
बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान शुरू गरेको छ ।
अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलानजिकै बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव स्थानीयले गएराति फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । राति कानूनी प्रक्रिया सम्पन्न गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उनले बताए ।
घटनासम्बन्धी अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरी नियन्त्रणमा लिइएको छ । दुवै जनामाथि आवश्यक अनुसन्धान शुरू गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । रासस