियार पाँचथरमा भेटिए, एक जना पक्राउ

मंसिर ३, २०८२
विराटनगर
दमकमा लुटिएका हतियार पाँचथरमा भेटिए, एक जना पक्राउ

झापाको दमकस्थित इलाका प्रहरी कार्यालयमा जेनजी आन्दोलनका क्रममा लुटिएका २ थान हतियार र गोलीगठ्ठा पाँचथरमा फेला परेका छन् । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी र प्रहरीको हातहतियार लुटपाट गरी फरार रहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरीले विशेष सूचनाका आधारमा  मंसिर २ गते दिउँसो करिब १:३० बजे पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ बस्ने २२ वर्षीय सुशील फियाक (लिम्बु)लाई पक्राउ गरेको हो ।

प्रारम्भिक सोधपुछका क्रममा फियाकले हतियारहरू  पाँचथरको  मिक्लाजुङ गाउँपालिका-३ आरुबोटे लामागाउँस्थित एउटा ओडारमा लुकाई छिपाई राखेको बताएका थिए ।

त्यसपश्चात् जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको प्रहरी टोलीले  हातहतियार तथा गोलीगठ्ठा बरामद गरेको हो । 

म्याग्जिनसहितको ३०३ मार्क ३ राइफल १ थान र म्याग्जिन नभएको बट र ह्यान्ड ग्रिप जलेको अवस्थामा रहेको इन्सास राइफल १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, इन्सासको जंगी राउण्ड १ थान र एसएलआरको जंगी राउण्ड थान नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ ।

पक्राउ परेका सुशील फियाक (लिम्बु)लाई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्